(कवि तुलसी दिवस धेरै वर्षअघि धनकुटाबाट एउटा सांस्कृति कार्यक्रम लिएर काठमाडौँ आएका थिए । प्रसङ्गवश सिंहदरबारमा एकजना शाखा अधिकृतसँग भेट्नुपर्ने भयो । शाखा अधिकृत सुन्दर युवती थिइन् । तिनीसँग कुरा हुँदै जाँदा, दिवसको पटकपटक भेट भयो । ती युवतीले दिवसलाई हरेक भेटमा एउटा रातो गुलाफ दिन थालिन् । एक दिनको भेटमा तिनले उनको बारेमा कविता लेख्न आग्रह नै गरिन् । कविता भन्ने कुरा भन्ने बित्तिकै आउने कुरा पनि भएन र दिवसलाई लेखिहालूँ न त जस्तो पनि भएन । दिवस भन्छन्– ‘म घटनाले मेरो मनभित्र स्पर्श गरेपछि मात्र कविता लेख्छु ।’ त्यसैले त्यस वेला उनको मनलाई तिनको आग्रहले स्पर्श गर्न सकेन । उनी फर्केर धनकुटा गए । अलिपछि उनले ती युवती सिकिस्त बिरामी परिन् भन्ने थाहा पाए । त्यसपछि उनको तिनीसँग प्रेम भयो । उनलाई लाग्यो उनले तिनीमाथि कविता नलेखेरै यो भएको हो । फेरि लगत्तै तिनी त बितिन् भन्ने सुने । अनि उनले कविता लेखेँ– रातो फूल । यो कविता खुब मन पराइयो पनि ।
अर्कोपल्ट दिवस फेरि एउटा कार्यक्रमका सिलसिलामा काठमाडौँ आए । त्रिचन्द्र कलेजको सरस्वतीसदनमा कवितागोष्ठी थियो । उनले त्यहाँ यही कविता सुनाएँ । कविता पाठ सकेर बाहिर चउरमा कुराकानी हुँदैथ्यो, अलि पर साडी लगाएकी एउटी उभिएको देखेँ । उनलाई विश्वासै भएन । अझ नजिक गएर नियालेँ । तिनी त उनै महिला रहिछिन् । यसले उनको शरीर जिरिङ्ग भयो । तर ‘रातो फूल’ कवितामा उनीहरूलाई अझसम्म पनि बँचाइ नै राखेको छ ।)
रातो फूल
(क)
मरिसकेको छु म बाँचेर पनि
चिसो एक लाश उसको लागि,
तर बाँचकी छ ऊ मरेर पनि
मेरो–खालि मेरो–जीवनको लागि !
प्रत्येक झोका आउँछ वसन्तको
सुवास बोकेर केही चिमोट्ने याद उसैको
कोट्याउँदै बिउँझाएर सुषुप्त बीउलाई ।…
(बिउँझाइदिन्छ घाम–पानी–हावाले सुतेको बीउलाई)
र खाटा बसिसकेको मुटुको रगतमा,
फूल फुल्छ फूल अनि रातो रातो…
हरेक बिहान मेरो कोटको कलरमा उदाउने सूर्य–फूल,
हरेक साँझ उसको कपालमा उदाउने चन्द्र–फूल !
(ख)
लालपातीको पातैपात सजिएको आकाश
प्रत्येक बिहान दोहोरिन्छ प्रत्येक साँझमा
सूर्य ढल्किसकेको धमिलो साँझमा !
कालीमाटीको पत्र परेको एक चोक्टा शरीरको
छर्दै नछरी उम्रने गमलाको यो फूल,
प्रत्येक वियोगको रातमा गुम्सिई
बिहानै पनि शीत–बिन्दुले चुसिएर
अलिनो साँझ बन्ने यो फूल !
पातपातमा रातोरातो
लाली उसैको गालाको पाएर
आँखा समाती मेरो मन तान्ने यो फूल !
जब सुङ्छु र सुँघिरहेको हुन्छु म…
उसैको गति पाएर लच्किरहेको यो फूल,
उसैको रूप पाएर धप्किरहेको यो फूल,
उसैको यौवन पाएर मस्किरहेको यो फूल !
अनि पाउँदछु र पाइरहेको हुन्छु म
बास ! बास !! नसा उफ नसा !!!
उसैको कपालको तेलले सुवासित यो फूल !
(ग)
रातो सारी र रातो ब्लाउजमा
अतृप्त प्यास एक दुलही उसैको प्रतिरूप
सम्झनाको समाधि चिसो उसैको चिहानबाट
फुलेको लाजले आरक्त रातोरातो यो फूल !
बिम्झन्छ सधैं बलेर मध्यरातमा पानस
किच्चकन्नी पर सरेकी मसानबाट जब यो फूल
लागु गन्ध घोलिएर नसिलो वातावरणमा
चुमिरहेको हुन्छु म अधर उसैको
रातोरातो लिपिस्टिक पोतिएको यो फूल,
अँगालिरहेको हुन्छु म शरीर उसैको
कोमलकोमल मसलाको रूख यो फूल !
(घ)
प्रत्येक झोका आउँछ वसन्तको
सुवास बोकेर केही चिमोट्ने याद उसैको,
उफ ! मरिसकेको छु म बाँचेर पनि
चिसो एक लाश उसको लागि,
तर बाँचेकी छ ऊ मरेर पनि
मेरो–खालि मेरो–जीवनको लागि !