• २०८१ माघ १० बिहीबार

गैंडाकोट देखि रारा सम्म

गोविन्द सुवेदि

गोविन्द सुवेदि

अचानक बन्यो रारा जाने योजना । तारा लामीछाने दाजु सुर्खेत आफ्नो कर्मथलोका कारण त्यहीं हुनुहुन्थ्यो । उहाँको अत्याइले मलजल गरिरहेको थियो । जान चाहने धेरैजना भएपनि केके नमिल्ने त्यसकारण चार जोडी मात्र योजनामा पर्यौं तारा लामीछाने–गिता लामिछाने, केशव तिवारी–सरिता तिवारी, सालिकराम सापकोटा–शान्ति सुवेदि सापकोटा र म गोविन्द सुवेदि–चन्द्रा गौतम । २०८१ वैशाख २८ गते गैंडाकोटबाट आफ्नै सवारीमा प्रस्थान गर्यौं । घुम्दै फिर्दै जाने योजनालाई नारायणगढ बुटवल खण्डको राजमार्गले तुषारापात गरायो । कतै जाममा परिने कतै बाटोको अप्ठ्यारो अवस्थाका कारण भूमही निस्कँदा ६ घण्टा नै लाग्यो अनि भैरहवा हुँदै तिलौराकोट बिहारमा एक छिन रमायौँ । केही तस्बिर र केही टिकटक बनाएपछि फेरी बाटो नाप्यौँ। टिकटक खासमा मलाई मन पर्दैन तर पनि साथीसँगति र परिवारका साथ लागेपछि आफ्नो मात्रै कुरा नहुँदो रहेछ । एक झल्को नाची हेरें रेस्पोन्स राम्रै आयो । गोरुसिंङ्गे निस्कने क्रममा हामीले आफैले लिएर गएको खान्की जङ्गलमा बसी वनभोज जसरी भोजन गरयौँ ।

करिब १ बजे त्यो पनि छुट्टै आनन्द अनि दिउँसोको घाम, पुग्नुपर्ने टाढा गफ गर्दै गर्दै बाटो नाप्न सुरु गर्यौं । पस्न कतै भ्याइएन हामी सिधै तारा दाजुको आवासमा सुर्खेत पुगेर बिसायौँ करिब ८ बजे । सालिक दाईको सोही दिनमा परेको जन्मदिन मनाउन तथा हाम्रो आतिथ्यताको लागि उहाँ तम्तयार भएर बस्नुभएको रहेछ । शालिक दाजुलाई आश्चर्यमा पार्ने गरी बनेका योजना उहाँले मेसो पाइहाल्नु भयो । फेरि पनि रमाइलो रह्यो। साँझको खानपिन पछि बिहान ६ बजे हिँड्ने योजनामा हामी होटलमा विश्राम गरयौँ । बिहान ६ः३० बाट सुरु गरेको यात्रा गुराँसेमा पुगेर चियापान गरियो । गुराँसे अत्यन्त अनुकूल वातावरण रहेको भूगोल रहेछ । गुराँसै गुराँसको डाँडा फुल त भेटेनौ तर वातावरणले लोभ्यायो । एकछिन आफैसँग रहेको खिच्रिङ्ग मिचिङ्ग को खाजा र होटलको चियासँगै रमायौ। अनि लाग्यौं उकालो दैलेख, कालिकोट हुँदै जुम्लाको खलङ्गा बास बस्न गरयौँ ।

जुम्ला खलंगामा रहेको चन्दननाथ मन्दिर र सँगै रहेको भैरवनाथ मन्दिर जहाँ हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो परिवर्तन गरिँदो रहेछ सोको दर्शनका लागि भोलिपल्ट बिहानै पुग्यौँ। चन्दननाथ मन्दिरका बारेमा सोधी खोजी गर्दा थाहा भयो त्यहाँका मानिसहरूलाई के विश्वास रहेछ भने चन्दननाथ नाम गरेका कश्मिरतिरका मानिसले धेरै अगाडि दत्तात्रय (त्रिमूर्ति)को मूर्ति स्थापना गरेका रहेछन् । कल्याल वंशको समयमा त्यसको स्थापना भएको उक्ति श्रुति पाइँदो रहेछ। साथसाथै उनै चन्दननाथले कश्मिर र जुम्लाको पर्यावरण उस्तै उस्तै रहेकाले मार्र्सी धान उतैबाट यता ल्याएर फैलाएको हुन सक्ने सम्भावनाको विश्वास पनि गरिँदो रहेछ । यात्रा यात्रा मात्र होइन रहेछ। इात्राले ताजगी प्रदान गर्ने त छंदै छ नयाँ भुगोल, समाज,परिवेश अनि पर्यावरणको भरपुर ज्ञान दिंदो रहेछ । यो त एक सिकाई र सिकाई प्रक्रिया पनि रहेछ। हामीले यात्राबाट धेरै कुरा सिक्न पायौं ।

त्यस्तै सोही मन्दिरका सम्बन्धमा अर्को उक्ति पनि जान्न पायौं । एउटा गाईले दुध दिँदो रहेनछ जति नै उसको मालिकले प्रयास गरेपनि दुध नदिने अनि छाडा छोडेछन् । एकदिन सो गाईले चन्दननाथ मन्दिर रहेको स्थानमा दूध दिन थालेछ र त्यसलाई धार्मिक महत्वको स्थान रहेको मानिसहरूले बुझेछन् र मन्दिरको स्थापना गरेछन् । मन्दिरमा रहेको लिङ्गो करिब ५२ फिटभन्दा लामो हुने रहेछ अजङ्गका एउटा रूखको एउटा लिङ्गो करिब पाँचवटा मन्दिरको दर्शन पछाडि बजार घुम्दै हामी होटेलमा फर्कियौं । पुरानो बजार जुम्लेलीहरू आफ्नै सुरमा यताउता गरिरहेका यतिबेला पनि सबैको गालामा लाली देख्न पाइने स्थानीय भेषभूषा सबैले हामीलाई लोभ्यायो ।

त्यहाँबाट जुम्ला एयरपोर्टलाई देब्रे पार्दै हामी फेरि उकालो लाग्यौँ । ठाउँ ठाउँमा पानीका मुहान दायाँबायाँ आलु, जौं, गौँ आदिको खेती साथसाथै खेतखेतका आलीमा स्याउका पोथ्रा हेर्दै मनमोहक ठाउँ केही उकालो लागेपछि डाँफे लेकमा पुगियो। जहाँ मैना क्षेत्री बुढा बहिनीसँग भेट भयो । कुटेको गिट्टी ढुवानी गर्न जाँदै हुनुहुँदो रहेछ। ठाउँको नाम सोध्यौ । असाध्यै मनमोहक बिहानको सूर्यको उज्यालो छरिदा गाडा हरियो जङ्गलका बिचमा पाटनहरू सयाौं भेडाहरु चरणमा चरिरहेका छन् । तल कुनामा भेडिगोठहरू पनि देखिन्थे। माथि डाँडामा लटरम्म गुराँस अझै फुलेको छ। मानौँ हामी स्वर्गको छेउछाउमा पुगेका छौं । अझ त्यसै प्रफुल्लित भयौं । अप्ठ्यारो बाटो स्कर्पियो फोर व्हील गाडीलाई पनि झर्दै बाटो बनाउँदै जानुपर्ने अवस्था सबै बिर्साइदिँदो रहेछ । एकछिन सुस्तायौं । अनि स्थानीय गीत सुन्यौ । त्यसपछि फेरि उकालो लाग्यौँ ।

हामी करिब ३१०० मिटर उचाईमा पुगिसकेका थियौ । धेरै छिटो हिँड्दा वातावरणीय परिवर्तन सँगसँगै स्वास्थ्यमा पनि परिवर्तन आउन सक्थ्यो। तर हामी आठ जना कसैलाई केही भएन । माथि भुलभुलेमा पुग्यौं । सिजनमा हिउँ खेल्न आएको ड्राइभर भाइले जानकारी गराए । एकछिन रोकियौं। खाली डाँफे होटलमा जडीबुटी चिया खायौं । भेडा बथानमा केशवजी र सरिताजी छिर्नुभयो । दुई चारवटा क्लिक लिनुभो बाँकी हामी माथिबाट देखिने मनोरम दृश्यमा रमाइरह्यौ । फोटो खिच्यौं । चिया खुवाउने दिदीको छोराले जुम्लामा प्राविधिक शिक्षा अमिन पढ्दै रहेछन्। सोधें कति लाग्छ हिँडेर जान, दुई तीन घण्टा उत्तर आयो । आहा मेहनत ! सलाम त्यहाँको जनजीवन र मेहनतलाई । पुनः यात्रा जारी, खानाको बन्दोबस्त सवारी चालक भाइले गरे फोन गरिकन । हामीले दुई तीन घण्टामा आइपुग्छौं भनेको पाँच घण्टा लाग्यो भर्खर पानी परेकाले कतैकतै बाटो बिग्रिएको रहेछ। अनि भुलभुलेमा खाना खाईवरी करिब ४ बजेतिर हामी रारा राष्ट्रिय निकुञ्ज पुग्यौँ। सोधीखोजी गरयौँ । घोडचढी भाइहरुले पहिला स्वागत गर्ने रहेछन् । हामीले पैदलै रोज्यौं ।

जङ्गल पार गरी जव आँखै अगाडी साक्षात रुपमा वर्षौदेखि मानसपटलमा सजिएको राराको जिवन्त दृष्य देखियो त्यसै मन प्रफुल्लित भयो । नाचु नाचु लाग्यो, गाऊँ गाऊँ लाग्यो।यात्राका सवै दुख कष्टहरु कहावामा उडन थाले । भेडा बथान र घोडासँग सँगै दौडिने जोश जाँगर पैदा भयो । त्यसै गर्यौं पनि । केही वेर चौरमा पल्टियर रारा संग मितेरी गाँस्न मन लाग्यो अनि पल्टियँ पनि । वुकी फुल फुल्ने समय भएतापनि पानि नपरेको र चरन क्षेत्र भएकाले कताकति मात्र फुल फुलेको देख्न पाईन्थ्यो । शान्ति भाउजुलाई श्वास प्रश्वासमा केहि अप्ठयारो भयो कि भनि सोधें तर श्वर्गको स्मरण गराउने राराको नजिक पुगेका हामी उच्च मनोवलका साथ केहिवेर रमाए पछि रारा पारि राष्ट्रिय निकुञ्जको छेउमा रहेको डाँफे होटलमा पुग्नुपर्ने पैदल यात्रा शुरु गरयौँ ।

रारा वास्तवमा स्वर्गको एक टुक्रा हो । मौसम अनुसार दिनमै चार पाँच पटक फेरिने राराको पानीको रङ अनि छेउछाउमा डाँडाको जस्ताको तस्तै छायाँ चित्र, अनि सिन्जे र कन्जीरोवा हिमालको छायाँ अनि बिहानको सूर्याेदय । यी सबैले रारा साँच्चिकै धर्र्तीको स्वर्ग र स्वर्गको अप्सरा जस्तो देखिँदो रहेछ। जीवनमा एकपटक पुग्नै पर्ने र घुम्नै पर्ने गन्तव्य मध्ये एक लाग्यो रारा । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर चौडाई ३ किलोमिटर र गहिराई १६७ मिटर रहेको जानकारी पायौँ। यस तालमा दुर्लभ असला, रानी, ट्राउट, भ्यागुतो लगायत जलचर र ३०० प्रजातिका चरा साथै कस्तुरी, रेड पाण्डा, मृग, घोरल, भालु रतुवा जस्ता वन्यजन्तुको बासस्थान रहेको जानकारी प्राप्त गरयौँ । झमक्क साँझमा हामी पारिपट्टि पुग्यौ रारामा हावाले लहर बनाईनै रहेको थियो। एक प्रकारको आनन्दित चिसो वातावरणका बीच सिमसिम पानीले हामीलाई स्वागत गरिरहेको भान हुन्थ्यो। बासको टुङ्गो लागेपछि साँझसम्म यताउताको दृश्य अवलोकन गरी करिब ११ः०० बजे हामी बिस्तारामा पल्टियौ ।

बिहान सबेरै करिब ५ बजे उठेर आफू स्वच्छ भई राराको छेउमा जाँदा आफ्नै मुहार चित्र हेर्न मिल्ने गरी रारा शान्त भएर बसेकी थिइन् । हामीले खलबल्याउने कुरै भएन छिनछिनमै पानीको रङ निलो, गाढा निलो, अनि अलि उज्यालोमा आकाशे रङको निलो आदि आदि रङ्गमा रारा बदलिएको सजिलै नियाल्न सकिन्थ्यो । एक जोडी हाँसले शान्त रारामा चुपचाप माया लगाएको देख्न सकिन्थ्यो । हरेक समयमा रारालाई भित्र रङ्ग र रूपमा हेर्न सकिने कस्तो सौन्दर्यता हामी त्यसै त्यसै लठ्ठ परयौँ । अनि घोडचढी भाइहरुले हामीलाई करै गरी घोडा चढाउनुभयो, दौडाउनु भयो । निकै निकै रोमाञ्चक रह्यो हाम्रो समय । अनि करिब ८ बजे हामी त्यहाँबाट ढुङ्गामा ४५ मिनेट खियाई रारा पार गर्ने निधो गर्यौं र वारिपट्टि आयौँ। राराको बीचबाट फनक्क घुमी हेर्दा आफैलाई विश्वास नलाग्ने गरी निलो आकाश गंगाको बीचमा रहेको भान हुन्थ्यो। किनकि माथिका सबै पहाड, आकाश, रुखबिरुवा सबै राराको तल देखिन्थे यसरी हामी बिस्तारै घरतर्फको बाटो नाप्न थाल्यौ । वास्तवमा रारामा बिताएको समय अभूतपूर्व र अविस्मरणीय रह्यो। छोड्न मन त थिएन। तर बाध्यता नि । यो बीचमा हामी सबै मोबाइलमा तस्बिरहरु कैद गर्न भिडियो बनाउन व्यस्त रहयौँ भने सामूहिक तस्बिर एकल तस्बिर जोडी तस्बिर र टिकटकहरू खुबै बने । रारा तालको पश्चिमपट्टि रहेको मुर्माटपमा पुग्न करिब ४ घण्टाको यात्रा रहेछ। तर हामीले छानेनौ ३७२६ मिटर उचाइमा रहेको मुर्माटपबाट राराको पूर्व दृश्य एकै नजरमा देखिने र पानीको रङको पनि अध्ययन गर्न सकिने रहेछ ।

हामी राराबाट फर्कियौं । फर्किँदा जुम्लाको सिन्जा क्षेत्र हुँदै फर्किने तय भइसकेको थियो। भुलभुलेमा आई मार्र्सीको भात, सिमीको दाल, लेकाली अचार पास्सेको सागसँग खाना खायौं । अनि सिन्जा उपत्यकातिर झ¥यौं । कालिकोटको नाग्म बजारमा बास बस्ने निधो गरिसकेका थियौँ। सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यकाको भूगोल अनुपम रहेछ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ। ऐतिहासिक बजार रहे पनि हवाई सम्पर्क मात्र रहेको सिन्जा उपत्यकामा भर्खर मात्र सुर्खेत उपत्यकासँग जोडिने कर्णाली राजमार्ग मार्फत जोडिएको रहेछ। सिन्जालाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ। कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गम स्थल हो सिङ्जा उपत्यकामा ईसाको १३ औँ शताब्दी को पुरातन देवनागरी लिपि फेला परेको थियो ।

तिला नदीले नागबेली पार्दै दायाँबायाँ बनेका खेत खलिहान अहिले पनि हरिया र पहेलपुर पाखाहरू भेटिन्छन्। कतै पाकिसकेको बाली भित्र्र्याउने चटारो छ भने कतै खाली खेतमा बाली लगाउने चटारो उत्तिकै देख्न सकिन्छ। त्यस क्षेत्रकै अन्न भण्डारको रुपमा रहेको सिन्जा क्षेत्रको बहुमहत्व रहेको स्पष्ट देख्न सकिन्छ। यसरी सिन्जाको तिला नदी छेउछाउ हिँड्दै गर्दा जव फाँटमा वयलि खेलेको लोभ लाग्दो दृष्य देख्न सकिन्थ्यो आनन्द मान्यौं । झुलेको बाली जती लहराउंदो र आकर्षक देखिन्थ्यो यसको उब्जनी गर्न त्यतिकै कठिन पनि रहेछ ।लामो समय लगाएर भित्रयाउन सकिने चिसो वाताबरणका कारण ।

करिब ३ बजे सिन्जा गाउँपालिकाको गम्गाडमा आइपुगीएछ। त्यहाँ एकछिन सुस्तायौ। जडीबुटी चिया खायौं । कोसेली घर रहेछ श्रीमती चन्द्रा, शान्ति भाउजु, गीता भाउजु र सरिताजी सिमी, मकै आदि कोसेली किन्न लाग्नु भयो कोसेली सहित करिब ७ बजे साँझ हामी कालिकोट आएर बास बस्यौँ । भोलिपल्ट बिहान ६ बजे नै प्रस्थान गर्यौं । तल झोलुङ्गे पुलमा सबैले तस्बिर लिने छलफल भयो लियौं पनि । म अलिकति रिजर्भ बसेँ । कर्णालीको तिरैतिर आउँदा अछाम जिल्लातर्फ पनि पस्ने रहर जाग्यो तारा दाजुले जाउन त भनी अछाम जिल्ला प्रवेश गर्यौं । र केही सामूहिक र केही व्यक्तिगत तस्बिर लिएर पुनः बाटो लाग्यौं ।

करिब १२ बजे दैलेखको चुत्रामा खाना खाई पुन बाटो लाग्यौं । दुई बजेको करिब करिब गुराँस न.पा. दैलेख पुगी काफल भेटायौं । काफल, गुराँसेको दही आदी खाँदै खाँदै ३ बजेतिर सुर्खेत झर्यौ । सुर्खेतमा तारा दाइको आवासमा केही बेर सुस्ताएपछि सुर्खेतमा रहेको देउकी बजै काक्रे बिहार, बुलबुले ताल आदीको अवलोकन गर्यौं । तस्बिर खिच्यौं अनि विशटि लाग्यौ । भोलिपल्ट बिहान ४ बजे सुर्खेतबाट कोहलपुरतर्फ लाग्यौँ । कोहलपुरमा चिया खाजा खाई तारा दाइलाई त्यहीँ छाडी हामी घरतर्फ लाग्यौँ र जेठ २ गते ६ दिनको यात्रा सकाई करिब ६ बजे साँझ गैंडाकोट घर आइपुग्यौँ ।


गोविन्द सुवेदि