• २०८१ मंसिर २९ शनिवार

उड्ने साथी

बाँस्कोटा धनञ्जय

बाँस्कोटा धनञ्जय

‘ल भन साथी हो, कल्पनाले उपमेयरमा टिकट पाउनु पर्छ नि ! कि पाउनु हुँदैन भने हुँदैन भन ।’ सौरभ ठूलो स्वरले कराउँदै थियो । कति उसको कुरालाई ध्यान दिइरहेका थिए, कति आफ्नै धूनमा थिए । करिव पाँच बर्षपछि गाउँमा संगै पढेका साथीहरु भेट भएका थिए । अघिल्लो चुनावमा यसरीनै भेट भएको थियो तिनीहरुको । यसपटक कोही चुनावमा भोट माग्न घर आएका थिए । कोही चुनावमा उम्मेद्वार बन्न भनेर गाउँ छिरेका थिए ।

बिभिन्न कारणले गाउँ छोडेर गएका मान्छेहरु कि त ठूला चाडबाड मनाउन भनेर गाउँ आउँछन्, कि त चुनावको माहौल सुरु भए पछि गाउँ आउँछन् । यो चाहिं चुनावको माहौल थियो । को को उठ्ने चुनावमा भनेर जताततै परिचर्चाहरु हुन्थे । यही संदर्भमा सौरभले कल्पनालाई यसरी त्यो गाउँपालिकाका लागि उपमेयरको प्रस्ताव राख्यो ।

‘हैन बोल न हउ साथी हो ? यत्तिका पढे लेखेको मान्छे उपमेयर नभए को हुन्छ ?’ सौरभको स्वर झन् बढ्दै गयो । ‘हो, हो । कल्पनाजी जत्तिको योग्य मान्छे त यो पालिका भरिमै छैन ।’ सबैले स्वरमा स्वर मिलाए । मिनराज मात्रै हो नबोलेको । ऊ सुनिरहेको मात्रैे थिएन, सौरभ र कल्पनाको मुखमा निरन्तर हेरिरहेको पनि थियो । कल्पनाको मुहारमा मुस्कान मात्रै थिएन, उत्तेजना पनि थियो । हाँसो थियो । मानौं, उसको जीवनमा यसरी ठाडो प्रशंसा गर्ने मान्छे सौरभ मात्रै हो । अनि सौरभको अनुहारमा रहस्य । यत्तिकैमा कल्पना प्रशंसाको भारी बोक्न नसकेर बिराउन थाली, ‘हो त नि । सौरभ जतिको विश्लेषण गर्ने पनि तिमीहरुको दिमाग छैन । सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ यत्तिका पढेलेखेका मान्छेले ।’

‘हो त । हामीले सौरभको कुरालाई समर्थन गरिराख्या छौं त ! हामी फरक पार्टीका भएपनि तपाईलाई उपमेयर बनाउने कुरामा एकमत छौं ।’ सुयोगले कुरा सच्यायो । ‘म मा के कमी छ त ! योग्यता छ । हिम्मत छ । सीप छ । सामाजिक योगदान छ ।’कल्पना झनै उद्दिग्न हुँदै गइ । ‘हो, हो । यहाँ भन्दा योग्य महिला यो पालिकामा छैनन् । कुनै पार्टीमा छैनन् । तपाईको पार्टीले तपाईलाई टिकट दियोस नदियोस, हामीबाट पास ।’ गंगारामले थप्यो । ‘यत्तिका विद्वान साथीहरुले सिफारिस गरेपछि मेरो पक्का भयो टिकट । तपाईहरु भन्दा अब्बल मान्छे यो पालिकामा को छ र यहाँका दलहरुले तपाईहरुको कुरा सुन्दैनन् ? अवस्य सुन्छन् । मेरो पार्टीले मलाई नदिएर हुन्छ र ?’ अब त कल्पना झनै निर्ढुक्क पो हुन थाली त वाइ !

‘कल्पना ! कल्पना !! उपमेयर ! उपमेयर !!’ सबै गीत गाउन थाले । होहल्ला भयो । ‘अव आज देखि नोमिनेसन हुञ्जेल हामीलाई पानी पुरी खुवाउने कल्पनाले ।’ चक्रे बोल्यो । ‘हो हो, खुवानु पर्छ । खुवाउनु पर्छ ।’ सबै एक स्वरमा कराउन थाले । ‘डन् ! लु पानीपुरी मगाओ मेरो तर्फबाट ।’ कल्पनाको आदेश बमोजिम पानीपुरी तिर ध्यान गयो सबैको ।

मिनराज मात्रै बोलेको थिएन । ‘सौरभे, धत् ! किन उडाएको कल्पनालाई यसरी ? न यिनले टिकट पाउने हुन्, न जित्ने हुन् ! न यिनलाई कसैले पत्याउँछ ?’ मिनराजले सौरभलाई सचेत गरायो । ‘उनलाई उड्नै मन पर्छ त मैले के गर्नु  ?’


बाँस्कोटा धनञ्जय