• २०८१ भाद्र २४ सोमबार

मानिस मात्र किन यति दुःखी ?

डा. विष्णुविभु घिमिरे

डा. विष्णुविभु घिमिरे

जीवन फूल हो या काँडा हो । जीवन मूल हो या शूल होे अथवा असुल हो या महसुल हो । एउटै जीवन हो तर कसैको जीवन फूल, कसैको काँडा । कसैको मूल, कसैको शूल । कसैको असुल या कसैको महसुल ।

सबै जीवनसँग एउटा निश्चित जगत छ । जगतलाई सोच्ने निश्चित संस्कृति छ र जगतसँगै बोल्ने आफ्नो निश्चित भाषा छ । अरूबाट आफूलाई छुट्ट्याउने एउटा निश्चित जाति छ, धर्म छ, संस्कृति छ र आफ्नै अनुहार छ ।

प्रत्येक मानिसको आफ्नै स्वरूप र आफ्नै स्वभाव छ । मानिस एउटै हो तर उसको जाति, धर्म, संस्कृति, परम्परा उसको अनुहार र शारीरिक स्वरूपले अरूभन्दा भिन्न लाग्छ । यही कुरा प्रकृतिका यावत् जीवजन्तुहरूमा पनि छ । सबै जीवहरूको बाँच्ने आफ्नै मौसम र आफ्नै शारीरिक आधार छ । जुन मौसममा बाँच्नु पर्ने हो, प्रकृतिले उसलाई त्यस्तै शारीरिक आधार दिएको छ । सृष्टि सिर्जनाका थलचर, जलचर, उभयचर अथवा वनस्पति सम्पदा सबैलाई जहाँ जसरी बाँच्नुपर्ने त्यो आधार प्रकृतिले सृष्टिसँगै दिएको छ । सृष्टिसँगसँगै बाँच्नुपर्ने प्रत्येक जीवका निश्चित आधार भए जस्तै मानिसका पनि आफ्नै आधारहरू छन् ।

जीवन फूल हो या काँडा हो ? त्या त आ–आफ्नो अनुभूति मात्र हो ? जीवन न फूल मात्र हो, न काँडा मात्र, न आँसु मात्र हो, न हाँसो मात्र । जीवन वास्तवमै जीवन हो । जीवनको परिभाषा भाषाविहीन छ, अथाह छ । हामी त्यसलाई बुझ्न चाहन्छौँ, छुन चाहन्छौँ, नजिकै राखेर हेर्न चाहन्छौँ र एउटा परिभाषा दिन्छौँ अनि ढुक्क रहन्छौँ । र, त्यहीँ खुम्चेर बस्छौँ । फ्रेमविहीन जीवनलाई एउटा निश्चित आकारको तस्बिर बनाउँछौँ र फ्रेमभित्र राख्छौँ । त्यही फ्रेमभित्र आफूलाई प्रेम गर्न थाल्छौँ । आफ्नो औकात र ज्ञानको सीमामा रहेर निश्चित पर्खाल लगाउँछौँ, एउटा निश्चित सीमा कोर्छां र सधैँ आफू त्यसभित्र सुरक्षित भएको अनुभव गर्छां । पर्खाल लगाउँदा हामीले सोचेनौँ– सायद पर्खालबाहिर धेरै कुराहरू छुटे । सीमा कोर्दा सायद हामीले सोचेनौँ– सीमाबाहिर के–के छुटे ? हाम्रो निजी अनुभूति जस्तो हुन्छ– जीवन हामी त्यस्तै सोच्छौँ, जगत हामी त्यस्तै देख्छौँ । जस्तो सोच्छौँ, त्यस्तै लेख्छौँ, जस्तो लेख्छौँ त्यही र त्यति नै सत्य भन्ठान्छौँ ।

काँडामा उभिएर पनि आफुलाई फूल बनाउने धेरै छन् । फूलमा सुतेर आफूलाई काँडा बनाउनेहरू पनि थुप्रै छन् । एउटा ध्येय हो जीवन, एउटा लगनशील निरन्तर गति हो जीवन । एउटा सार्थक अभिप्रायका लागि निरन्तर बगिरहनु हो जीवन । घोर अभावमा पनि मानिसको भाव मर्दैन भन्ने, सर्वत्र विकृतिको आतङ्कमा पनि संस्कृति कुनै न कुनै रूपमा बाँचिरहन्छ भन्ने, अरण्य अँध्यारोमा पनि कतै न कतै चेतनाको प्रकाश प्रज्ज्वलित रहिरहन्छ भन्ने दिगो विश्वास र अदम्य साहस आफूभित्र जोगाइराख्यो भने मानिसले जीवन जस्तो सोच्छ, त्यस्तै बनाउन सक्छ ।

कहिलेकाहीँ मलाई लाग्छ– जीवन एउटा खेल हो । खेल खेल्न निरन्तर अभ्यासरत नभई हुँदैन । खेल भनेको खेल हो, देख्नेले सोच्लान् कुनै खेल सानो, कुनै ठूलो । खेल खेल नै हो । न त सानो हुन्छ, न त ठूलो । बाँच्नु पनि एउटा खेल हो । खेलिरहे, खेलमा अभ्यास भइरहे– जस्तो बाँच्छु भन्यो त्यस्तै बाँच्न सकिन्छ । बाँच्न पनि अभ्यास गर्नुपर्छ, सब कुरो जितिन्छ । बाँच्न पनि अभ्यास गर्नुपर्छ, अनि मात्र बाँचिन्छ । कसैले कुनै खेल एक्कासि जित्दैन । जिते पनि त्यो जित स्थायी बन्दैन ।

मानिस बाँच्ने आधार भनेकै बाँच्नका लागि गरिने निरन्तर अभ्यास हो । जसले जुन पेसा बाँच्नका लागि आधार बनाएको हुन्छ, त्यो पेसा नै उसको खेल हो । खेल एउटा कला हो । कला एउटा उत्साह, जिज्ञासा र निरन्तर रहस्यको पुञ्ज हो । जति पुगे पनि पुगिनसकिने, जति लेखे पनि लेखिनसकिने, जति भेटे पनि भेटिनसकिने । यस्तो अभ्यासमा निरन्तर जुटेपछि बाँच्नु एउटा खेल जस्तो लाग्छ । खेल एउटा कला, कला सधैँ एउटै निश्चित प्रस्तुति र बान्कीमा मात्र बाँच्न चाहँदैन । नयाँ–नयाँ परिधान र आकर्षणको मोहमोहिनी रुचाउने कला, प्रत्येक रूप र प्रस्तुतिमा एकैजस्तो भएर पनि फरक–फरक छ । फरक–फरक भएर पनि उसको एउटै सत्य छ ।

सायद हामी बाँच्ने कला नचिनेरै दुःखी बन्छौँ, निराश, हतास हुन्छौँ र आत्मपलायनतिर उन्मुख हुन्छौँ । घरिघरि यस्तो जिन्दगी र उस्तो जिन्दगी भनेर आफ्नै जीवनलाई सराप्छौँ, धिक्कार्छौं र सजाय दिन्छौैँ । नभए प्रकृतिमा मानिसबाहेक पनि अनगन्ती अरू जीव–जीवनहरू छन् । तिनीहरू खुसी छन्, आनन्दित छन् र त्यत्तिकै बाँच्ने अभ्यासमा उत्साहित पनि छन् । यो सृष्टिमा मानिसहरू मात्र किन यति दुःखी ?