• २०८१ श्रावाण ११ शुक्रबार

माया

किशन पौडेल

किशन पौडेल

बुढीको कर्कश व्यवहारबाट आजित भएपछि उसले आत्महत्या गर्ने निर्णय गरेर सुटुक्क घरबाट निस्कियो । अलि पर पुगेर घर तिर फर्किएर लोभलाग्दो नजरले हेर्यो । “कति सुन्दर घर दुख गरेर जोडेको सुखसँग बसुँला भनेर भाग्य मै रहेन छ ।“ मन मनै आफ्नो भाग्यलाई धिक्कार्दै अगाडि बढ्यो ।

हिँड्दै गर्दा मन भित्र अनेक तर्कनाहरू दौडिन थाले । बिचरा छोरो भर्खरै एस.एल.सी.को जाँच दिएर बसेको छ डाक्टर बन्छु भन्थ्यो अब कसले उसलाई मार्गनिर्देशन गर्ला । आ.. ! जे होस अब त उसको नि बुद्धि आइसकेको छ जे गर्ला गर्ला मनलाई चित्त बुझाउँदै ऊ अगाडि लम्कियो ।

एकछिनमा छोरीको अनुहार मन भित्र दौडिन थाल्यो “बिहे गर्ने बेला हुँदै थियो राम्रो ज्वाइँ खोजेर अब कसले बिहे गरिदेला है ! जे होस् छोरी बुझ्ने भएकी छ अब आफै केटा खोजेर नि जान सक्छे।“ भन्दै मनलाई दरो बनाउँदै ऊ आफ्नो आत्महत्या गर्ने विचारमा अडिग हुँदै अगाडि बढ्यो ।

खोला नि आइपुग्यो पुलको बिच भागमा गएर उभियो तल हेर्यो गहिरो रहेछ अब यहीबाट हाम फालेर मर्छु । बुढीलाई नि आनन्द हुन्छ रातदिनको झगडा अब अन्त्य गरिदिन्छु भन्दै हाम फाल्न तयार भयो । अकस्मात् बगली भित्र मोबाइलमा घण्टी बज्यो हेर्यो बुढीको रहेछ उठायो– “कहाँ मरेको हो यस बेला सम्म घरमा न मुन्टिएर रक्सी धोक्न गएको हो कि क्या हो ? “
बुढीको कर्कश आवाज कानमा घनले ठोकिए झैँ ठोकिँदै थियो…..
“छिटो घर आऊ कालेको बा ! “आज मैले तिमिलाई मन पर्ने मिठो खानेकुरा पकाएर राखेको छु ।“
उसले एकै झट्कामा बुढीको गाली सबै बिर्सियो ।


किशन पौडेल