• २०८१ माघ ९ बुधबार

हरि कट्टेलको‘बिलौनै बिलौना’ कवितासङ्ग्रह लोकार्पण

कवि हरि कट्टेलको ‘बिलौनै बिलौना’ कवितासङ्ग्रहको लोकार्पण गरिएको छ । दोस्रो संस्करणको रूपमा प्रकाशित यस कृतिको विमोचन पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर र छन्द बाटिका, नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो । कार्यक्रममा साहित्यकार प्राध्यापक कविराज न्यौपाने, अग्रज साहित्यकारहरू बलराम पोखरेल, प्रा. डा. मेदिनीप्रसाद शर्मा, प्रा. डा. हरिहर भण्डारी, सोमराज अभय, आयोजक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल लगायतले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो ।

विमोचित कृतिमाथि समालोचक निर्मला कोइरालाले समीक्षा गर्नुभएको थियो । उहाँले कवि किशोरावस्थामा प्रवेश गरेको बखत २०४५ सालमा नै यस कृतिको पहिलो संस्करण प्रकाशित भएको तर सङ्ग्रहभित्रका कविताहरू पढ्दा कविको युगचेत र कवित्व त्यस समयमा नै धेरै सशक्त र परिपक्व देखिएको टिप्पणी गर्दै कृतिभित्रका अधिकांश कवितामा सामाजिक तथा राजनैतिक विकृति र विसङ्गतिहरूप्रति तीखो व्यङ्ग्य गर्दै अग्रगामी रुपान्तरणको लागि अगाडि बढ्न आह्वान गरिएको बताउनुभयो ।सो अवसरमा साहित्यकारहरू रमेशचन्द्र अधिकारी, शारदा कार्की, कविपुत्री प्रज्ञा कट्टेल लगायतले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथी प्राध्यापक कविराज न्यौपानेले अहिले पनि युवावस्थामा रहेका कवि कट्टेलले आजभन्दा ३५ वर्ष अगाडि लेखेका यी सङ्ग्रका कविताहरू पढ्दा कविमा दुरदृष्टि रहेको पुष्ट्याई भएको उल्लेख गर्दै सङ्ग्रहित कविताहरूले एक युगको प्रतिनिधित्व गर्न सक्ने बताउनुभयो ।

प्रा. डा. हरिहर भण्डारीले संग्रहभित्रका कविताहरूको भावमा सघनता, अभिव्यक्तिमा सूत्रात्मकता र सारमा स्तरीयता देखिएकोले कवि पूर्वी नेपालमा अग्रस्थानमा रहेका कविहरूमध्ये कवि कट्टेल पनि एक भएको उल्लेख गर्दै थप साहित्यिक उचाईको कामना गर्नुभयो । त्यस्तै साहित्यकार बलराम पोखरेलले कृतिकारलाई बधाई ज्ञापन गर्दै लेखनमा निरन्तरता दिनु पर्ने बताउनुभयो । प्राज्ञ विवश पोखरेलले कृतिको प्रशंसा गर्दै धेरै वर्षपछि पनि कवि हरि कट्टेलका कृतिहरू पाठकहरूले खोजी खोजी पढ्ने बताउनुभयो ।