समाचार
काठमाडौं ।
प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रविद् सन्दीप सापकोटाको अनुवाद तथा सम्पादनमा तयार भएको उक्त ग्रन्थ तन्त्रचर्चा परिवारले प्रकाशन गरेको हो ।
मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा आयोजित कार्यक्रममा ग्रन्थ लोकार्पण गरिएको थियो । १७ अध्याय र दुई हजार ५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको हो ।
तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’मा तन्त्रदर्शन, साधना तथा परम्परागत ज्ञानसम्बन्धी विषय समेटिएका छन् । संस्कृत तथा नेपाल लिपिमा सीमित रहेको तान्त्रिक साहित्यलाई नेपाली भाषामा उपलब्ध गराउँदा पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि अध्ययन तथा अनुसन्धान सहज हुने अनुवादक सापकोटाले बताउनुभयो । ग्रन्थ लोकार्पण कार्यक्रममा तन्त्रविद् महेश्वरजुजु राजोपाध्याय, पूर्वकुमारी चनिरा वज्राचार्य, तन्त्रविद् प्रा. डा. रत्नशमशेर जबरालगायत धार्मिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
