हिन्दी कहानी
कोलोराडो ।
पत्रकार तथा लेखक विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ अमेरिकाको कोलोराडोमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा कोलोराडोस्थित नेपाली घरमा नववर्ष विशेष अवसर पारेर कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा आरएमएफएनका पूर्वअध्यक्ष विनोद त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने प्रा.डा. विजय शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा, पूर्वअध्यक्ष टीका पौडेल, निवर्तमान अध्यक्ष अर्जुन बगाले, वर्तमान अध्यक्ष आकृति राई तथा लेखक विष्णु विवेकले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो ।
विमोचनपछि बोल्दै साहित्यकार पदम विश्वकर्माले अमेरिका आएको छोटो समयमै पुस्तक प्रकाशन गरेर लेखकको परिचय बनाउनु उल्लेखनीय उपलब्धि भएको बताउनुभयो । सामाजिक सञ्जालमार्फत आफ्ना अनुभवलाई सशक्त भाषामा प्रस्तुत गर्दै आएको उल्लेख गर्दै उहाँले विवेकको लेखनले पाठकलाई प्रत्यक्ष अनुभूति गराउने क्षमता राखेको धारणा व्यक्त गर्नुभयो । उहाँले पुस्तक बिक्रीबाट गाउँमा पुस्तकालय निर्माण गर्ने अभियानप्रति पनि प्रशंसा गर्दै सहयोगका लागि आग्रह गर्नुभयो । कार्यक्रममा आरएमएफएनका निवर्तमान अध्यक्ष अर्जुन बगालेले अमेरिका आएपछि आफ्ना भोगाइलाई संस्मरणका रूपमा कृतिमा रूपान्तरण गर्नु सराहनीय कार्य भएको बताउनुभयो । त्यस्तै अध्यक्ष आकृति राईले पुस्तकले गाउँदेखि अमेरिकासम्मको जीवनयात्रालाई भावनात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै आफूलाई धेरै ठाउँमा भावुक बनाएको बताउनुभयो ।
विमोचनपश्चात् लेखक विष्णु विवेकले पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै बिक्रीबाट प्राप्त रकम गाउँकै विद्यालयमा पुस्तकालय निर्माणका लागि प्रयोग गरिने जानकारी दिनुभयो । सुर्खेतको घाटगाउँमा जन्मिएका विवेकले वीरेन्द्रनगरबाट रेडियो पत्रकारिता सुरु गरी काठमाडौँमा एक दशकभन्दा बढी समय विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएको थियो । पछिल्लो समय पर्यटन प्रवद्र्धनमा समेत सक्रिय उहाँ हाल कोलोराडोमा आरएमएफएनको युवा संयोजक तथा एनआरएनए अमेरिकाको सञ्चार समिति सदस्यका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि नेपालमा विमोचन गरिएको ‘घाटगाउँ’ अब अन्तर्राष्ट्रिय पाठकमाझ पनि पुगेको छ ।
