वसन्तवेला
वरिष्ठ साहित्यकार वैरागी काइँलाले विभिन्न तीन स्रष्टालाई लोकतान्त्रिक जन आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरणसहित आज ‘स्रष्टा चैत्र ३०’ सम्मान प्रदान गरेका छन् ।
आन्दोलनमा साहित्य क्षेत्रको योगदानलाई स्मरण गर्न १७ जना युवा साहित्यकारको पहलमा वि. सं २०६३ मा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले आयोजना गरेको कार्यक्रममा वर्ष २०७७ को सम्मान शार्दूल भट्टराईलाई प्रदान गरिएको हो । यस वर्षको सम्मान साहित्यकारहरू विवश पोखरेल र वासुदेव अधिकारीलाई प्रदान गरियो । गत वर्ष घोषित मध्ये अर्का सम्मानित कृष्ण धरावासी मुलुकबाहिर भएकाले उनलाई पछि सम्मानित गरिने जनाइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलाले परिवर्तनका लागि धक्का दिन स्रष्टाहरू समर्थ रहे पनि परिवर्तनपछि स्रष्टाहरूको हविगत उस्तै रहेकामा चिन्ता व्यक्त गरे । राजनीतिक परिवर्तन भएपनि समाजको आन्तरिक संरचनाका पक्षमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै जनताका अधिकार माथि कतैबाट आक्रमण भएमा स्रष्टाहरू प्रतिकारमा उत्रनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा वरिष्ठ कवि एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले साना-साना (विपन्न) नागरिकमा समस्यालाई बुझ्न र पहिचान गरेर सृजनमा उतार्न स्रष्टाहरूलाई आग्रह गरे भने समालोचक डा. ज्ञानु पाण्डेले आन्दोलनको भाव बोकेका स्रष्टाहरूलाई सम्मानित गरिएकामा खुसी व्यक्त गरे ।
कार्यक्रममा हालै निर्वाचित प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. मधुसुदन गिरी, नेपाली लेखक सङ्घका सहअध्यक्ष डा. रत्नमणि नेपाल, प्रलेसका उपाध्यक्षहरू समीर सिंह, नमुना शर्मा, कोषाध्यक्ष बाबा बस्नेत, बागमती प्रदेश अध्यक्ष डा. हरिप्रसाद सिलवाल, केन्द्रीय सदस्य वैरागी जेठा, नेपाली लेखक सङ्घका महासचिव सोझो गाउँले (भरत भण्डारी), केन्द्रीय सदस्य राधिका गुरागाईँ, केन्द्रीय सदस्य नारायण सापकोटा लगायतलाई बधाई तथा शुभकामना दिइएको थियो ।
प्रलेसका अध्यक्ष डा. गिरीले प्रलेसको विस्तारित बैठकपछि विस्तृत कार्ययोजना सहित आफूहरू अघि आउने जनाए । नेपाली लेखक सङ्घका सह-अध्यक्ष डा. नेपालले साहित्यमा प्रगतिशील र अप्रगतिशीलको विभेद हटाएर स्वतन्त्रताका लागि साझा मोर्चामा रहनुपर्न आग्रह गरे ।
‘स्रष्टा चैत्र ३०’ का अध्यक्ष मनोज न्यौपानेले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि स्रष्टाहरूले निरन्तर खबरदारी गर्ने बताए । संस्थाका संस्थापक अध्यक्ष आर एम डङ्गोलले स्रष्टा आन्दोलनको अभिलेख र अबको कार्यदिशाबारे बहस चलाउनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक जनआन्दोलनका क्रममा वि. सं २०६२ चैत ३० गते गुरुकुल (आरोहण) बाट स्रष्टाहरूले कफ्र्यु तोडेर निकालेको जुलुस पुरानो वानेश्वर चोक पुग्दा तत्कालीन सरकारले दमन गरेको दिनलाई स्रष्टाहरूले स्मरण गर्दै आएको संस्थाका उपाध्यक्ष प्रकाश सिलवालले जनाए ।
यस अघि सो सम्मानबाट वैरागी काइँला, आनन्ददेव भट्ट, डा. तुल्सीप्रसाद भट्टराई, निनु चापागाईं, किरण मानन्धर, देशभक्त खनाल, डा. बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा. अमर गिरी, हरिगोविन्द लुइँटेल, श्यामत मोट, नन्दकृष्ण जोशी, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा. दुवसु क्षेत्री, पुरुषोत्तम दाहाल, पुरुषोत्तम सुवेदी सम्मानित भइसकेका छन् ।

