२०५० सालको फागुन महिनामा मैले पहिलोचोटि पूर्वतिर यात्रागर्ने अवसर पाएकी थिएँ । पहिलो पटक हेटौँडा, लहान, इनरुवा, इटहरी, धरान, भेडेटार हुँदै हिलेको रमणीय स्थानसम्म पुग्दा मलाई साँच्चिकै नयाँ अनुभूति मिलेको थियो ।
धरानबाट माथिजाँदा पहाडै- पहाडको उकालो भएता पनि नागबेली परेको पक्की बाटोले त्यहाँको प्राकृतिक सुन्दरतामा थप मलजल गरेको प्रस्ट देखिन्थ्यो । तमोर नदीलाई पार गरेर धनकुटा बजार हुँदै हिलेसम्म पुग्दा चिसो- चिसो सिरेटोले हरेकको मनलाई निकै आनन्दित तुल्याउँथ्यो । हिलेबाट ओहरलो लाग्दा केही तल पारि पट्टि देखिएका रातो छाना भएका, लामबद्ध, एकैनासका सुन्दर भवनहरूले जो कसैलाई पनि एकछिन घोरिएर हेर्न बाध्य बनाउँथ्यो । लाग्थ्यो, यति टाढाबाट हेर्दा त त्यति सुन्दर देखिन्छ भने नजिक जाँदा त झन् कति रमणीय होला ? तर, साँच्चिकै मनले सोचेभन्दा बढी नै रमणीय रहेछ त्यो पाख्रीबास कृषि केन्द्र र वरिपरिको परिवेश । हरियालीले भरिपूर्ण पाखा, कलकल बग्ने स-साना खोली र खोल्सीमा स्वच्छ पानी, प्रदूषण रहित स्वच्छ हावा, आहा ! पाख्रीबासको त्यो रमणीय परिवेशको जति नै चर्चा गरे पनि कम हुन्छ ।
विद्वता र विज्ञताको सङ्गम
शायद ब्रिटिश सरकारको सहयोगबाट सञ्चालित प्रोजेक्ट भएर नै होला त्यो ठाउँ स्वच्छ, हराभरा र सर्वगुण सम्पन्न नै लाग्ने बनेको थियो । नेपालका विभिन्न जिल्लाबाट मात्र नभएर विदेशबाट पनि आई आ- आफ्ना विद्वता र विज्ञता अनुसार त्यहाँ जागिर खाने करिब चारसय कर्मचारी रहेछन् । सबै सुविधा सम्पन्न भएकोले नै होला त्यहाँ काम गर्नका लागि प्रायः सबैजना उत्सुक र अभिप्रेरित देखिन्थे । सबैजना कर्मचारी समय पालनामा निकै कडा लाग्थे । विशेषगरी कृषि, पशुपालन, वनआदि क्षेत्रको विकासका लागि विभिन्न किसिमका अनुसन्धान, प्रसार तथा तालिमहरू समेत सञ्चालन गरेर पूर्वका गाउँ- गाउँ, जिल्ला- जिल्लाहरूमा महत्वपूर्ण योगदान दिएको थियो, पाख्रीबास कृषि केन्द्रले । त्यहाँ कामगर्ने विदेशीमात्र नभई नेपाली कर्मचारीहरू पनि प्रशस्त ज्ञानको अनुभव बटुलेका र विदेशबाटै डिग्री लिएका थिए । उनीहरू निकै सक्रिय भएर कामगर्ने गर्दथे । प्रायः कर्मचारी आफ्ना परिवार सहित नै त्यहाँ बस्ने चलन थियो ।
केन्द्रमा लगभग जति परिवार थिए, धेरैले केन्द्र भित्रै आवास सुविधा पाएका थिए । ती आवास आ- आफ्नै योग्यता र पद अनुसारका थिए । एकैनासका सुन्दर भवनहरूमा सबै आ- आफ्नै किसिमले रमाइरहेका थिए । श्रीमानहरू दिनभरि अफिसियल कार्यमा ब्यस्त रहँदा जागिर नखाने श्रीमतीहरू पनि एक आपसमा भेटघाट गर्ने, खानपीनगर्ने र हाँस्ने, रमाउने हुन्थ्यो । सफा स्वच्छ र चिटिक्क परेको त्यो ठाउँ साँच्चिकै सबै कुरामा मनमोहक थियो ।
विभिन्न गाउँ- ठाउँबाट जमघट भएका सवै पुरुष र महिलाहरूमा एकता, सद्भाव र सुमधुर सम्बन्ध मौलाएको थियो । योग्य कर्मचारीहरूका लागि बेलायतमा गएर उच्चशिक्षा हासिल गर्न यस केन्द्रले छात्रवृत्तिको ब्यवस्था पनि मिलाएको थियो । यसबाट ज्ञानमात्र हासिल गर्नु नभएर परिवारलाई पनि घुम्ने, देख्ने अवसर मिल्नु ठूलो गौरवको कुरा थियो । म पनि त्यसै मध्येकी एक भाग्यमानी हुँ ।
एकताको माला
यस क्षेत्रले हरेक व्यक्ति- व्यक्तिमा एकताको माला यति दरिलो बनाएको थियो कि त्यहाँ २० वर्ष अगाडि काम गरेका साथी- सँगीहरू संसारका कुना- कुनामा छरिएर रहेपनि एकआपसमा सम्बन्ध कायम राख्ने काम अझै छुटाएका छैनन् । पाख्रीबासमा काम गरेका कर्मचारीहरू अहिले धेरैजसो राजधानीमा नै बसेका छन् र यही काठमाडौंलाई आफ्नो स्थायी बसोबास बनाएका छन् । प्रायः जसो सबैजना विभिन्न क्षेत्रमा कार्यरत छन् । तर पनि, आफ्नो पूर्व पाख्रीबासको सम्बन्धलाई अझ दरिलो रूपले निरन्तरता दिइरहेका छन् ।
काठमाडौंमा ‘पूर्व पाख्रीबास कृषि केन्द्र मञ्च’को स्थापना भएको पनि करिब १३ वर्ष भयो । यसै मञ्च मार्फत् हामी निरन्तर रूपमा समेटिने मौका जुरेको छ । हामी एकआपसमा भेट गर्ने कुरा त छँदैछ, साथै यस मञ्चबाट विभिन्न समुदायका लागि स्वयंसेवी र कल्याणका काम पनि हुने गरेका छन् ।
पूर्व पाख्रीबास कृषि केन्द्रका लगभग १५ परिवारको लगानीमा मध्यबानेश्वर क्षेत्रमा ‘पिस प्वाइन्ट बोर्डिङ स्कूल’ स्थापना भएको पनि लगभग आठ वर्ष भइसकेको छ । अरू- अरू ठाउँमा पनि पाख्रीबासका पूर्व कर्मचारीहरू सक्रिय भई विभिन्न संघ- संस्था चलाइरहनु भएको छ । यिनीहरूको माध्यमबाट पनि धेरैलाई समय- समयमा भेटघाट गर्ने अवसर मिलेको छ । बाबु आमा मात्र नभएर सबैका छोराछोरीहरूले पनि एकआपसमा चिनजान गर्ने मौका पाएका छन् । तीज, दसैँ र तिहार जस्ता पर्वहरूमा सबैजना एकै ठाउँ जम्माहुने, रमाउने र देउसी- भैलो खेलेर जम्मा भएको रकमबाट बृद्धाश्रम, बाल कल्याण लगायत केही असहाय केन्द्रहरूमा गएर सहयोग गर्ने आदिकार्यले गर्दा यो क्षेत्र निरन्तर यसरी नै एकता रूपी मखमली माला बनेर रहिरहने छ । यसले चीरकाल सम्म निरन्तरता पाइरहने छ, न कहिल्यै ओइलाउने छ यो, न कहिल्यै रङ्ग फेर्नेछ यसले ! पाख्रीबासको एकताको मखमली फूलमा मीठो सुवास पनि छ ।
जाँदाजाँदै, मेरो यो कवितात्मक भावना पोख्न मन लाग्यो:
सुन्दर हरियालीभित्र लुकिरहेको
त्यो पाख्रीबास कृषि केन्द्र
विद्वानवर्गहरूको विद्वताको
मूल फुटाउने स्रोत थियो ।
पूर्व, पश्चिम, उत्तर, दक्षिण
तराई, पहाड र हिमालबासीको
अति सुन्दर संगम थियो ।
कृषि, वन र पशुपालनमा रमाउनेहरूका लागि
मलजल, बीउ बिजन र अरू
नयाँ- नयाँ प्रविधि उपलब्ध गराउने
एउटा केन्द्र थियो ।
लटरम्म फूलेका सयपत्री र
गोदावरी फूलहरूको मनमोहक दृश्यमा
रमाइरहेका चराचुरुङ्गीहरूको गुञ्जनसँगै
गुञ्जिरहेको
पाख्रीबास कृषि केन्द्र
लामबद्ध भवनहरूले सजिएको
साँच्चै नै सुन्दर ठाउँ थियो ।
हरितवन- पाखा
बारी र कान्लाहरूले भरिएको
एउटा नमुना गाउँ थियो ।।
(कँडेल कवि तथा साहित्यकार हुन् ।)
[email protected]