• २०८१ पौष २९ सोमबार

ए कान्छा

रोशन परियार

रोशन परियार

बतासमा बाँसुरीको धुन खिपेर
अरूणको बाटो गरी
टारी बगरको गोठसम्म पठाउँदा तिमीले
मालीगाई की गोठाल्नीको मुटु
र मालीगाईको थुन एकैचोटी रसाएको
अहिले जस्तो लाग्छ कान्छा

काफलको बोटमा बसेर ढुकुरले
आफ्नै लयमा एकल प्रेमगित गाइरहँदा
मार्से खोलाको तरङ्गमा तरङ्गित
तिम्रा मासुम ओठका प्रेमिल सुसेलीहरूले
थाङ्ग्रोमा झुण्डिएको काँक्राको चिचिलो
र मेरो नाकमा झुण्डिएको झुम्के बुलाकीलाई
अझै पनि उसै गरी हल्लाई रहेको छ कान्छा

चाँदीको घेरा हालेर
चाँदनीको प्रेमिल रोशनीले
उहीतमोर दोभानको संक्रान्ती मेलामा
बेस्मारी सुम्सुम्याएकाथिए मेरा अंगअंगहरूलाई तिम्रा आँखाहरूले
निकै साल पछि अहिले पनि
उध्रिएको घरको छानो र बन्दनभएको मेरो आँखालाई
एकैचोटी भिजाई रहेको छ कान्छा

मसिनो मालिङ्गोमा तिमीले मेरा लागिखोपेको प्रेम
मालिङ्गो सँगै झाँङ्गिएर ठूलो भएको छ
आल्चाको फेदमा तिम्रै हातले रोपेको प्रेम
हलक्कै बढेर आल्चा जस्तै पहेंलपुर भएको छ

कान्ला मुनि तिमी आफैंले खनेको कुवाबाट
अझै पनि रापिलो मूल फुटिरहेकै छ
कान्लामाथि तिम्रै हातले गोडेका दुई थुङ्गा रातो गुलाफ
अझै पनि ओईलाएको छैन कान्छा

टाँकी को रूखमा बसेर न्याउलीरून्छ
उही बेलाको विरहको छट्पटी छातीमा दनदनी दन्किन्छ
तिमी सुतेकै ठाउँबाट
मेरो हरेकबिहान हुन्छ आजपनि
ए कान्छा !!
तिमी सुतेको चिहान
अलि पर सार्न मिल्दैन ??


रोशन परियार
[email protected]