कविता–हिन्दी

कुनै गीत पनि गीत जस्तै लाग्दैन
तिम्रो मौनताको अघिल्तिर
विना गायनै पो सशक्त गुन्जिँदो रहेछ
उत्कृष्ट गीत !
विना रोदनै पो प्राञ्जल हुँदोरहेछ
आत्माको रूवाइ !
जब तिमी, मात्र तिमी नै भएर
प्रस्तुत हुन्छ्यौ
त्यो क्षणको तिम्रो उपस्थिति नै
जीवन्त विश्व गीत हो !
जब तादात्म्य हुन्छ तिम्रो हृदयको जागापन
मेरो हृदयसँग
त्यही हो ईश्वर बिउँझेको
अत्यन्त अलौकिक मुहूर्त !
म आफूप्रति पूर्णतया सावधान छु,
छेस्को सियो समेत पनि नखसालूँ
यो ऐश्वर्य मौनमा
किञ्चित ठेस नपुर्याउ
रौँ बराबरको चिरै पनि नपारौँ
यो मोहकतामा–
परमानन्दको यो दिव्यतामा !
साभार: वसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)