• २०८१ बैशाख १९ बुधबार

परपीडा

धनराज गिरी

धनराज गिरी

‘दर्द पराया जाने न कोई ।’ आफ्नो प्रिय अनुज गोपालले मनको पीर आफ्नो सामुन्ने राखेपछि प्रोफेसर विवेककुमार आनन्दले सानो प्रतिक्रिया दियो र भन्यो, ‘पख अनुज, म यसमाथि एक लघुकथा लेख्नेछु । भयो के भने जसरी छन्दकविता लेख्ने र गद्यकविता लेख्नेहरूका बीचमा एक किसिमको दूरी छ, त्यसैगरी स्वदेश र विदेशमा बस्ने नेपालीहरूका बीचमा पनि नजानिँदो शीतयुद्ध भएजस्तो लाग्छ । नेपालमा रहेर जागिर खान अनुकूल मिलेका वा केही कारोबार गर्न पनि, बाहिरी रूपमा भए पनि सफल भएकाहरू विदेश जानेहरूलाई अपराधी जस्तो मानेको पनि पाइन्छ । विदेशमा रहेको गोपाललाई एक कविको यस्तै नादानीले छोएछ । आफ्नो साहित्यिक दाजी आनन्द सित गुनासो गर्न आयो, प्रविधि मार्फत ।

‘गोपाल हो, प्रतिभा पलायन मुलुकको लागि शुभ सङ्केत होइन, म पनि भित्रभित्र नमज्जा मान्ने नि, मेरा मेधावी चेलाचेलीहरू धेरैले गोजीमा राहदानी हाले, मलाई नमज्जा लाग्यो । त्यो १७ जना इन्जिनियरहरूको कहानी अध्ययन गरेपछि त म झन् झस्किएको नि, अरू त अरू, मेरा तीन लायक र इमानदार सन्तानहरू पनि सात सिन्धुपारि । मेरो मन भत्कियो । तर…तर… जब मलाई पनि गिजोले, बिथोले, राज्यव्यवस्था नै अराजक भयो, तब मैले सोच परिवर्तन गरेँ । यो धरती साझा घर हो, जहाँ गए पनि हुन्छ । जीवन जहाँ सहज हुन्छ, त्यहीँ जाने हो । मानिस यायावर हो । हाम्रो पुर्खा पनि कहाँबाट कहाँ पुगेको कहानी छ । मान्छेको जात अचम्मको हुन्छ । सबै कुरा अरूको सापेक्षमा सोच्दैन, अरूको भित्री वेदना बुझ्दैन । विदेश धेरैको रहर होइन ।आफ्नो देश भनेको आफ्नै देश हो । थाहा छ । तर के गर्ने ? जिउने आधार त चाहियो नि ! खोइ देशमा अवसर ? भन्न दिने, दुनियाँ यस्तै हो ।  एउटा लिकमा त चलेको छ जिन्दगी यो परदेशमा, कमसेकम सिस्टम त छ ।’

‘दाजी, विदेशबाट विप्रेषण नगए नेपाल चल्छ ? बुझीबुझी बुझ पचाउने ?हामीलाई माया छैन र देशको ? जो जो विदेश आउन पाएनन् वा सकेनन्, तिनीहरूको मनको जलन हो यो । पाए, अनुकूल मिले, सबै अमेरिका जान रेडी । को बस्न तैयार छ ? बाह्र पास भएपछि मनमा विदेश । बाध्यता होइन यो ?’

‘देशमा हुनेले कुन गुल खिलाए ? एनआरएनएले कम सहयोग गरेको छ नेपाललाई ? हचुवाको आरोप हो । इग्नोर इट ! आफ्नो काम गर्ने, यो अर्को एमसीसी हो । केही नबुझी प्याच्च बोल्ने । फराकिलो सोच हुनेले यस्तो कुरा गर्दैन । सोच नदीको पानी हो, परिवर्तन हुन्छ । लौ त गोपाल, तिम्रो माग पूरा गर्नु छ । यहाँ नातिनी शकुन्तलालाई गीत सुनाउने वेला भयो, आफ्नो आफ्नो घाउ, आफ्नो आफ्नो मलम, हाम्रो मलम यही कलम ।’ गोपाल आफ्नो कामतिर लाग्यो, प्रोफेसर कथा लेख्न थाल्यो, औजीको मुलुकमा, बिहानै, छ बजे ।


गिरी चर्चित साहित्यकार हुन्
[email protected]