कविता

अति आदरणीय दाजी अवतारशरण प्रशासकोपाध्यायबाट अङ्ग्रेजी एस पी ओथेलोको एउटा कथा, राजा र तीन छोरीहरू, सुनेपछि प्रोफेसर रामानुजनारायण गजलोपाध्यायको मनमा एउटा कुरा खेल्यो । सन्तान यता पनि तीन, न नेपाल, न भार न चीन,सबै गोरागोरीसित पानी र मीन, लाग्यो प्रोफेसर शोध कार्यमा । प्रश्न उही, बाआमाको माया कति लाग्छ ? आयो अनुरूप उत्तर, कटाक्षसहित, होइन कटाक्षरहित भएर, उत्तर:
बा, हामी अब हजुरहरूको सन्तान मात्र रहेनौं । कर्तव्यको महत्व हजुरले पढाउनुभएको हो, हामी अन्त पनि वितरित छौँ । माया पनि समानुपातिक हुनेरहेछ । हुनुपर्ने रहेछ । सासू, ससुरा, पति, पत्नी, सन्तान, नयाँ नाताहरू, काम, सबैतिर बा, यसैले हजुरहरूको भागको माया खोसिन्न । तर चौबीस घन्टा बाआमा, आमाबा- जपेर बस्न नपाइने रहेछ । आखिर लङ्केशको टाउको होइन । हाम्रो मित बा प्रोफेसर जगमोहन आजादको टाउको होइन । बा, सत्य बोलियो । सत्य बोल्न हजुरले नै सिकाएको हो । विवेकले यही भन्छ, छोरीको पहिलो दायित्व माइती होइन, छोराको पहिलो दायित्व पनि बुहारी हुन् । यही मान्यतानुसार आफूलाई, आफ्नो स्रोत र साधनलाई व्यवस्थापन गरियो । गल्ती भयो र बा ? तीन सन्तानको प्रतिनिधि बनेर कान्छी छोरी प्रेसियस पोयमकुमारी गुरुङोपाध्याय गोस्वामी बोलिन् ।
आहा, आहा, मोग्याम्बो खुश हुआ ! मेरा, हाम्रा सन्तान, यति बौद्धिक र विवेकी, तिमीहरू गल्ती गर्न जन्मिएकै होइनौ । तीन पुस्ताको भागको गल्तीको कोटा यही अराजक फेसबुकेले भ्याइसक्यो । आशीर्वाद छ विवेकी सन्तानलाई ! एडिलेड र बृस्बेनतिर पनि ध्यान दिनू । हिजो लक्ष्यबहादुर सम्धीज्यूको रामायण सुनियो । आज दश अवतारको महाभारत सुनेर वासलात मिलाउनुछ । भ्यान्कुभरतिर के छ ? लौ त, आशीर्वाद फेरि पनि !जयश्रीराम !
बाको कुरा बुझ्न गाह्रो हुन्छ । साहित्य नै साहित्य ! लौ लौ बा ! जयश्रीराम ! छोरी लुकिन् । प्रोफेसर गजल लेख्न थाल्यो ।
धनराज गिरी