रहरहरू
तस्बिरहरू
सम्झनाहरू
लाग्छ,
उडानका पङ्ख हुन्.
विना रङ
विना रहर
कोलाहलबीच
सुमधुर धुनजस्तै
सुन्दर इन्द्रेणी
यी रङहरूले झल्काएका छन्
गाढा फिक्का पोतेका
धुँदा नि नजाओस झैँ
आखिर,
फरक रङ त के भो र !
त्यसले दिने सुन्दरता त उस्तै
शब्द व्याख्याको के अर्थ !
आऊ, तिमी पनि एकचोटि
हत्केलाहरू पोतेर हेर
अनि थाहा पाउनेछौ
रङको करिश्मा !
रहरको चमक !
अनि,
सौन्दर्यको आभा !
रङका रूपहरू अनेक होलान्
अनेक अनेक नजरहरू
तर भावहरू त एक हुन्
आखिर रङ नै त सूचक हैन !
ए, फगत एक रङमा रूमल्लिएकाहरू !
बाहिर त आएर हेर
सप्तरङ्गी इन्द्रेणी टल्केको
के, त्यहाँ विभेदको रङ छ र ?
उच निच, अभावको अर्थ छ र ?
समाजका वर्ग भनिनेहरू
समानताको आवाज फुक्नेहरू
बहुरूपी रङहरू
कुरीति र कुसंस्कार बोक्नेहरू
एकछिन त सोची हेर !
फरक रङ, फरक विचारका
सत्यहरूले
आक्रोशहरूले
अनि
सुन्दरताहरूले
विशाल हृदयमा
के फरक पर्दोरहेछ !
रङ त्यो फरक किन नहोस !
चाहे गाढा होस् या फिक्का
अस्तित्वको क्यानभास त उही नै
र त,
रङको रङ्गीनपन
दिग्भ्रमित छैनन्
जसरी बिहानीको रङ
गोधूलिको रङ प्रकट हुन्छ
के एउटा नै गति छ र ?
त्यसैले, आऊ !
रङ्गीन यो संसारमा
रङहरूको सम्मान गरौँ
पृथकतामा पुलकित बनौँ
रङमा के छैन ?
अनेक रङ नहुँदो हो त !
जीवन कहाँ हुन्थ्यो ?
जीवन्तता कहाँ भेटिन्थ्यो र !
फरक त्यहीँ छ
हेर्ने आँखामा
बुझ्ने मनमा
फराकिलो सोचमा
त्यसैले, आऊ
मानवताको रङमा
मायाको रङमा
अधेरी र उजेलीको रङमा
अनुपम सृष्टिमा
सपनाको रङ कोर्दै जाऊँ
हरेक ओठमा
मुस्कानको रङ थप्दै
रहरको तरेलीमा
रङ्गीन फूलहरू फक्राउँदै
जीवनको बगैँचाहरूमा ।
‘रश्मि’ नवोदित स्रष्टा हुन् ।
[email protected]