• २०८१ असोज २९ मङ्गलबार

लभ यु दार्जिलिङ

प्रदीप गुरुङ

प्रदीप गुरुङ

बेञ्चीमा थपक्क बस्यो दार्जिलिङ उच्छवासको श्वासमा तातो धूवाँ निस्केको आवाज आयो- चौरस्ता । भुइँमा दुईचार भुस्याहा कुकुरहरू, केही परेवा वरपर, सन्ध्याकालीन घामको निखारको न्यानो पिठ्युँमा पारेर बसिरहेका थोते रिटायर्ड बूढाहरू । फेरि कता हो कताबाट आएको प्रतिध्वनि चौरास्ता । झोँकमा कसैले भन्यो- भएन यो मैदाने नाम । पहाडलाई मैदानले तानिसक्यो । पहिरो झरेर मलिलो माटो उँधै, बामपुड्के तथाकथित राजमार्ग धस्किएर उँधै बग्या छ बग्या । वर्षौंदेखि ।
गाँठोको चौरास्ता ? चारबाटे भन्नुपर्छ चार । कालेबुङले भनिसकेको छ सातबाटे । गुन्द्रुके लवज । खै हौ उहिलेको गुन्द्रीबजारमा हराएकै हो त ?
त्यही दाँयापट्टि बेञ्चीमा फग लगाएर मगमग भएको युवक बसिरहेछ । खुकुरीचुरोट फुकिरहेछ । झुमिरहेछ झुइँझुइँ तालमा ।
दार्जिलिङले अहिले आफूलाई पनि परका ती थोते रिटायर्ड बूढाहरूजस्तै सम्झ्यो । छक्क पनि पर्यो वरपरको परिवेश हेरेर ।
साँझको समय छ । आकाशमा एउटै बादल पनि छैन । यो समय यसै पनि यो चारबाटे फाँट नवयौवनाझैँ उत्ताउलिन्छ ।
दार्जिलिङले फेरि झुइँतालमा मस्त युवकलाई हेर्यो । चुल्ठो पालेको युवकले खल्तीबाट टफी निकालेर मुखमा हाल्यो । मातको अनुपातलाई गति दियो । चित्त बुझेन र कानबाट एयर फोन निकाल्यो । बाफ् रे कत्रो भोल्युममा र्याप फलाकेको । बरा, उहिले झाँक्रीको फलाक्ने मन्त्र ताल मादलकै मुटुमा मरिसकेछ ।
खिया परेको एउटा खुकुरी
जङ्गलमा हराएर नितान्त हराएर
खरी झरेको मादल
झोपडी झुन्डिएर
कसोकसो झस्कियो दार्जिलिङ । सम्झ्यो- यसरी हराएर झुन्डिनु पनि एउटा सामूहिक आत्महत्या हो त ?
१०५ दिनको बन्दले स्याक्पा सुकेको यस ठाउँमा भर्खरै सम्पादन हुँदैछ दार्जिलिङको अनुहार । तैपनि धूवाँ कताकता हावामा रुमल्लिरहेछ । साउत फिल्ड कलेजमुन्नितिर ब्रिटिसकालीन रेस्ट सेड जलेको धूवाँको धङधङती आलै छ । विर्निमाणपट्टि लागेकै हो क्यारे । थक्थक्ती लाग्दो । किन यसरी जलाएको नि ? जतिजति जलाउँछ त्यति नै स्वार्थको शीतलता पाउँदा हुन् नि नेताहरूले ।
पर बेञ्चीमा एकजना बूढा मानिस ख्वाइँख्वाइँ खोकिरहे । मधेशको चियावालाले चिया बेचिरह्यो । खोक्ने बूढाले चिया किनेर पिए । आमाको संरक्षणमा एउटा टुकुटुकु शिशु खेदिरहेछ परेवाहरू ।
ड्रग्सको झुइँझुइँ तालमा नयाँ एडिडास जुत्ता भुइँमा ठोक्दै गाएजस्तो फेरि र्याप फलाक्न थाल्यो । दुईचार आशे कुकुरहरू उसैलाई हेरिरहेछन् । टाउको झट्काउँदा राल निस्क्यो युवकको मुखबाट । टफी थुकेर फ्याँक्यो कुकुहरूका सामु । एउटाले सुँघ्यो मात्र । भुत्रो खान्थ्यो ? ड्रग्स गनायो । एउटा विदेशी पर्यटकले उसको टोनमा बोलायो कुकुरहरूलाई । हातमा बिस्कुट देखेर पछ्याउँदै गए पशुहरू ।
बिन्दुली टीका के टीका
माटोको टीका राजा टीका
टीका लगाउने मौसम बेमौसम भएछ ! के हो नि यो बिन्दुली टीका ? सोध्न मन लाग्यो । कसलाई सोध्ने ? युवकलाई ? उसको धारावाहिक सकिएको छैन । अब माटोको कुरा पनि के कुरा ! बगेरबगेर समतल पुगिसक्यो । यहाँ एक दिन कङ्काल मात्र रहन्छ कङ्काल ।
युवक अझै झुम्या छ झुम्या । पर्यटक बोकाएर घोडा तान्दै एउटा सइसले युवकलाई निखारेर हेर्यो र गयो । दार्जिलिङ बालकजस्तो सुकसुकायो । के सुन्थ्यो युवकले । फर्केर आएको कुकुरले पो बरू हेरिरह्यो । तर अचानक सुकसुकाउन छाड्यो दार्जिलिङ । त्यो कुकुर पनि गएर पर फलामखुट्टे बेञ्चीतिर पुग्यो । टाङ फार्यो । मुत्यो । फिसफिसे फगमा मगमगे युवक अझै किन झुमिरहेको ?दार्जिलिङले उसको कठालो समात्यो । झकझकायो । उठ । युवा पुस्ता उठ । । यसरी हुँदैन हौ जिन्दगी र भविष्य । पहाडलाई पत्कर न बनाऊ । बाबु हो । उठ । दार्जिलिङले रुँदै युवकलाई सम्झायो कञ्चनजङ्घाको आँसु चुहाएर । युवकलाई झकझकाइरह्यो । बल्लबल्ल ब्यूँझ्यो । मुख लटपटाएर बोल्यो–‘को हो मलाई उठाउने, चिनेन ? म हिमाल चड्ने तेञ्जिङ शेर्पाको पनाति हुँ ?’
एकाएक झोँक्किएर दार्जिलिङले युवकको कठालो समात्यो । सोध्यो– ‘तिमीले चाँहि के चड्यौ ?’
युवकले झुइँ तालमै भन्यो–‘टोय ट्रेन चडेँ घुमसम्म ।’
थुक्का मोरो । जङ्गियो दार्जिलिङ । तर जङ्गिएर मात्र पनि भएन नि त ! हिमाललाई सम्झ्यो । हजुरबाको उहिल्यैको ग्रामोफोन सम्झ्यो । ग्रामोफोनमा बजेको गीत प्रतिध्वनित भयो ख्यार… ख्यार … ।
‘हाम्रो तेन्जिङ शेर्पाले चड्यो हिमाल चुचुरो ।’ ब्यूँझेरै दार्जिलिङे तेन्जिङलाई खोज्यो । तर पाएन । सामु देखापर्यो साम्प्रदायिकताको नङ्ग्राले कोपरेको मानचित्र थियो । त्यहाँबाट हिमाल हरायो, तेन्जिङ बिलाए ।
घाम लागेको अर्कै दिन । तर बादल घरिघरि छिमलछिमल आकाशमा देखिन्छ, हराउँछ । अन्तर्राष्ट्रिय थोरै र राष्ट्रिय धेरै सङ्ख्यामा देखिने पर्यटकहरूको क्यामेरा र मोबाइलले ताक्छ त्यतै, यताउता । बर्खा निखारमै पुगेको दसैँ–तिहार निस्तोनिस्तो मनाउनुपर्ने भएर मनाइसकिएपछिको एक खालको शून्यता छ र पर्यटकहरूलाई घाम तपाउँदै न्यानो दिइरहेको त्यहीँ चौरास्ता छ । राजनारायण प्रधान र काली केटी पनि त्यहीँ आइपुगे । …दार्जिलिङ त उनीहरूको मुटु अरे । कञ्चनजंघाचाहिँ मुकुट अरे ! भन्नु पनि सकेकै हो ! झोंक चल्यो राज सरलाई झोँकमै फिस्स हाँसेजस्तो पनि गरे ।
किन हाँसेको नि बाजे बिच्चमा । काली केटीले अर्कै पनि भनी– ‘बाजे त्यो मान्छेले मेरो फोटो खिच्न खोज्दै छ ।’
‘चुन्नीले मुख छोप्न त’– भनेर पर हेरे राज सरले । ठमठम हिँडेर यतै आउँदे थिए इबरा । आइपुगे पनि । हात मिलाएनन्, कोर्ने देसान अझै छ ।
‘यसो रमिता हेर्न आएको । पहिला पहिला ‘आज रमिता छ’ हुन्थ्यो चौरस्तामा।’ कसले यसै भने–‘राज सर हो या इबरा । चौरस्ता शब्द सुन्दा जङ्गियो दार्जिलिङ । पर जङ्गबहादुर राणाको सालिक ठिङ्गै छ । वर्षौंदेखि । तिनी पनि खुब जङ्गिन्थे रे त । तै औपन्यसिक सन्दर्भको रमिता मन पर्योदार्जिलिङलाई । जब यी दुई व्यक्तिहरू आउँछन् त्यही कान ठाँडो पारी पुग्छ दार्जिलिङ।
‘पहिलाजस्तो रमिता त कहाँ छ र राईजी ।’ रा.प्र. बोले–‘साहित्यसन्दर्भमा केही बुझौँ न !’
‘खै के भन्ने । साहित्य पनि राजनीतिजस्तो भयो । खेमा–खेमाको । आफ्नो आफ्नो समूहलाई उच्यालो, बस्यो । सिर्जना कम विज्ञापन बढी ।’ इबरा बोले । काली केटी छटपटिन थाली । बाजेहरू भेटेपछि यस्तै हो । दिक्क पार्छ टोलिन वरपर हेरी ।
‘हाम्रो पालामा त सिर्जना नै विज्ञापन । भनेर रा.प्र.ले सोधे फेस बुक चलाउनु हुन्न?’
आ–आफैँले आफ्नो अनुहार त देख्न सकिन्न । सुनेको रातारात केके लेख्छ अरे, भोलिपल्ट देखि प्रतिष्ठ… हैट यसरी सही सिर्जना हुन्छ र ?’
इबरा झाँेक्किए । लौ यो केके जुलुस ? फेरि जुलुसको मौसम ? हो आज त रमिता नै छ आंशिक । जोगी झोलाजस्तो रङ्गी- बिरङ्गी झोले जुलस पो छ त । क्याभेन्टर्सतिरबाट पो आएको रहेछ । पहाडलाई बिथोल्ने जातगोष्ठीको जुलुस पो रहेछ ।
‘के का लागि हो यो जुलुस ?’ इबराले रमितेहरू मध्ये कसैलाई सोधे ? जसलाई सोधियो ऊ नै बोल्यो- ‘बोर्डहरूको जुलस चाहिँ मुख्यमन्त्रीको समर्थनमा अरे ।’
‘प्रान्त परिषद्लाई दह्रो पार्नसकेको भए यस्तो हुने थिएन नि राईज्यू…!’ रा.प्र.ले सोधे ।
‘खै के भन्ने हाम्रो दुर्भाग्य नै हो ।’ इबराले खुइ काडे ।
भोले जुलूसबाट छिर्दै एउटी नवयौवना युवकसँग ह्यान्ड क्रस गरेर माल रोडतिर लागी । कति सुन्दर फूल कुर्कुच्चा । सबैले त्यो हेरे ।
जुलूसमा मौका छोप्नेहरू पनि हुँदा रहेछन्। यस्तो उनीहरूले सम्झेसम्झेनन् । तर भीड बडेको देखेर ती बौद्धिक वयस्कहरू बाटो लागे । अझै बसिदिएको भए पनि हुन्थ्यो नि ! थकथक लाग्यो दार्जिलिङलाई ।
अहो ! मधुरो जूनले चुमिरहेको चौरस्ताको निधार र अनुहार । स्पटिक कञ्चनजङ्घापारि । दार्जिलिङ मोहित । तर बिस्तारै धमिलो बन्दै गयो हिमाल । रुन पो थाल्यो कञ्चनजङ्घा निस्तब्धतालाई छियाछिया पारेर । यसरी हिमाल रोएको घटना विश्वमै अनौठो घटना हो । दुईपट्टि वलिन्द्रधारा बगाएर हिमाल रोइ नै रहयो । पर्यावरणविद् भएर दार्जिलिङले सोच्यो–प्रदूषणको सिकार हुनुपरेकाले होला हिमाल रोएको । अस्तित्ववादी भएर सोच्यो–अस्तित्वका सेता ढिक्काहरू पग्लँदा रोएको हुँदो हो हिमाल, दार्जिलिङले उतैपट्टि फर्केर सोध्यो– ए मेरो सौम्य हिमाल । तिमी यसरी किन रुँदैछौ ? कञ्चनजङ्घाले भन्यो–बङ्गोप सागरहेर्दै म रुन्छु । दार्जिलिङले फेरि सोध्यो–‘बङ्गोप सागर र तिमीमाझ सयौँ माइलको दूरत्व छ । तर तिमी रुनुपर्ने कारणमा वास्तविकता चाहिँ के हो ?
‘राजनैतिक प्रदूषणको ज्वारभाटा त्यहाँबाट बहुसङ्ख्यक राजनैतिक तापक्रमद्वारा पगालेर मलाई त्यतै समाहित पार्ने षड्यन्त्रमा ती सबै लागेका छन् ।’
कञ्चनजङ्घाको रोदन अझ बढ्यो, दाजीलिङले पनि आफूलाई थाम्न नसकी रुन थाल्यो । निक्कै बेरपछि हिमाल रुन छाड्यो । दार्जिलिङले पनि त्यही गर्यो । त्यसपछि उँधो चोकबजार र मोहम्मद गल्लीतिर हेर्यो, गयो । त्यहाँ अगमसिंह गिरी सुकसुकाइँरहेका थिए । जातीय अस्तित्ववादबारे जान्ने जिज्ञासा भयो । सोध्यो- ‘कविजी मलाई पनि युद्ध र योद्धामा भएको अस्तित्ववादबारे केही बताइदिनु होस न !’
तर कवि बोल्दै बोलेनन् । अन्धकारमै कवि कञ्चनजङ्घा र चियाबारीतिर हेरेर रोइरहे, चित्त बुझेन र लाग्यो चोकबजारतिर । त्यहाँ पनि अचम्मका दृश्य देखिए । सम्पूर्ण सहिदहरू भेला भएर ल्याम्पपोस्ट्मुनि रोइरहेका थिए । दार्जिलिङले सोध्यो- ‘ए सहिदहरु हो ! तिमीहरू किन यसरी रोइरहेको छौ ।’
‘हाम्रो सहादतको मूल्याङ्कन भएन हजुर ।’ एउटा सहिद बोल्यो । नेताहरूले हाम्रो माटोको मूल्य बुझेनन् । तिनीहरूले गर्दा नै हामीले ‘बुलेट’ खायौँ ।’
अर्कोसहिद बोल्यो- ‘तिमीहरू के चाहन्छौ अब?’दार्जिलिङले सोध्यो ।
‘हाम्रा सन्तानलाई अब उसो सहिद नबनाइयोस् । तर के गर्ने र, भन्दाभन्दै १०५ दिन बन्दमा १३ जनालाई सहिद बनाइ त हाले आफ्नो स्वार्थका लागि ।’ पहिला बोल्ने सहिद नै बोल्यो । त्यसरी नै रुँदै सहिदहरू बाटाको उकालो ओरियन्ततिर लागे । चित्त दुख्यो दार्जिलिङको । नयाँ कुरो फुरियो । ‘होइन, अब जनता होइन नेताहरू पो सहिद बन्नुपर्छ । लाखे है त ! आन्दोलन गरेर सहिद बन्न चाहने नेताहरू कति छन् त । सूची तयार पारौँ । तर सबै नेताहरू खेमाखेमा छुट्टिएर आ- आफ्ना धन्धामा पो व्यस्त र मस्त थिए ।
…कोही जनता फकाउन सेनिटाइजर गर्न व्यस्त थिए ।
कोही उठाइएको रकम व्यवस्थित गर्न व्यस्त थिए
सानो साइजको समूहबाट कोही नयाँ मोडेलको गाडी किन्न हतारिरहेका थिए । कोही स्वास्नी फेर्दे थिए । कोही नातागोतालाई नियुक्ति दिलाउन तल्लीन थिए । कोही भिसा निकाल्ने धुनमा थिए । ।
कोही पर्सन्टेजका लागि ठेकेदारको पछि लागिरहेका थिए । सूची रित्तै रह्यो ।
अर्को दिन त्यही फलाम खुट्टेबेञ्चीमा पर्खेर घाम ताप्दै कञ्चनजङ्घालाई हेर्नलाग्यो दार्जिलिङ । सामु एकजना दाह्रीवाला दार्शनिक आयो । भन्यो– ‘अस्तित्व नहुनुमा पनि तिम्रो अस्तित्व छ ।’
गइहाल्यो दार्शनिक । दार्जिलिङलाई आफ्नो अस्तित्वमाथि शङ्का लागिरह्यो । दार्जिलिङ अस्तित्व खोज्न थाल्यो । करायो– ‘ए मेरो अस्तित्व, तिमी कहाँ छौ ? मकहाँ आऊ । म अस्तित्वविहीन बन्न लागेँ ।’
दोहोर्याएर त्यहीँ कराइरह्यो दार्जिलिङ । ठूलो साँझ बितिसक्दा पनि त्यसरी नै कराइरह्यो । मध्यरात भयो । अस्तित्व ऊकहाँ नआउँदा त्यसको खोजीमा भौतारिन थाल्यो । नाम काडेर फेरि बोलायो–‘ए मेरो अस्तित्व तिमीकहाँ हरायौ?’ प्रत्युत्तर आएन ।
तर अन्य अस्तित्वहीनहरू बत्ती बालेर दार्जिलिङको सामु आए । केके भन्नथाले ।
क)– ‘ए दार्जिलिङ, अब तिमी हाम्रो समूहमा सामिल बन ।’
दार– ‘दार्शनिकको तर्क नबुझी म कुनै निर्णय लिन्न ।’
ख)– ‘तर दार्जिलिङ सामेल हुन चाहन्छौ भने प्रथम तिमीले अस्तित्वको पत्तो लगाऊ ।
दार– ‘अस्तित्वको शैल्य चिकित्सा गर्ने औजार मसँग छैन ।’
ग)– ‘अस्तित्व खोज्ने तिम्रो अभियान कहिलेसम्म ?’
दार– ‘अस्तित्वले समयको अस्तित्व बुझ्न जति समय लाग्छ ।’
त्यसपछि अस्तित्वहीनहरूको जुलुस अघि बढ्यो । डेडहाउससामु पुग्यो । अस्तित्वहीनहरू त हुन्– इथरमा बिलाए । लासहरू त्यहाँ अन्धकारलाई छाम्दै थिए । केही खोज्दै थिए ।
दार्जिलिङले लासहरूलाई सोध्यो–‘तिमीहरू यहाँ के गर्न लागेका छौ?’
धनेलास– ‘हामी पनि आफ्नो अस्तित्व खोज्न लागेका हौँ ।’
दार– ‘कस्ता लाटा तिमीहरू, जीवनवाद भोग्नेहरूले चोरिसके होलान् नि !’
मने लास– ‘तर एकदिन त तिनीहरूले पनि आफ्नो अस्तित्व त खोज्नैपर्छ ।’
दार– ‘तर तिमीहरूलाई अब अस्तित्वको आवश्यकता किन ?’
रणेलास– ‘क्यार्नु हजुर जीवनभरि त्यसकै मृगतृष्णामा बाँचियो ।’
दार– ‘होइन , अस्तित्व र तृष्णामा के फरक छ त ?’
जनेलास– ‘तृष्णा त अस्तित्वको रस हो, तर क्यार्ने हामी त सारा जीवन तिर्खाएर बाच्यौँ ।’
दार– ‘तिमीहरूलाई तृप्तिको बोध पो नभएको हो कि ?’
रामेलास– ‘तर क्यार्ने र हजुर हामीले संसारमा तृप्तिकै अस्तित्व भेट्टाउन सकेनौं ।’
दार्जिलिङले त्यस दिनदेखि फेरि तृप्तिको अस्तित्व खोज्न थाल्यो । तर यो अभियानमा उसले अस्तित्वको खोजी भुल्दैगयो शनैःशनैः ।
अहो दार्जिलिङ सहर– रहरको सहर । तर अब त सहर हुनुको रहर पनि पुग्यो, कसोकसो बाहिर अन्तै सहरतिर जाने रहर पो जाग्यो । कतैत्यतै आफ्नो अस्त्वित्व पनि भेटिएला कि ? पर्यटनमार्फत् त्यतै लाग्यो पनि । पुग्यो । पुग्न त पुग्यो, तर यस्तो सहरमा पुग्यो, जहाँ नपुंसकता मौलाइरहेको थियो । अन्धकारका खुट्टाहरूले पो त्यहाँ सरहको नपुंसकता बोकिरहेका थिए ।
चोकबजारमा जस्तै दार्जिलिङले त्यहाँ पोस्टरैपोस्टर देख्यो । लेखिएको थियो– एउटा राज्यसम्म बनाउन नसक्ने गोर्खे–पुरुषार्थ मूर्दावाद ! हुतिहारा गोर्खे–पुरुषार्थ मूर्दावाद !
नपुंसकहरूको रगरगी थियो त्यहाँ । तथाकथित पुरुषार्थ भएकाहरूलाई नपुंसकहरूले पाता कसेर अर्कै प्रयोगशालातिर लाँदैथिए । प्रयोगशालामा नपुंसक बनाउने अभियान कायम थियो । नपुंसकहरू तलिवानी बनेका थिए र सरहभरि आफ्नो फरमान जारी गरिरहेका थिए । पुरुषार्थमा अडिग बसी प्रयोगशाला जान अस्वीकार गर्नेहरूलाई चोक–चोकमा क्रुसिफाइड गरिएका थिए, नपुंसकहरूअट्टहास गरिरहेका थिए भने क्रुसिफाइडहरू रोइरहेका थिए ।
दार्जिलिङले त्यहाँ अनौठो पसल देख्यो । नपुंसकताको आवारण बिक्री केन्द्र । त्यही आवारण किनी प्रयोग गरेर पुरुषार्थ रक्षा गर्नुमा नै आफ्नो भलाई ठाने प्रायः सबैले । पसलमा भीड थियो । दार्जिलिङ पनि त्यहीँ गयो । किन्यो । धारण गर्यो । सुरक्षित बाहिर निस्क्यो ।
जसोतसो नपुंसकहरूको आक्रमणबाट निजात पाउन सफल बन्यो । फेरि उसले आफूलाई अर्कै रुमानी दुनियाँदारीमा हराइपठायो । दिशाभ्रमको परिणाम भोग्नुपर्यो । यसर्थ, उसले फेरि आफूलाई खोज्न थाल्यो । झुक्किएर कि नझुक्किएर उसले बङ्गालको हराउने झार छोइपठाएछ । तर आफैँले भेट्टाउन नसकिरहेको अवस्था रहिरह्यो । ए गाँठ्ठे आफूलाई खोज्दाखोज्दै यसपटक त आफ्नै अनुहारले पो हराइपठायो । पक्का धरोधर्म उसले फेरि बङ्गालको हराउने झार जानीजानी छोयो । तै अनुहारको माया त छ । अनुहार भेट्टाइदिनेलाई एमानको पुरस्कार दिने विज्ञापन पनि दियो अखबारमा । तर सूचना दिन कोही आएनन् ।
दार्जिलिङ हतास पर्यो । त्यही रुमानी दुनियाँमा अनुहार खोज्नथाल्यो । त्यहाँ पनि एउटा प्रयोगशाला देखियो । तर नपुंसक बनाउने प्रयोगशाला किमार्थ होइन । त्यहाँ रङ्गीन गुलुपहरू देखिए झलमल्ल । स–साना मोटा सिसादार कक्षहरू थिए । भित्ताभरि विभिन्न पजनातिका अनुहारका नमुनाहरू थिए । यसर्थ उसले सबै नमुना अनुहारलाई केरेर हेर्नथाल्यो ।
एउटा ढोकेले उसलाई शङ्का गरेर हेरिरह्यो । उसले ढोकेलाई सोध्यो–‘यी अनुहारहरू कहाँबाट ल्याइका हुन् ?’
ढोकेले पनि शङ्कामै उत्तर दियो–‘यी सबै तस्कर गरेर ल्याइएका हुन् । वास्तविक अनुहारहरू त भित्र प्रयोगशालामा छन् । हेर्नोस्, अब यस अनुहार–सङ्ग्रह केन्द्रका प्रमुख आउने समय भयो । गइहाल्नुहोस् ! तर तपाईं यस्तो असुरक्षित क्षेत्रमा किन आउनु भयो ?’
दार्जिलिङले उत्तर दियो–‘मैले पहिला आफ्नो अस्तित्व हराएँ । त्यो खोज्ने क्रममा फेरि अनुहार हराएँ । खोज्दै यो प्रयोगशालामा आइपुगेछु । केही बिराएँ कि?’
‘तपाईंले हराउने झार छुनु भएछ । त्यही बिराउनु भयो । अब केही भन्नु छ ?’ ढोके बोल्यो ।
‘आफनो इतिहासअनुसार भूगोलको सीमाङ्कन गर्न लागियो । कसलेकसले भूगोलको कप्पु उडाइदियो । अनुहार पनि अपहरण गरेर लगिदियो ।’ रोएजस्तै बोल्यो दार्जिलिङ ।
ढोके पनि संवेदनशील बनिसकेको थियो । यसर्थ उसले भित्र अनुहारहरूको वास्तविकता एमानको सोकेस हेर्ने मौका दियो, दार्जिलिङले त्यहाँ आफनो अनुहार खोज्न थाल्यो । तर त्यहाँ सबै अपरिचित अनुहारहरू मात्र थिए । हेर्दाहेर्दै अनुहारहरूले आफ्नो परिस्थितिअनुकूल मखुण्डो पो धारण गर्नथाले । मखुण्डोमा आफ्ना मार्काहरू ठोक्न थाले… खेमाखेमाका अवसरवादी मार्काहरू । यो रुमानी दुनियाँदारीमा पनि आफ्नो अनुहार नपाइने रहेछ भन्ने ठान्यो दार्जिलिङले ।
तर अचानक त्यहाँ अनुहार–सङ्ग्रह केन्द्रको प्रमुख आइपुग्यो । उसले दार्जिलिङलाई पाता कस्यो । अझ भित्र अर्कै ठाउँमा पुर्यायो । त्यहाँ अँध्यारो र बृहत्सोकेस थियो–अर्ध कारावासजस्तो । प्रमुखले दार्जिलिङलाई त्यही सोकसभित्र ठेलेर हुल्यो, ताल्चा लगायो र सबैले सुन्ने गरी भन्यो–‘हाम्रो सोकेसमा तिमी अनुहारहीन नयाँ प्रयोग भयौ ।’
बाहिर उहिल्यै सडकमा पुर्खाहरूले ढ्वाङ्तान्दा सुनिने गीत प्रतिध्वनित भयो–
साइँली, माइली दार्जिलिङ कस्तो छ ?
दार्जिलिङ सहर बत्तीको लहर वैकुण्ठजस्तो छ ।
नेताहरू कलकत्ता र दिल्लीको फ्लाइट पक्रन भिआइपी गाडीहरूको ताँती लिएर उँधो प्रस्थान गर्न आतुर थिए । धुले कार्यकर्ताहरू आ–आफ्नो ब्रान्डका नारा लगाइरहेका थिए
जिन्दावाद ! जिन्दावाद !!
खेला हबे …! खेला हबे । जिन्दावाद ! जिन्दावाद !!
जै श्रीराम जै… जै…श्रीराम !
ती लस्करको पछि ब्याङ्लोर र चेन्नईतिर रोजगार खोज्न जाने युवा बेरोजगारहरू भने बसभित्र चल्ती हिन्दी गीत लव यु जिन्दगीको भाकामा गाउँदै थिए–
लभ यु दार्जिलिङ, लभ यु दार्जिलिङ !
फतफते गोलाइ
कुमुदिनी रोड कालेबुङ ।


(गुरुङ चर्चित साहित्यकार हुन् ।)
[email protected]