लघुकथा

काठमाडौं, साहित्यकार आचार्य प्रभाको ‘विधुर पुरुष’ लघुकथासंग्रह लोकार्पण गरिएको छ । साहित्यपोष्टले आयोजना गरेको एक कार्यक्रममा उक्त लघुकथासंग्रह सार्वजनिक गरिएको हो । संग्रहभित्र एकशय लघुकथा संग्रहित छन् । लघुकथा समाज नेपालका संस्थापक श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजका महासचिव सुमन सौरभ, साहित्यपोस्टका सम्पादक आश्विनी कोइराला र चलचित्र निर्देशक प्रकाश सायमीले, कथाकार भागिरथी श्रेष्ठ लगायतले संयुक्त रुपमा कृति सार्वजनिक गरेका थिए ।
चलचित्र निर्देशक प्रकाश सायमीले नारी हस्ताक्षर कम भएको बेला अभाव र संकटसँग जुझ्दै कृति ल्याएकोमा बधाई दिए । सायमीले लेखकले लिंग, जाति, क्षेत्र र भूगोल कसैलाई चोट नपुर्याई लेख्न निकै सजग हुनुपर्ने बताए । साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्वअध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यमा डायोस्पोसरिक साहित्यकारले उल्लेख्य योगदान रहेको बताए । उनले कथाकारले घरपरिवार र साहित्यलाई सँगसँगै अगाडि बढाएको पनि बताए ।
लघुकथा समाज नेपालका केन्द्रीय महासचिव सुमन सौरभले लघुकथाको अभियानमा लघुकथाकार खोज्दै हिंडिरहेको बेला कहिल्यै नपढेको र नसुनेको व्यक्तिको गहन कृति आउनु आफैंमा सुखद् पक्ष रहेको बताए । उनले लघुकथा उत्कृष्ट विधा भइसकेको र समृद्धिको यात्रामा लागेको पनि बताए । लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विदेश गएपछि धेरै सर्जक डलर मोहमा लागेर लेखनबाट हराउँदै गएकोमा कथाकार आचार्य प्रभा निरन्तर रूपमा लेखनमा लागि परेको बताए ।
रोदनले नेपाली लघुकथा स्थापित भइसकेकाले विदेशी विद्वानको परिभाषा रटिरहनुको औचित्य नभएको पनि बताए । उनले भने, ‘नेपाली लघुकथाको आफ्नैपन छ । पूर्णप्रसाद ब्राह्मण, जगदीश नेपाल र जयनारायण गिरी हुँदै अगाडि बढेको लघुकथाको छुट्टै स्थान छ । हामीले ओझेल परेको संस्कृति र बिर्सिएको इतिहास समेट्दै आफ्नोपनमा रमाउनुपर्छ ।’ कृतिकार आचार्य प्रभाले ‘विधुर पुरुष’मार्फत् कथामा पुरुष पीडा बोल्न खोजेकी बताइन् । उनले भनिन्, ‘पुरुषको पनि आफ्नै पीडा हुन्छ, श्रीमती नहुँदा पुरुषमा कति असह्य पीडा हुन्छ भन्ने देखाउन कृतिको नामै विधुर पुरुष राखेकी हुँ ।’ प्रमुख अतिथि भागिरथी श्रेष्ठले नेपाली साहित्यमा नारी हस्ताक्षर आउनु खुसीको कुरा रहेको बताइन् ।
साहित्य पोस्टका सम्पादक तथा कार्यक्रमका सभाध्यक्ष आश्विनी कोइरालाले नेपाली साहित्यका उन्नयनका लागि साहित्य क्षेत्रका सबै खाले काम गर्ने प्रतिबद्धता जनाए । ममता मृदुलले सञ्चालन गरेको उक्त कार्यक्रम साहित्यपोस्टको सम्पादक आश्विनी कोइरालाको अध्यक्षतमा सम्पन्न भएको थियो । कोठेसाहियित्यक यात्रा २०५१ को अध्यक्ष, सन् २०१२ २०१४ का लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर कि अध्यक्ष, प्रतिभा निकेतन कि सदस्य तथा गीतकार संघ नेपाल र अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल कि आजीवन सदस्य साहित्यकार आचार्य प्रभाले यो भन्दा अगाडि तिम्रो पर्खाइमा गीति एल्वम २०५१, ईश्वर बन्दना भजन अडियो २०५५, परदेशबाट कविता संग्रह २०६२, असह्यचित्कार गजल संग्रह २०६९, मायाको नाकाबन्दी गीत संग्रह २०७६ बजारमा ल्याइसकेकी छिन् भने सयौंको संख्यामा फुटकर रचना विभिन्न पत्रपत्रिका, अनलाइनमा प्रकाशित भइसकेका छन् ।