• २०८१ माघ २७ आइतबार

घन्टा बज्छ विश्वभरि

नारायणगोपाल

आफ्नो वंश नै मासिन लागेको देखेर एउटाले सुझाव राख्छ– ‘भाइ हो ! आत्तिनुपर्ने कुनै कारण छैन । बलभन्दा बुद्धि ठूलो छ । धैर्य राख्नुहोस्, सब ठीक हुनेछ । त्यस दुष्टदेखि सधैँका लागि छुटकारा पाउने उपाय मैले सोचेको छु । त्यो त्यति गाह्रो पनि हैन तर आँट भने चाहिन्छ । त्यो के भने कुनै पनि खतराको पूर्वभास वा सङ्केत पाउनु र त्यसबाट सुरक्षित रहनु हो । त्यस्तो खतराको पूर्वसङ्केत दिने वस्तु अन्य केही नभएर एउटा सानो घन्टी मात्र हो भन्ने कुरामा यहाँ उपस्थित सबै बन्धुहरूलाई विश्वस्त पार्न चाहन्छु । यदि हामीमध्ये कसैले त्यस पापीको घाँटीमा उक्त घन्टी झुन्ड्याइदिनसके, हामीहरू कसैले पनि व्यर्थमा ज्यान गुमाउनुपर्ने स्थिति कदापि आउने थिएन ।’
तर बिरालोको घाँटीमा घन्टी कसले झुन्ड्याउने ? भन्ने प्रश्न मुसाहरूका लागि अजसम्म पनि एउटा गम्भीर समस्याको रूपमा खडा छ । सायद यही समयदेखि ‘खतराको घन्टी’ भन्ने उक्ति आम्रो समाजमा प्रचलित हुँदैआएको हो । २००७ सालतिर काठमाडौँका टोलहरूमा राती–राती खतराको घन्टी बजेको सुनेको थिएँ । अकस्मात कतैबाट आएर हमला त गर्ने हैन भन्ने सबको मनमा डर एवं आशङ्का हुन्थ्यो । साँच्चै नामै कस्तो ‘खुकुरी दल’ । त्यसो त भएको केही पनि हैन तर घन्टा भने खुब बजेको थियो । अनि मानिसहरू हातमा केही न केही हतियार बोकेर टोलमा जम्मा हुन्थे, टोलको रक्षार्थ ।
पश्चिमी मुलुकहरूतिर पनि बाढी, पैैरो, लडाइँ र अग्निकाण्ड आदिको सूचना वा पूर्वसङ्केत घन्टा बजाएर दिनेगथ्र्यो । यसलाई पनि सायद ‘खतराको घन्टी’ नै भनेको हुनुपर्छ । हाम्रो देशमा पनि कतै आगलागी भयो भने दमकल कुद्ने गर्छ सडक नै ढाक्ने गरी, अनि मुटु नै थर्काउने गरी घन्टा बजाउँदै । आज पनि मुलुकमा यदि कुनै किसिमको खतरा वा अनिष्टको लच्छिन देखाप¥यो भने साँखु बज्रजोगिनीको घन्टा बज्छ भन्ने बूढापाकाहरूको भनाइ छ । सौभाग्यले त्यस्तो घन्टाको आवाज मैले आजसम्म सुनेको छैन ।
समयमै जसले खतरा टार्न सक्दैन त्यसको विनाश हुनु अस्वाभाविक होइन । त्यसैले संसारमा जहाँ पनि ‘खतराको घन्टा’ पछि ‘मृत्युको घन्टा’ बज्छ । पेरिसमा सन्त बार्थोलोमियोको एक साँझ (सन् १५७१) प्रोटेस्टाइन्टहरूको आमहत्या–काण्डमा ठूलठूला घन्टाहरू बजेका थिए ।
भियतनाममा यसले मौनधारण गरेको धेरै भएको छैन । अहिले यो मध्यपूर्वमा बज्दो छ । दादा अमीनले कति बजाए, अझ कति बजाउने हो कुन्नि । हिटलर र मुसोलिनीहरूले त झन् कति बजाए, गनेर साध्य छैन । हाम्रो मुलुकमा यो बज्छ बज्दैन थाहा छैन तर लखन थापाको मृत्युमा मनकामनाको घन्टा बजेको थियो भनी एक जना बूढीआमाले करिब पाँच–सात वर्ष अघि मलाई सुनाएकी थिई । यस कुरालाई सहजै विश्वास नगरौँ तर कोतपर्वमा तलेजुको चारैतिर झुन्डिएका स–साना घन्टीहरू त बजेकै हुनुपर्छ । तिनीहरू अहिले पनि बज्दैछन्– कारण बरू अर्कै हुनसक्छ । सत्ताको लागि आफ्ना सहोदर काका रणोद्वीप सिंहको हत्या गर्नुअघि सङ्गीतप्रेमी वीरशमशेरले यो पक्कै बजाए होलान् अनि यो क्रम शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ चन्दहरूसम्म पनि टुटेको थिएन । सायद २०२९ सालको साउन महिनातिर हो क्यारे टुँढिखेलमा दिनुभएको आफ्नो भाषणमा तत्कालीन प्रधानमन्त्री श्री कीर्तिनिधि विष्टले ‘मृत्युको घन्टा’ बजाउने चेतावनी दिनुभएको थियो । त्यस्तो घन्टा बजाउनुपर्ने स्थिति नेपालमा कहिल्यै नआओस् । किनभने शान्तिका अग्रदूत गौतम बुद्धको देश हो यो जहाँ अर्कै खालका घन्टाहरू बज्छन् । हिमाल, तराई र उपत्यकाभरिका मन्दिरहरूमा ‘शान्तिको घन्टा’ ।
मानिसको मृत्युमा घन्टा बज्छ वा बज्दैन त्यसलाई छाडिदिऊँ तर शक्तिस्वरूपिणी भगवती माताको कुनै मन्दिरमा राँगा, बोका आदिको बलि चढाउँदा भने साँच्चै बज्छ । आज–भोलि दसैँको चहल–पहल छ, कुनै देवीको मन्दिरमा गई हेर्नुहोस्– धारिलो चुपीले रेटिँदै गरेको बलिसँगसँगै त्यहाँका घन्टाहरू पनि बजेको सुन्न सक्नुहुन्छ । कस्तो डरलाग्दो अनि कति निर्मम हत्या ! जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको निर्दोष बलिलाई घन्टाहरूको चर्को र भयभीत आवाजले चुपीको आघात अनि पीडालाई सहनसक्ने शक्ति प्रदान गर्दछ भन्ने हिन्दुहरूको धारणा कति हास्यास्पद । पण्डितहरू भन्छन्– यो असत्यमाथि सत्यको विजय हो, अनि खुसी मनाउँछन् विजयको घन्टा बजाउँदै । यो कस्तो विजय ? स्वाङ र ढोँगको योभन्दा ज्वलन्त उदाहरण अरू कहाँ पाउने ?
‘विजयको घन्टा’ अरू मुलुकहरूमा पनि बज्छन् तर यहाँको जस्तो हैन । ट्राफल्गारको लडाइँ अङ्ग्रेजहरूले जितेपछि बेलायतमा धुमधामसित बजेको थियो– ‘विजयको घन्टी’ ।
कुनैकुनै ठाउँमा मानिसको जन्ममा घन्टी बज्नेगर्छ भने कहीँकहीँ मृत्यु भैसकेपछि पनि । प्रसिद्ध इतिहासकार हेरोडोटस (४१४–४२५ इ.पू.) लेख्छन्– ‘स्पार्टामा जब कुनै राजाको मृत्यु हुन्छ, तब मलामी जाने आइमाईहरूले बाटाभरि हातेघन्टी बजाउँदै हिँडने गर्छन् । सर विन्सटन चर्चिलको बेलायतमा मृत्यु हुँदा लन्डनका प्रायः जम्मै चर्चहरूमा घन्टा बजेको थियो । ब्रिटानिका विश्वकोशमा लेखेको छ– …Decorative ceremonial bells were reported as being hung on Lars Porsena’s tomb in the 6th century B.C. and on the funeral car of Alexander the Great (356-323 B.C.) Ú
समज्यूको ‘इच्छा’ रहेछ– ‘बज्ला मन्दिरमा ‘तथास्तु’ जब त्यो घन्टा दिँदै उत्तर हाँस्तै शान्त भई त्यही समयमा नेपाल हेरी मरूँ ।’ उहाँको यो ‘इच्छा’ यदि पूरा भयो भने मलाई लाग्छ शान्ति र अध्यात्मको प्रतीक मानेको पशुपतिका घन्टाहरूलाई धर्मभीरू हिन्दुहरूले ‘बिच्छुके घन्टा’ सम्झी कतै बजाउनै छाड्ने त होइनन् ? तर आत्महत्या गर्नेहरूलाई भने यो एउटा गजबकै वरदान सिद्ध हुनेछ ।
घन्टा, कस्तो बाजा ! मानिसले यसलाई अनेक उद्देश्यका लागि प्रयुक्त गरे अनि अर्थ पनि थुप्रै लगाए । दार्जिलिङतिर कुनै दिन पुग्नु भयो भने यसको अर्थ स्थान र वातावरणअनुसार अलिक भिन्नभिन्नै पाउनु हुन्छ । जेहोस् त्यहाँ ‘घन्टा’ शब्द प्रयोग गर्दा सावधानी र सर्तकताको ख्याल राख्नुपर्दछ अन्यथा कुटाइ खान बेर लाउँदैन । काठमाडौँमा ‘घन्टाकर्ण’ छ तर उसको शरीरको कुनै भागमा पनि घन्टा देखिँदैन । चराहरू गीत गाउँछन् । तर यिनै चराहरूलाई धपाउनका लागि राजा सोलोमनले आफ्नो मन्दिरको छानामा सुनका घन्टाहरू राख्न लगाए । घन्टाको आवाज सुनेर त्यति वेला (दश शताब्दी इ.पू.का) चराहरू भागे कि भागेनन् थाहा छैन तर हाम्रो मन्दिरमा चराहरूले आफ्नो डेरा जमाएको प्रत्यक्ष प्रमाण हामीसित छ ।
विभिन्न उद्देश्यका लागि घन्टाभन्दा प्रचलित सायद अरू कुनै बाजा छैन । यो जहाँ पनि बज्छ मस्जिदलाई छाडेर । हिन्दुहरूले धर्मको लागि यसको प्रयोग गरेकोले हो कि ? थाहा छैन । शिवको डमरू, विष्णुको वेणु भनेझैँ घन्टा ब्रह्माको बाजा हो भन्ने एकथरीको भनाइ छ । मलाई यस्तो कुरामा विश्वास लाग्दैन । हो यहाँको मन्दिरमा घन्टा बज्छन् । कुमारीको रथयात्रामा बाटाभरि रङ्गिबिरङ्गी लुगा लगाएका गुभाजूहरूले घन्टी बजाउनैपर्छ । रेलको सिग्नलमा घन्टी, हात्ती, गाईभैँसी र गधाको घन्टी त्रि–चन्द्र क्याम्पसमा घन्टा (घन्टाघर), पाठशाला, ब्यारेक रसमयको घन्टा अनि टेलिफोनको घन्टी, ढोके घन्टी (कलबेल), सिनेमाघन्टी, पूजाघन्टी, बतासेघन्टी (फय् गँः) आदि कुन्नि केके घन्टी हुँदाहुँदा रत्न रेकर्डिङ् संस्थानको ट्रेडमार्कमा पनि उही घन्टी ।
हो, यो उही घन्टी हो जसले प्रथम र द्वितीय महा- समर दुइटैमा गरी लाखौँ मानिसको ज्यान खाएको थियो । तपाई पत्याउन हुन्नहोला तर यो झुठो पनि हैन । यो कुरा बुझ्नलाई इतिहासको पाना पल्टाउनु वाञ्छनीय छ । जब युरोपमा नेपोलियनले आफ्नो विजयपताका फैलाइरहेका थिए त्यो वेला उनलाई हातहतियारको निकै मात्रामा आवश्यक परिरहेको थियो । अनि उसको गिदीमा एउटा बहुतै अचम्मको कुराले झकझकायो । फलतः फ्रान्सका पुराना घन्टाहरूलाई ढालेर तोप र बन्दुक आदि बनाइयो । जसको सहायताले फ्रान्स युरोपको सबभन्दा शक्तिशालि राष्ट्रको रूपमा गनिनपुग्यो । नेपोलियन तृतीयको समयमा सन् १८७० मा सेदाँको ऐतिहासिक लडाइँ जिते र त्यहाँ प्राप्त तोपबन्दुकहरूबाट जर्मनहरूले कोलनमा करिब पच्चीस टन जितेको ‘काइजर ग्लोखे’ (राजाको घन्टा) निर्माण गरेर दुनियाँलाई के देखाउन खोजेको थिए भने घन्टा तोप र बन्दुकको रूप धारण गरेर लडाइँमा पड्किने नभई चर्चमा बज्ने एउटा पवित्र बाजा हो । कस्तो महान् दर्शन तर कति कति भ्रमाक । केही समयपछि नै ‘काइजर लोखे’ को असामयिक निधन भयो । त्यो प्रथम विश्वयुद्धको समय थियो– ‘काइजर ग्लोखे’ लाई ढालेर फेरि तोप र बन्दुक आदि बनाइयो । अनि ऊसित सती जाने अरू कैयन् निर्दोष ग्लोखेहरू (घन्टा) को तौलसमेत गरी करिब चालीस हजार टन जति घैँटाहरू हातहतियारमा परिणत भए । तोप–बन्दुकको रूप धारण गरेर जर्मनीका ती घन्टाहरूले कैयन् मानिसहरूलाई खाए । साथै बेल्जियम, फ्रान्स, हल्यान्ड आदि कैयन् स्थानहरूमा स्वयम् आफ्नै दाजुभाइहरू (घन्टाहरू) लाई समेत तहसनहस पारे । यसरी प्रथम र द्वितीय महा–समरमा समेत गरी कति घन्टाहरू नष्ट भए त्यसको अहिले केही लेखाजोखा गर्नसकेको छैन ।
फ्रान्स र जर्मनीको यस परिपाटीलाई हाम्रा भीमसेन थापाले पहिल्यै चाल पाएका भए सुगौली सन्धिको सट्टा सायद अरू कुनै सन्धि हुनेथियो होला । तर मन्दिरैमन्दिरको नगर भनी विश्वप्रसिद्ध कहलाएको यस उपत्यका शान्त र पवित्र मन्दिरहरूमा आज एउटै पनि घन्टा बज्ने थियो थिएन, भन्न गाह्रो छ । जेहोस् अहिले यो बजेकै छ ।
विद्वानहरूको भनाइ छ– घन्टा सबभन्दा पहिले चीन वा भारतमै बजेको थियो । यहाँको सभ्यता र संस्कृतिबाट पनि यस भनाइलाई पुष्टि गर्दछ । चीन र भारत जहाँसुकै पहिलो घन्टा बजेको भए तापनि नेपाललाई पनि यसको आदिस्थलमध्येमा राख्न सकिन्छ किनभने यो देश ‘दुई ढुङ्गाबीचको तरूल’ न ठहरियो । अझ हुनसक्छ यहीँबाट उछिट्टिएर उत्तर र दच्छिनतिर गएको हो । गएको भए कहिले गएको त्यो थाहा छैन । सबभन्दा पुरानो घन्टा कुन हो त्यो झन् थाहा छैन । बरू हेनरी लायार्डले बेबिलोनको निम्रोद राजप्रासादमा उत्खनन् गर्दा तलदेखि माथिसम्म बराबर गोलाइ भएको एउटा घन्टा पाएको थियो, जुन करिब एक हजार वर्ष इ.पू. को भनी मानिएको थियो । त्यो अहिले कहाँ छ कसैलाई थाहा छैन । यस हिसाबले हेर्ने हो भने चीन, नेपाल र भारतमा घन्टाहरू कम्तीमा पनि तीन हजार वर्षदेखि लिएर पाँच हजार वर्षका बीच जन्मिएको हुनुपर्छ भन्ने मेरो धारणा छ । तर यो मेरो भ्रम पनि हुनसक्छ, जसलाई सम्बन्धित व्यक्ति वा संस्थाले निवारण गरिदेला भन्ने अपेक्षा गर्नु अत्युक्ति नहोला ।
एसियाको सभ्यता र संस्कृतिसित पश्चिमेहरू कायल छन् तर उनीहरू हात–खुट्टा बाँधेर त्यसै बस्ने खालका हैनन् । त्यसैले सन् ५०० तिर मात्रै पलिनस नामक नोलाका एकजना पादरीले सर्वप्रथम इटलीको कुनै चर्चमा घन्टा विस्थापित गरे अनि त के छ र हेर्दाहेर्दै जर्मनी, बेलायत, हल्यान्ड, फ्रान्स, स्विट्जरल्यान्ड, रूस हुँदै अमेरिका, ल्याटिन अमेरिका र अफ्रिका अनि विश्वभरि नै आफ्नो जाल फिजाउँछ ।
हामीहरूकहाँ भने घन्टाको महत्त्व दिनैपिच्छे घट्दो छ । पहिलेपहिलेका मानिसहरूले धर्ममा आस्था राख्थे, त्यसैले यहाँ प्रशस्त मन्दिरहरू बने, जहाँ घन्टा हुनैपथ्र्यो । वर्तमान मनुष्यको विश्वास धर्मबाट हट्दै गएपछि मन्दिर बन्ने प्रश्नै आएन अनि घन्टाले मौनव्रत धारण गर्नु अस्वाभाविक भएन । आजको मानिस आफ्नै लागि मन्दिर (?) बनाउँछन् जहाँ घन्टा हैन कल–बेल (ढोके घन्टी) र स्टेरियो मात्र बज्छन् ।
उता युरोपमा घन्टाको प्रशस्त मात्रामा विकास भएको कुरालाई भने हामीले बिर्सनु हुन्न । धातुबाट बनेको यस बाजाले समय–समयमा आफ्ना अनेकौँ रूप फेर्दै वर्तमान अवस्थामा पुगेको हो । उनीहरू यस बाजालाई धार्मिक क्रियामा मात्र हैन, साहित्य र सङ्गीतमा समेत प्रयोग गर्छन् ।
घन्टा निर्माणकलामा पच्छिमेहरूको लामो इतिहास छ । घन्टा बनाउनुअघि त्यसको ढाँचा तयार गरिन्छ अनि ईंट वा फलामको एउटा विशेष किसिमको ब्लक बनाइन्छ । त्यसै ब्लकमा पहिले भित्री अनि बाहिरी भागलाई बडो सावधानीपूर्वक ढालेर बनाइन्छ । घन्टा बनिसकेपछि सुर मिलाउनका लागि भित्री भागको केही अंश निकालिन्छ । यो काम पनि बडो सावधानीपूर्वक गरिन्छ । घन्टा बनाउने धातुबारे बिभिन्न मत भए तापनि चार खण्डमा तीन खण्ड तामा र एक खण्ड टिनको मिश्रित ढलोटबाट बनेको घन्टा सर्वश्रेष्ठ मानिन्छ । सुन, चाँदी र स्टिलको पनि घन्टा बन्छ । तर त्यति राम्रो हुँदैन । सुनको घन्टाको स्वर नरम र फितलो सुनिन्छ । अनि चाँदीको भन्दा फलामको घन्टा असल भन्ने प्रमाणित भैसकेको छ । अधिराज्यभरि उपत्यकामा जतिको सांस्कृतिक विकास अरू कहीँ पनि भएको छैन । फलस्वरूप बागीनाको एउटा सशक्त विधा ‘बाजा’ ले यहाँ निकै उन्नति गरेको प्रस्ट छ । यहाँ अनेक किसिमका बाजाहरू बने तर घन्टाजतिको अरू कुनै बनेन । हो, घन्टाको यहाँ खूब विकास भएको हो आफ्नै ढंगबाट तर त्यसको लेखाजोखा, संरक्षण र संवद्र्धनतिर भने उत्तिको ध्यान कसैको पनि गएको छजस्तो मलाई लाग्दैन । केही समयअघि नेपालको सबभन्दा ठूलो कहलिएको हनुमानढोकाको प्रसिद्ध घन्टा हेर्न गएको थिएँ एक दिन । अनि घन्टाको अवस्था र त्यहाँ उम्रेका घाँस–पातले गर्दा मन खिन्न भएर आयो ।
उता विश्वमा सबभन्दा ठूलो घन्टा ‘जार कोलोकोल’ लाई भने रूसी जनता र सरकारले खुब आदर गर्दछन् । यस घन्टाको लम्बाइ उन्नाइस फिट, गोलाइ साढे बाइस फिट र करिब १९३ टनको वजन छ । सन् १७३३ मा त्यो बनेको थियो । अनि सन् १७३७ मा क्रेमलिन राज–प्रासादमा एउटा भयङ्कर आगलागी भयो । आगलागीले ‘जार कोलोकोल’ लाई पनि छोयो । फलतः यसबाट एघार टनको टुक्रा धातु अलग्गियो र आज यसले अपाङ्गको जीवन व्यतीत गरिरहेको छ । भनिन्छ, मस्कोमै १२८ टनजतिको अर्को घन्टा छ जुन प्रयोगमा ल्वाइराखेका घन्टाहरूमध्ये संसारको सबभन्दा ठूलो हो ।
पश्चिमी मुुलुकहरूमा घन्टालाई सङ्गीतमा ढाल्ने काम पनि गर्छन् । विभिन्न आकार–प्रकारका घन्टाहरूलाई क्रमवद्ध पारेर अत्यन्तै मीठामीठा भाकाहरूको सिर्जना गर्छन् तिनीहरू । हामीहरूले घन्टाघर देखेका छौँ । त्यस्तै प्रकारको अथवा त्योभन्दा निकै ठूलठूला घन्टाघरहरूमा विभिन्न आकार–प्रकारका घन्टाहरू झुन्ड्याइएका हुन्छन् र विभिन्न स्वरमा मिलाएका हुन्छन् । चर्च वा त्यस्तै ठाउँहरूको माथि दलिनको छेउसम्म पुग्ने गरी झुन्ड्याइएका ती घन्टाहरूको क्लेपर (घन्टाभित्र रहेको मोटो डन्डा जसको आघात घन्टाको ओठमा हुँदा बज्छ) मा बाँधिएको सिक्री वा डोरी तानेर कुनै एक स्थानमा पु-याइएको हुन्छ । साधारणतः उक्त सिक्रीलाई तलबाट वादकले तानेपछि क्लेपरले घन्टाको ओठमा आघात गर्छ र बज्न थाल्छ । जुनजुन स्वरमा घन्टा मिलाएको हुन्छ त्यहीत्यही घन्टाको सिक्री तान्दा विभिन्न स्वरहरूको समन्वयबाट एउटा मीठो धुनको जन्म हुन्छ । यस प्रक्रियालाई उनीहरू ‘चाइम’ भन्छन् । चाइमजस्तै तर चाइमको परिस्कृत र विकसित रूपलाई ‘क्यारिलोन’ भन्छन् । क्यारिलोनमा विभिन्न किसिमका भाकाहरू बन्दछन् । क्रमवद्धरूपमा विभिन्न स्वरमा मिलाएको घन्टाहरूलाई सिक्रीद्वारा तल कुनै एउटा बाजामा जोडिएको हुन्छ । यो बाजा तपाईं–हामी सबैले देखेको पियानो वा अर्गेनजस्तै हुन्छ । पियानोको पर्दा थिच्दा जसरी स्वर निस्कन्छ, त्यस्तै क्यारिलोनको जुनजुन पर्दा थिचिन्छ, त्यही–त्यही स्वरमा मिलाइएका घन्टाहरू बज्न थाल्छन् । यसरी वादकको इच्छाअनुसार घन्टाहरूको अत्यन्तै राम्रा र मीठो भाकाहरूको सिर्जना हुन्छ । अझ प्रस्ट पार्नका लागि के भनौँ भने पियानोवादनको प्रक्रिया र क्यारिलोनको प्रक्रिया झन्डै एउटै जस्तो छ तर क्यारिलोन पियानोभन्दा बजाउनमा निकै कठिन मानिन्छ ।
चाइम र क्यारिलोनको विकास चौधौँ शताब्दीतिर भएको थियो । आज यो युरोप र अमेरिकामा निकै प्रभलित छ । सबभन्दा भव्य क्यारिलोन न्युयोर्कको रिभर साइड चर्चमा खडा छ । यसमा ७२ वटा घन्टाहरू छन् र सबभन्दा ठूलोचाँहि २० टनको छ । सम्पूर्ण घन्टाहरूको तौल करिब १०० टनजतिको छ । संसारमा सबभन्दा उच्च स्थानमा झुन्ड्याइएका घन्टा न्युयोर्कको मेट्रोपोलिटायन लाइफ इन्स्योरेन्स टावरमा छ । यो सात सय फिट माथि छ र २८ माइल टाढासम्म सुन्न सकिन्छ । हल्यान्ड, उत्तर जर्मनी र बेल्जियममा यो निकै लोकप्रिय छ ।
क्यारिलोन वा घन्टाका सङ्गीतकारहरूमा एल्जार, बाख, ह्यान्डल, मोजार्ट, ह्वाग्नर, लिस्ट, दबुसी, सिबेलिन्यस, रावेल र अरू धेरै भए । रूसी सङ्गीतकारहरूले यसलाई आफ्नो सङ्गीतमा निकै प्रयोग गरे । भारत बर्मा र अन्य कैयन् मुलुकहरूको सङ्गीतमा पनि घन्टाको प्रयोग भएको सुनिन्छ ।
अब हामीले पनि घन्टाको महत्त्व बुझी हाम्रो सङ्गीतमा यसको प्रयोग गर्नु नितान्त आवश्यक भैसकेको छ । घन्टा निर्माणको क्षेत्रमा अघि बढ्नुपरेको छ र त्यसको संरक्षण तथा संवद्र्धनको लागि सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने देखिन्छ । अनि घन्टाहरूलाई पूजाकोठा र मन्दिरमा मात्र सीमित नराखी रेकर्डमा समेत बजाउनु पर्यो- शान्ति र सह-अस्तित्वको सन्देश सुनाउन- हिमाल, उपत्यका र तराईभरि अनि विश्वभरि ।


(स्वरसम्राट नारायणगोपालद्वारा सम्पादित ‘बागीना’ मा यो लेख सर्वप्रथम प्रकाशित भएको थियो । यो लेखचाहिँ उनको निधनपछि स्थापित ‘नारायणगोपाल सङ्गीत कोष’ द्वारा प्रकाशित तथा नगेन्द्र थापाद्वारा सम्पादित ‘बागीना’ वर्ष– ७ अङ्क २३ बाट साभार गरिएको हो ।)