• २०८१ बैशाख १९ बुधबार

ज्योति साहित्य प्रतिष्ठानको २०० औँ कार्यक्रममा सम्मान र प्रशंसा–पत्र अर्पण

ललितपुर जिल्लाको गोदावरी नगरपालिकास्थित सुन्दर शान्त बज्रबाराही धार्मिक वनभित्र रहेको बज्रबाराही देवीको दर्शन गर्दै प्रमुख अतिथि विश्व कवि प्रा. तुलसी दिवस, शिखर कवि शैलेन्द्र साकार, गोदावरी नगरपालिकाका कार्यवाहक मेयर नीलबहादुर देसार, गजल माली ज्ञानुवाकर पौडेलका साथै माझी उत्थान संघका केन्द्रीय अध्यक्ष चिनीमाया माझीको समुपस्थितिमा एक कार्यक्रम सम्पन्न भयो ।

ज्योति साहित्य प्रतिष्ठानको उक्त २०० औँ कार्यक्रममा ज्योति साहित्य सम्मान र आजीवन सदस्यता प्रशंसा पत्र अर्पणका साथै विशिष्ट कविहरूद्वारा कविता वाचन कार्यक्रम पनि उत्साहजनक रूपमा सम्पन भयो । कार्यक्रममा नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै निम्न स्रष्टाहरू विधान आचार्य, विश्वविमोहन श्रेष्ठ, स्नेह सायमी, भीष्म उप्रेतीसहितलाई ज्योति साहित्य सम्मान अर्पण गरियो । त्यसै, समारोहमा समाजसेवा र साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै चिनीमाया माझीलाई ज्योति श्रष्टा सम्मान अर्पण गरियो ।

यसैक्रममा साहित्यकार बुद्धिमान महर्जन ललितपुर र लोचन रिजाल विराटनगरलाई ज्योति साहित्य अजीवन सदस्यता सम्मान पत्र अर्पण गरियो । उहाँहरूलाई प्रमुख अतिथि विश्व कवि तुलसी दिवसले संस्था लोगो अङ्कित पिन पनि लगाइदिनु भयो । गोदावरी नगरपालिकाको भव्य तथा आकर्षक भवननजिकै रहेको नेवारी खाजा तथा पाहुना घरमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा. तुलसी दिवसले बज्रबाराही वनको महत्त्वका साथै कविहरूले कविता लेखनका साथै वाचन पनि प्रभावकारी बनाउँदै लानेतर्फ जोड दिनुपर्छ भन्नु भयो । कार्यवाहक मेयर नीलबहादुर देसारले बज्रबाराही देवीको साक्षत् शक्ति र प्रभाव तथा वनको स्वच्छता बारेमा जानकारी दिनु हुँदै हाम्रो ठाउँमा आएर कार्यक्रम गर्नुभएकोमा प्रतिष्ठान र उपस्थित सबै साहित्यकारप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

गजल माली ज्ञानुवाकर पौडेलले सम्मानित सबै स्रष्टाहरू नेपाली साहित्यका जल्दाबल्दा र प्रतिनिधि कविहरू भएकाले ज्योति साहित्य प्रतिष्ठानले गरेको सम्मान स्तरीय र लोभलाग्दो भएको बताउनु भयो । शिखर कवि शैलेन्द्र साकार यस्तो पवित्र स्थानमा पहिलोपटक आउन पाइएको संस्थालाई धन्यवाद ज्ञापन गर्दै सम्मानित स्रष्टाहरूमा बधाई ज्ञापन गर्दै कविता वाचन गर्नुभयो । सम्मानित स्रष्टा चिनीमाया माझीले सामाजिक काममा लागेकी मलाई पनि प्रतिष्ठानले सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गर्नु हुँदै आगामी कार्यक्रमहरूमा पनि समयले साथ दिएमा सहभागी हुने इच्छा व्यक्त गर्नु भयो ।

कार्यक्रमको अर्को चरणमा सम्मानित कविहरू विश्वविमोहन श्रेष्ठ, विधान आचार्य, स्नेह सायमी, भीष्म उप्रेती र चिनीमाया माझीका साथै त्रिपूरा पौडेल, बुद्धिमान महर्जन, लोचन रिजाल, सुधा मिश्र, जुमन किरण, लक्ष्मीदास मुस्कान, रबिना रानामगरले कविता वाचन गरी कार्यक्रममा रौनकता थप्नु भयो । कार्यक्रमको सञ्चालन सुधा मिश्रले गरिन् । कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन भयो ।