• २०८२ भाद्र २८, शनिबार

असम्बोधित प्रेम

मुनाराज शेर्मा

मुनाराज शेर्मा

आलो रगतको गहिरो पोखरीमा चोबिएर झैँ
निर्मित जिउँदो कोपिलाको ओठमा
कुनै पूर्व इच्छित एकिकृत आँधीले स्वस्तिक छाप चोबेर गयो
म त्यै अजम्बरी फूलको सुगन्धित मुस्कानको दीर्घ प्रतिक्षामा थिएँ

बगैंचाबाट हरेक रङ लिएर फूलहरू टिपेँ
र, हरेक अफूलपातले सिंगारेँ
हरेक अपात डाँठले सिमान्तबाट सुरक्षादिएँ
हरेक टुसाहरू किनारबाट सजाएर छुट्टै नुतन फूलको श्रृष्टि गरेँ
जुनतिम्रो बिद्रोहि मुटुको रातो रङ्ग जस्तो मात्र थिएन
जुन मेरो चेतनाको उदाङ्गो उज्यालो जस्तो मात्रपनि थिएन
यो सुगमको बेलगाम सुखको चमक जस्तो मात्रपनि थिएन
यो त दुर्गमको चट्टानि दुःखको घनघोर अध्याँरोमा पनि टुसाएर चम्कने …
विश्वासको फूलको उत्साहको झिल्का जस्तो हुन सक्थ्यो
जे होस् यो नवीन र हार्दिक थियो
म यो मुटु निचोरेर तिमीलाई लाइभ समर्पण गर्न आतुर थिएँ

हजारौं बर्षदेखि ठिङ्ग उभिरहेको
घना रूखहरूको मध्यमा जङ्गलीमा हुरीको भुन्भुनाहट सुनेर,
रङ्गीन पुतलीहरूको काव्यिक उडान आँखाले टिपेर,
चराहरूको सुमधुर संगीतबीच आफैंलाई हराएर
कसैको प्रेममा निर्मित फलैँचाको शीखरमा तिमी बस्यौ सुस्तरी सुस्तरी
जसरी प्रेमीहृदयमा बस्छ गहिरो इनारमा पानी जस्तो
जसरी रङ फूलमा बस्छ माटोमा जीवन जस्तो
जसरी हावामा तिम्रो गन्ध बस्छ आँखामा नजर जस्तो
मैले त्यो फुङ तिमीलाई समर्पण गरेँ

तत्काल तिम्रो आँखा र ओठको भित्री केन्द्रिय सत्ताबाट
एउटा संघीय उज्यालो आयो र मेरो मनको वडा कार्यलयमा स्थायीबास गर्यो

हामी छेवैको आधीपानी भरीएको प्रदेश–१  तलाऊमा
चुपचाप डिलै डिल यात्रामा थियौंँ
विहङ्गम लाग्यो लिम्बुवानि दस्तावेजहरुको पहाड
व्यथाले जुर्मुराइरहेको थियो खम्बुवानि ईतिहास
कोचिला छेउछाउ बगिरह्यो सभ्यताको कोशी, पग्लिएर श्रमको सगरमाथा
मन हाम्रो छछल्किरहेको थियो प्रदेश सात सम्मै
पानी बन्सोको घारी भित्रपानी हाँसहरू क्रिडारत थिए
जो लामो साहसिक विश्व उडान भरेर हाम्रो प्रेम उत्सवमा सहभागी थिए
जसले जीवनको रुझान र अस्तित्वको अनवरत संघर्ष
हामीलाई उपहार सुम्पेका थिए
तिमीले त्यो नविन फूललाई चुम्यौ गहिरोसँग
परिसरको स्थानिकहावालाई सँुघ्यौ मनको पिँधसम्म
र, रोप्यौ पोखरीको प्रत्येक कुनामा समानुपातिक चिन्तन

त्यो आँधीपछि हलचल छ पोखरीमा
त्यो चुम्बन पछि तरङ्ग छ पोखरीमा
त्यो विकेिन्द्रत आलिङ्गन पछि माटोको अनुभूति छ पोखरीमा

हामीले मनलाई त्यै सातदह माथि बन्ने इन्द्रेणी पुल बनाएर हिँडिरह्यौंँ
आज प्रकृतिको अदेखा अजीवदुर्लभ रङ्गदेखि कमसल रङ्गहरूले समेत रङ्गयाएर
त्यो इन्द्रेणीलाई पुनःनिर्माण गर्यौंँ र बहुइन्द्रेणी बनायौं

हाम्रो इतिहासलाई सम्मान हुने गरी
हाम्रो अस्तित्वलाई सम्बोधन हुने गरि
हाम्रो वर्तमानलाई उर्वर बनाउँने गरी

हामी यात्रारत थियौं
एउटा अन्त्यहिन यात्रामा
मनका सडकहरू हाम्रो बिचार गुडाउन
दश लेन फराकिलो चिल्लो र अत्यन्त सफाथिए
प्रेमको नदीबाट उम्रेको उज्यालोले सारा मन पनिथियो उज्यालो
मानिसहरूमा थियो त अथाह जोस उमङ्गजो अद्भूत लाग्थ्यो
आज सडकहरू नटुङ्गियोस् लागिरह्यो
आज सम्वादहरू नरोकियोस लागिह्यो
आज स्पर्शहरू नटुटोस्लागिरहयो
एउटा सम्बोधन हुन बाँकी हाम्रो प्रेमको


मुनाराज शेर्मा, झापा
[email protected]