समाचार

यहाँ सेतोलाई कालो र कालोलाई सेतो भन्नेहरू चम्किने रहेछन्
यहाँ चाकडी, चुक्ली र चाप्लुसी गर्नेहरू लम्किने रहेछन्
जस्तो मादल बज्छ त्यस्तै तालमा नाच्न जान्नुपर्ने रहेछ
सोझो औँलाले घिउ आउँदैनू, सानैदेखि सुनेकै हो
तर घिउको सिङमाङै बुत्याइदिनेहरूको भीडमा
त्यो मौका पनि नआउने भएपछि
आफै जिल्लिनु पर्ने रहेछ
मान्छे बेचेर खानेहरूको शहरमा
मान्छे भएर बाँच्न गाह्रो रहेछ ।
पहाडमा घर-गोठ रित्तो पारेर
र खेतबारी बाँझै छोडेर
नक्कली वासमती चामलको भात खाने रहरले
शहर पसेको हो वीरमान नेपाली
अफसोस, त्यही शहरले
उसको सारा सपना चकनाचुर पारिदिएपछि
त्यही शहरले
उसको नैतिकता र इमानदारी लिलाम गरिदिएपछि
बेस्सरी तिल्मिलायो वीरमान नेपाली ।
र, प्रजातन्त्र दिवसको दिन
उसको सपना चोर्नेहरूलाई खोज्दै
उसको वर्तमानलाई क्षतविक्षत पार्नेहरूलाई खोज्दै
उसको भविष्य अपहरण गर्नेहरूलाई खोज्दै
सडकमा हिँडिरहेको बेला
वीरमान नेपालीले
सडकको एउटा किनारामा
अकस्मात् देख्यो
हातमा तरबार लिएर घोडामाथि चढिरहेको
जङ्गबहादुरको सालिक ।
तब उसलाई सम्झना आयो
आफ्ना बाजे र बाबुले
उसलाई सुनाएका
जङ्गबहादुरको कथा !
शहरमा जङ्गबहादुरको सालिक देखेपछि
वीरमान नेपालीको मनमा एउटा प्रश्न उठ्यो
जङ्गबहादुरको हातको तरबारमा
अहिले पनि धार होला कि नहोला ?
दिव्य गिरी