कविता
काठमाडौं ।
झपट पुरस्कार व्यवस्था समितिले विभिन्न विधामा क्रियाशील चारजनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले पुरस्कारको निर्णय गर्दै साहित्यकार सनत रेग्मी र गीतकार राजेन्द्र थापालाई जनही एक/एक लाख रुपैयाँ नगद राशिसहितको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
त्यस्तै डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने पनि विज्ञप्तिमा जनाइएको छ । नेपाली आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई ‘झपट पुरस्कार २०८२’ प्रदान गरिन लागिएको हो । त्यस्तै, नेपाली भाषालाई जनप्रिय बनाउन उद्यत गीतकार राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने जानकारी गराइएको छ ।
नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
इन्दिरा प्रसाईंको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पुरस्कृत स्रष्टाहरूको नाम सिफारिस गरेको पुरस्कार व्यवस्था समितिका सदस्यसचिव रेखा राणाद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
