समाचार

तिमी राजधानीमा मेलका कुरा गर्दैछौ
हामी यता पहिरो र भेलका कुरा गर्दैछौँ
उता सदरमुकाममा घडेरी थप्ने कुरा गर्दैगर्दा
यता हामी आफ्नू घडेरी बगेको हेर्दैछौँ ।
यता वर्ष दिनको मेहेनत-
आँखै अगाडि खरानी भयो
लालबाला हुर्काउने सपना
बाढी र पहिरोमा बगेर गयो
उता तिमीले बालुवाटार र सिंहदरबारमा
षड्यन्त्रका तानावाना बुन्दैगर्दा
हामी यता-
रित्तो पेट र त्रिपालमुनि आँसु बगाउँदै छौँ
तिमीले सिंगापुर र दिल्लीमा
उपचार गराउँदै गरेको सुन्दा
हामी यता-
सिटामोल र जीवनजलसँग लड्दै छौँ
उता तिम्रा लागि लाग्ने जुलुसका मान्छेलाई
यता राहत बाँड्न पठाइदिए हुन्थ्यो
तिम्रा घाँटीमा झुन्डिने
विशाल मालाको खर्चले
चिउरा र मुरै किनेर यता
पठाइदिए पनि हुन्थ्यो
मिल्छ भने-
हामीलाई पनि कोरोनाको सुई
पठाइदिनू
केही थान भेन्टिलेटर र अक्सिजन पनि पठाइदिनू
सहमति हुन्छ भने-
हेलिकप्टर चार्टर गरेर
कात्रोलाई केही थान कपडा
पठाइदिनू
तिमी यता आरहनु पर्दैन
उता सत्ताका खेलमा झेल गरिरहनू
यता हामी मृत्यु र सकसको खेल भोगिरहौँला
तिमी कुर्सी जोगाउने चाँजोपाँजोमा
व्यस्त रहनू
हामी यता मलामीको जोहो आफैँ गरौँला ।
गोपालकुमार मैनाली चर्चित साहित्यकार हुन्
[email protected]