• २०८१ बैशाख ८ शनिवार

क्वारेन्टिनमा दशैं

गणेश खड्का

गणेश खड्का

दशैं ऊ बेला
दश गाउँ थर्काएर आउँथ्यो
बाटाघाटा र घरगाउँ सिंगारेर आउँथ्यो
बेहुली बन्थे बस्तीहरु
दशैंमा घर आउँन पाउने–नपाउने
परदेशीको निधो
बर्खा नलाग्दै थाहा हुन्थ्यो
दशैं त्योबेला खुलेर आउँथ्यो
दशैं योबेला लुकेर आउँछ

दशैं वर्षदिनपछी एकफेर छेउमै आउँछ
र, भोका पेटहरुलाई हाउगुजी देखाएर
नाङ्गा आङहरुलाई काउकुती लाएर
संस्कृतिको उधारो तमसुक गरिदिन्छ
अनि, सुइकुच्चा ठोक्छ एक वर्षको बाटोमा

दशैंका पूर्वसन्ध्याहरु
कहिले भुइँचालोले खर्लप्पै खाईदिन्छ
कहिले बाढीपहिरोले सर्लक्कै निलिदिन्छ
तब, धड्किन्छन् निर्धा मुटुहरु
अधिकतम रेक्टरस्केल भन्दा अधिक
घर लिपपोत गर्ने र बाटाघाटा सिंगार्ने उमङ्गहरु
दशैं आउनुपूर्व नै शोकाकुल बन्छन्
भवितव्यमा दिवंगत आफन्त मनहरुको क्षतिमा

दशैँ, पहिले सार्वजनिक थियो
दशैं, अहिले एकान्तबासमा छ
पहिलोचोटि पर सरेकी
छाउपडी युवतीजस्तो
कोहि नजानू दशैंको छेउमा
दशैंलाई कोरोना लागेकोछ
दशैं क्वारेन्टिनमा छ

यसपाली दशैं किन्न
हाटबजार नधाउनू
मिठो खाना र नयाँ नाना लिन
सुपरमार्केट नजानू
परदेशीको सन्देश पनि परैबाट पढ्नू
पाहुनालाई दुर्गा भवानीको कथा होइन
डब्लुएचओको हेल्थ नोटिस सुनाउनू

समय यतिबेला
आफ्नो हत्या आफैं गरेर
आफ्नो क्रियापुत्री पनि
आफैं बसेकोछ
मान्छे आफ्नो युद्दशिकारको
बरखी आफैं बार्दैछ
क्रुर समयको कैदी बनेर दशैं पनि
कठोर क्वारेन्टिनमा बसेको बेला
मान्न त मान्नु
परम्पराको पहाड दशैं
तर खसीले होइन, खुशीले
रहर होइन, यो कहर दशैं


इटहरी ४ सुनसरी, नेपाल, हाल: फ्रिगेट आइल्याण्ड, सेसेल्स
[email protected]