• २०८१ श्रावाण ११ शुक्रबार

पिञ्जडाको सुगा

लेखनाथ पौड्याल

लेखनाथ पौड्याल

बालका बाबुरो द्विज शुकनाम
हुँ म परेको छू पिञ्जडामा ।
मकन हरे ! शिव शान्ति र चैन
सपना बीच पनि रत्ती भर छैन ।।

मेरा बान्धव बाबु र आमा
बस्छन् वनका एक कुनामा ।
कोसित पोखूँ मनको ताप
गर्दै पिञ्जडाबाट विलाप ।।

आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दातुल्य म हुन्छु ।
कहिले पागलसरि उफ्रन्छु
केवल वनको सुख सम्झन्छु ।।

फलफूल खाई नित्य रमाई
वनमा फिर्ने बबुरोलाई ।
विधिले पार्यो पिञ्जडाभित्र
कर्म हरे ! शिव ! हुन्छ विचित्र ।।

कति फिर्दोहूँ कति उड्दोहूँ
कति देशान्तर डुल्दो हूँ ।
दैव ! हरे ! किन बालकलाई
बन्धन पार्यौ व्यर्थ मलाई ।।

शीतल पानी कुञ्जनिवास
भोजन मीठो फलको खास ।
त्यो सब हुन गो आज विनाश
बाँकि छ एकै मनको त्रास ।।

हरियो वनको शीतल छाया
बान्धवसँगको मोह र माया ।
खेल्नू, डुल्नु फलफूल खाई
सपनामय भो हाय ! मलाई ।।

वृद्ध महातुर बाबा जननी
आँसु खसाली दीन बनी ।
नित्य बस्दा हुन् हाय ! विधाता
तोडिदियौ किन यो दृड नाता ।।

वरिपरि वैरीहरू छन् सारा
छैन कतैतिर कोही सहारा ।
के गरूँ कसरी उम्की म जाऊँ
कोसित मनको दर्द बिसाऊँ ? ।।

पिञ्जडा फोडूँ भनीकन चुच्चो
बलसँग धस्दा भो सब बुच्चो ।
बेसरी कुँजिए पक्ष्य र पाउ
कसरी आहा ! काल बिताउँ ।।

यो कस्तो हो कसरी आयो
बसीकन पिञ्जडाबीच के खायो ।
यो सब बुझ्ने कोही छैन
हाय ! त्यसैले मन रहँदैन ।।

सुख्खा छ घाँटी बन्धन चर्को
बोल्नै पर्ने झर्को अर्को ।
बोलेन भने लाठी उजाई
आउँछ अर्को पिट्नलाई ।।

यौटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी ।
भन्दछ तेस्रो आत्माराम
पढो पढो जी राखो नाम ।।

गुणको बैरी मानुष जाति
शुष्क गराई गुणीका छाती ।
प्राण पखेरु नलिएसम्म
खुस किन हुन्थ्यो हाय अचम्म ।।

पृथ्वी तलमा एउटासम्म
मानिस बाँकी रहँदासम्म ।
तुच्छ सुगाको जन्म नदेऊ
दिन दयालु बिन्ती लेऊ ।।