• २०८१ असोज २४ बिहीबार

बालवाङ्मय सम्मान र पुरस्कार प्रदान

काठमाडौं ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरलाई ‘साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान’ र सुश्री अनुज्ञा नेपाललाई ‘राकुपा वालवाङ्मय बालप्रतिभा पुरस्कार’ प्रदान गरियो । प्रमुख अतिथि के के कर्माचार्यले सम्मानपत्र प्रदान गर्नुभएको थियो । साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान अन्तर्गत रू. २५ हजार र ‘राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार’अन्तर्गत रू. १० हजार रहेको छ ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले उपयुक्त व्यक्तिको चयनले पुरस्कार आफैं सम्मानित भएको बताउनु भयो । उहाँले बालवाङ्मय तथा अनुसन्धान केन्द्रले पुरानो र नयाँ दुवै पुस्तालाई पुरस्कृत गरेर उदाहरणीय काम गरेको धारणा राख्नुभयो । सम्मानित स्रष्टा शान्तदास मानन्धरले नयाँ पुस्तामा अत्यधिक विदेश मोह देखिनुमा अभिभावकहरूकै कमजोरी रहेको बताउँदै यो अत्यन्त डरलाग्दो प्रवृत्ति हो भन्नुभयो ।

वरिष्ठ साहित्यकार रामकुमार पाँडेले नयाँ पुस्तामा संस्कार, संस्कृति, भाषा र साहित्य प्रेम बढाउने कार्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरेको बताउनुभयो । अध्यक्षको आसनबाट केन्द्रका अध्यक्ष प्रमोद प्रधानले अग्रज पुस्तालाई सम्मान, समकालीन पुस्तासँग सहयात्रा र आउने पुस्तालाई प्रोत्साहन नै संस्थाको उद्देश्य भएको उल्लेख गर्नुभयो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले सम्मानित र पुरस्कृत स्रष्टालाई बधाई दिदै केन्द्रले महत्त्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्नुभयो ।

सो अवसरमा केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत भाषण, कोषाध्यक्ष शान्ति सापकोटाले सम्मानित र पुरस्कृत व्यक्तिहरूको योगदानको चर्चा र सदस्य नेत्र तामाङले धन्यवाद भाषण गर्नुभएको थियो । साहित्य सृष्टि बालवाङ्मय साधना सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू ५ लाखको अक्षयकोष राखिदिनु भएकोछ । यस्तै ‘राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कार’का लागि वरिष्ठ साहित्यकार रामकुमार पाँडेले रू २ लाख ११ हजार १११ को अक्षयकोष राखिदिनु भएको छ । दुवै पुरस्कार पहिलोपटक वितरण गरिएको हो ।