• २०८१ मंसिर २८ शुक्रबार

मिमबहादुर परियारको ‘कर्नाली हाँस्दो छ’ कवितासंग्रह लोकार्पण

काठमाडौँ ।

कवि मिमबहादुर परियारको पहिलो कवितासंग्रह कर्णाली हाँस्दो छु सार्वजनिक गरिएको छ । सातै प्रदेशका जनप्रतिनिधिको उपस्थितिमा सबै सहभागी जनप्रतिनिधि नागरिक अगुवा, अभियानताले एकै साथ पुस्तक उठाएर साझा रुपमा विमोचन गरिएको छ । समता फाउन्डेसनको प्रकाशन समता बुक्सले कवितासंग्रह प्रकाशन गरेको हो । कवितासंग्रह भित्र ३५ प्रगतिशील धारका कविता समावेश गरिएको छ ।

कवि परियारका अनुसार कर्णाली हाँस्दो छु दलितको आवाज हो, कर्णालीको आवाज हो र विद्रोहीको आवाज हो । समग्रमा कर्नाली हाँस्दो छ, दलित आन्दोलनको एक हिस्सा पनि हो । कवितासंग्रहको शिर्ष कविताकै नामबाट संग्रहको नामकरण गरिएको छ । यस संग्रहभित्र जातीय छुवाछूत विरुद्ध लेखिएका कविता अधिकांश छन् भने केही कविता कर्णालीका पीडा सम्भावना र कालापहाड ,वैदेशिक रोजगारीका दुखलाई चित्रण गरिएको छ । केही कविताले कम्युनिस्ट आन्दोलनको विचलित पक्षलाई उजागर गरेको छ । केही कविताले पृतिसत्तामाथि धावा बोलेको छ ।

प्रस्तुत संग्रहमा समावेश कविताहरु रुकुम नरसंहार पछि लेखिएका हुन् । धेरै कविताहरुमा आक्रोश झल्किएको छ, पीडा पोखिएको छ । त्यसको साथसाथै चेतना , चेतावनीको सन्देश बोकेका छन् । कर्णाली हाँस्दो छ प्रेमिल भाव बोकेको कविता होईन । यसमा प्रकृति प्रेमको वर्णनन् पनि छैन । यसमा छन् त केवल दलितका पीडा,सपना, रहर र सामाजिक रुपान्तरणको मोह छ । कर्णाली हाँस्दो छुका कविताहरु विभिन्न जातीय छुवाछूतका घटनाक्रममा लेखिएका हुन् । जस्तैः जातको आधारमा जब दीपा नेपाली, रुपा सुनारहरु भाडाका कोठाबाट निकालिन्छन् । तब देशमा जातवादीहरु ‘तिमी कोटा छोड हामी कोठा दिन्छौं’ भन्दै कोटा र कोठाको बहस चलिरहँदा, आरक्षण, खाली कोठा, लेखिएको हो ।

त्यस्तै नवराज विकको हत्याकाण्ड पछि आजको समाचार लेखिएको हो । फर्जी तमसुक र मिटर ब्याजिको समस्या समाजमा चलिरहँदा कालसिंह दमाईको तमसुक लेखिएको हो । प्रत्येक कविताका आफ्नै कथाव्यथा रहेको छ तर उदेश्य भने साझा छ । सामाजिक रुपान्तरणको सपना छ, रहर छ र विभेद रहित नेपालको चाहाना छ ।