• २०८१ असोज २९ मङ्गलबार

वृत्तमा घुमेको जीवन

दुलुमणिदेवी उपाध्याय

दुलुमणिदेवी उपाध्याय

वृत्त आकृतिको जीवनमा
समयको तरङ्गले घुमाएर
रथको पाङ्ग्राझैँ फनफनी घुम्दै
तल, माथि, किनारा र माझ हुँदै
हजारौँ घटनाका स्रोत
परिवर्तनका अल्गा-होचा
उकाला-भिराला बाटा अनि
जन्म-मृत्युका वारिपारिका
ती घाटाहरू
अपेक्षाका सिमानामा
कैयौँ सपनाहरू मुटुभित्र
बन्धी भएर रगतको स्रोतमा
निथ्रुक्कै भिजेर बसेका छन्
यसरी नै रथको पाङ्ग्रा
घुम्दाघुम्दै चट्ट फुस्किएला एक दिन
स्थवीर हुनेछ सपना सबै,
यो वृत्तमा घुमेको जीवन ।


दुलुमणिदेवी उपाध्याय (ओदालगढी, असम, भारत)
[email protected]