• २०८१ फागुन ३ शनिवार

संस्कार

गीताश्री शर्मा

गीताश्री शर्मा

गान्तोकको एमजी मार्ग सिक्किमको मुटु हो । अझ झम झम पानी परेर रोकिएको हुँदा मैलो पखालिएर भुईँमा ओछ्याइएका टायलहरू टलक्क टल्किरहेका थिए । फेरि पानी पर्ला कि भन्ने आशङ्कामा दीक्षा आकाशतिर हेर्दै दवाई दोकानतिर जाँदै थिइन् । पतिको दैनिक खाने दवाई, आफ्नो पनि रक्तचापको दवाई अनि बजार आएका बेला अरू पनि धेरै काम हुन्छन्, मनमनै सोच्दै अघाडि बढिरहेकी थिइन, अचानक पछाडिबाट आएको आवाज उनका कानमा थुरिन्छ, ‘मेम ! पछाडि राम्रोसित फर्केर हेर्न पनि पाएकी थिइनन् कुदेर आएर अर्पणाले दीक्षालाई घ्याप्पै अँगालो हालिन् । दीक्षालाई अचम्म लाग्यो, आज अर्पणालाई के भयो ? केहीबेरपछि दीक्षाले अँगालोबाट उनलाई अलग गर्दै भनिन् ‘अर्पणा, आज तिमीलाई के भयो, तिमी ठीक त छौ ?’

अर्पणाले टाउको मात्र हल्लाएर ठीक छु भन्ने शङ्केत दिइन् तर उनको बोली भक्कानिएको थियो राम्रो बोल्न सकिनन् । दीक्षाले आफ्नो हातको घडी हेरिन दुई बज्नै लागेको रहेछ, ‘अर्पणा तिमी नानी लिन हिँडेकी हौ ?
‘हजुर मेम’ मुस्किलले अर्पणाको कतिदिनदेखि भित्र गुम्सिएको आवाज निस्कियो । अनि लामो सास फेरेर भनिन् ‘ मेम म बिमार पो छु त’
के भयो ? दीक्षाले सोधिन् ।
अर्पणाले हाँसेर भनिन् ‘केन्सर’
‘थट लाटी रेला गर्ने पनि हद हुन्छ, यस्तो पनि रेला गर्ने हो ? दीक्षाले गाली गरिन् ।
‘होइन मेम साँचै हो’ ।
यो कुराले दीक्षाका शरीरभरि काँडा उम्रिए, मुटु हल्लिएको आभास भयो, खुट्टा थरर कामे । एकैक्षण मौन बसिन् अनि लामो सास फेरिन् र अर्पणालाई अँगालोमा कसिन अनि निकै बेर ढाड सुम्सुम्याएपछि विस्तारै सोधिन् । कस्तो केन्सर, कुन स्टेजमा छ, डाक्टरहरूले के भन्दैछन् ?
‘दोस्रो स्टेज मेम, ब्रेस्ट केन्सर ।’ उत्तर सुनेर दीक्षा अवाक परिन् । फेरि अर्पणलाई समाइन, अँगालो हालिन् अनि ढाडमा ढाडस दिँदै भनिन् यस्तो अवस्थामा पनि कति स्ट्रङ्ग छौ तिमी ! जब कसैलाई केही आपत आइपर्छ नि, निवारण पनि सँगसँगै हुन्छ । तिमी ठीक हुन्छौ । नसुर्ताऊ । अनि फेरि यस्तो विरामी मान्छे कहाँ हिँडेकी त ? नानी लिन ज्वाइँलाई पठाएको भए पनि हुने । दुवैका आँखा भिजिसकेका थिए । आँखा पुछ्दै दीक्षाले भनिन् ।
‘होइन मेम, घरमा बस्दा अनेक सोचाइ आउँछ, दिक्क लाग्छ अनि म त किमो गरेको दिन चाहिँ आराम गर्छु अनि अरु दिन चाहिँ सधैँ जस्तै सामान्य काम गर्छु । अर्पणाले भनिन् ।

अर्पणाको हिम्मत देखेर दीक्षा छक्क परेर सोधिन् ? ‘कति वटा भयो किमो ? ‘चार वटा भयो’ अब चारवटा छ, त्यो सकेर चाहिँ अपरेसन गर्न भेलोर जाने भनेको तर मलाई नानी छोडेर जान मन छैन मेम । ‘तिमीले नानीको निम्ति पनि नानी छोड्नैपर्छ, बरू अहिलेदेखि नै नानीलाई दिदी अथवा आमाका घरतिर छोड्दै गर, बानी लाउनुपर्छ । ‘हजुर मेम बानी गर्दैछु तर मलाई साह्रै डर लाग्छ । पछि के हुन्छ के ! ऐले नै पर्याप्त समय नानीसँग बिताउँ जस्तै हुन्छु । अर्पणाले एकै सासमा भनिन् । ‘हैन अर्पणा तिमी सकारात्मक थियौ, छौ र रहने छौ । तिमी बिमार छु भनेर सोच्दै नसोच’ कर्तव्य गर, सकारात्मक उर्जा शरीरमा भर । जीवन लामो छ, मानिस यस पृथ्वीमा केही गर्नुपर्छ भनेर आएका हुन्छन्, तिमीले पनि अझ धेरै काम गर्न बाँकी छ, बुझ्यौ ? यो छोरी गर्भमा आउन अघि तिमी कति छट्पटाएकी थियौ, थाहा छ ? यो कुरा नभुली सकारात्मक बस । अब तिमीले यो छोरीको निम्ति, परिवारका निम्ति अनि समाज र देशका निम्ति पनि बाँच्नुपर्छ ?

अर्पणाले गहभरि आँसु पारेर मुन्टो हल्लाइन् । निकै बेर एमजी मार्गको बेञ्चमा बसेर कुरा गरिसकेपछि अर्पणा छोरीको छुट्टि हुन लाग्यो भनेर स्कूलतर्फ जान लाग्दा दीक्षाले भनिन, ‘भेलोर जानुअघि मलाई भेट है’ । अर्पणाले पनि गहभरि आँसु पारेर भनिन् ‘हुन्छ मेम, साँच्ची बहिनीहरू कता छन् नि ? बिहेमा चैँ बोलाउनु होला है मेम । दुवैका गला अवरुद्ध थिए, आँखाका डिलमा टिलपिल भएका आँसु पुछ्दै अर्पणा छोरीको विद्यालय तर्फ लागिन् । दीक्षाले भने मुन्टो मात्र हल्लाइन् र बेन्चमा थुचुक्क बसेर लामो सास फेरेर परसम्म अर्पणालाई हेर्दै कल्पना गरिन, कति हिम्मती केटी’ पानीको थोप्ला निधारमा आउँदा झसङ्ग भएर झस्किएर दवाई दोकानतर्फ लागिन् ।

अर्पणालाई भेटेर छुट्टिएपछि दीक्षाको मनमा अर्पणा मात्र थिइन, । दीक्षा एउटी साधारण घरकी छोरी र बुहारी भएर पनि उनको कमजोरी भनेको अरूको दुःखमा छिटो मुछिनु हो । अरूको दुःख आफ्नै मान्छिन् । घरपरिवार, आफन्त, इष्टमित्र नानीहरूको हेरचाह र सामाजिक सेवाबाट समय उबारेर पनि उनी आफ्नै पुस्तक पसलमा धेरथोर समय बिताउँन रमाउँछिन् ।

दिनेश र दीक्षाको पनि आफ्नै सानो संसार छ, सम्पत्तिका नाममा एउटा पुस्तक पसल अनि दुइ छोरीहरू छन् । छोरीहरू शिक्षार्जन गर्न घर बाहिर गएपछि दीक्षाले नानीहरूलाई दिने समय दोकानमा दिन थालेको थिइन् ।कतिपय प्रेसको काम, प्रकाशन, व्यापार व्यवसायको कामले गर्दा बाहिरतिर जानु पर्दा दोकानमा एकजना स्टाफ चाहिन्छ भनेर खोजी गर्दा एक दिन अर्पणा काम खोज्दै पसलमा आएकी उनलाई झलझली याद आयो ।

हँसिलो मुहार, रसिलो बोली, साधारण पहिरन अनि लामो केश सर्लक्क कोरेर बाटेकी, कामको खोजी गर्दै ग्राहक बनेर दोकानमा आएकी थिइन् अर्पणा, पुस्तकहरू देखाउँदै उनको सरल व्यवहार र बोलिचाली देखेर हो या मन जितेर नै दीक्षाले आफूलाई दोकानमा स्टाफ चाहिएको छ, बहिनीको नजरमा कोही छ भने यसो भनिदिनुहोला भनेर अर्पणालाई कुरा राखेकी थिइन् । अर्पणालाई पनि ढुङ्गा खोज्दा देउता भेटेजस्तो आफू पनि घरमा बस्दा बस्दा वाक्क भएर यसो सानोतिनो काम पाएकाखण्डमा गर्ने मन बनाएर नै निस्केकी बताइन् अनि दीक्षालाई दोकानमा बस्ने स्टाफ पनि चाहिएको हुँदा अर्पणाले आफू नै दोकानमा मिल्यो भने बसेर काम गर्न रुचाएकी थिइन् ।

‘म गर्छु नि मेम । मलाई पुस्तक पढ्न पनि खूब मन पर्छ, किताब दोकानमा बसेपछि पढ्न पनि पाइन्छ अनि अलिक कम्प्युटर पनि चलाउँछु, मलाई नै राख्नुहोस् न’
दीक्षाले सीधै सोधेकी थिइन, बहिनी मेरिड कि अनमेरिड ?
मेरिड’ अर्पणाले छोटो जवाफ दिइन् ।
‘नानीहरू छन् कि छैनन् ? ज्वाइँ के गर्नुहुन्छ ?
दीक्षाले साधारण परिचय सोधेकी थिइन् ।
खै मेम, प्लान त छ, भएको छैन । हेरौँ न होला त ।
भोलिदेखि नै काममा आउने वचनबद्धता जाहेर गरेर हिँडिन् अर्पणा । नभन्दै भोलिपल्ट बिहान दशबजी नै आफ्नो साधारण पहिरनमा दोकानमा आएर आफूले गर्नुपर्ने काममा लागेकी थिइन् । दोकान सधैँ चिटिक्क पारेर राख्थिन्, विषय विषका किताबहरू खोज्न सजिलो होस् भनेर कम्प्युटरबाट समय निकालेर पनि मिलाएर राख्दथिन् । केही दिनमा नै सबैको मन जित्न सफल भइन् अर्पणा । दोकानमा विद्वान् साहित्यकार, लेखक, कवि लगायत विद्यार्थीहरू र पाठकहरूको घुइँचो लाग्दथ्यो, कहिले कहीँ त साहित्यिक गोष्ठी नै हुने गर्दथ्यो, अर्पणा कुनै अप्ठ्यारो नमानी सबैलाई चिया-पानीको व्यवस्था मिलाउँथिन् । सबैकी हाइहाइ भइन् ।

दीक्षासँग व्यापारिक, व्यवहारिक, सामाजिक, पारिवारिक अनुभव थियो, अर्पणासँग युवा जोश र जाँगर । दिनहरू बित्न समय लाग्दैन, दीक्षाले अप्ठ्यारो नमानी नानीहुने प्लानका निम्ति उपायहरू बताउँथिन, सुख–दुस्खका कुरा हुन्थे, उनी एक आमा हुन् उनलाई राम्रो थाहा छ समाजमा एउटी नारीको कोख रित्तो हुँदा कतिसम्म पराइहरू रमाउँछन्, खिल्ली उडाउँछन् अनि बाटोमा पनि व्यङ्ग्य कस्छन् अनि साँच्चै भन्नु हो भने घपरिवारमै पनि कटाक्ष हुन्छ ।
शनैस् शनैस् समय आफ्नो रफ्तारमा हिँडिरहेको छ, समय बितेको कसैलाई पत्ता हुँदैन, एक दिन अचानक अर्पणाले आफू कमजोरी महशुश भएको कुरा गरिन् । दुई चारदिनपछि फेरि अर्पणाले लजाउँदै आफू गर्भवती भएको खबर दीक्षालाई सुनाइन् । दीक्षाले खुशी हुँदै भनिन्, अब त्यो पेटमा भएको नानीको नाममा पाइक परेको ठाउँमा एउटा बिरुवा रोप्नू, भनेर सल्लाह दिइन् । जसै जसै अर्पणाको पेटमा नानी बढ्दै गयो, दीक्षाले नै अब ड्युटीमा न आउनू, अलिक आराम पनि चाहिन्छ, समय समयमा डाक्टरको परामर्श लिन अस्पताल जानुपर्छ भनेर छुट्टी दिइन् ।

केही महीनापछि अर्पणाको छोरी जन्मेको कुरा उनका श्रीमानले दीक्षालाई फोनबाट दिए । झोलाभरि पौष्टिक खानेकुरा, नानीलाई चाहिने तातो कपडा बोकेर दीक्षा एसटीएनएम अस्पताल पुगिन् । नानीलाई दूध खुवाउँदै अर्पणा अस्पतालको बेडमा सुतिरहेकी थिइन्, दीक्षाले आमा-छोरीलाई बधाई दिँदै उनको श्रीमानको हातमा दुइ महिनाको बेतन हातमा राखेर दीक्षा फर्किन् ।दीक्षा र अर्पणा एक स्टाफ र मालिकजस्तो नभएर दिदी-बहिनी अथवा अत्यन्त मिल्ने साथीसँगीजस्ता थिए, आफ्ना मनमा भएका यावत दुःख-सुखका कुरा बाँड्दथे । एमजीमार्गको भेटपछि दीक्षा र अर्पणाको फोन वार्ता फेरि बाक्लियो । एक एर्कालाई पालै पालो सम्झन्थे । दीक्षा मनकी धनी, अर्पणा बिरामी भनेर सुनेपछि उनलाई सान्त्वना दिन फोन गरिरहन्थिन् । एक दिन छोरी दृष्टिले वेष्ट स्टुडेन्टको एवार्ड पाएको खबर सुनाउन अर्पणाले फोन गरिन् ।

‘के विषयमा छोरीले एवार्ड पाएकी ? दीक्षाले अर्पणालाई सोधिन् । ‘मेम तपाईँले भन्नुभएको कुराको असर हुनपर्छ, दृष्टि गर्भमा हुँदा रोपेको विरुवासित  भेटघाट गराएपछि दृष्टिले विरूवासित मित्रता गाँसेकी छ । अनि जे पनि भन्नु छ ती विरुवालाई नभनी हुँदैन । अस्ति उसको जन्मदिनका दिन विद्यालयमा मिठाई अथवा अन्य सौगात नलगेर फलका बिरुवाहरू लिएर गइन्, उनको सानै उमेरदेखिको पर्यावरणीय सोच र विचारधारालाई सम्मान गरेर हुनसक्छ स्कूलले उनलाई वेस्ट स्टुडेण्टको सम्मान दिएको थियो ।
‘ल बधाई छ अर्पणा तिमीलाई अनि तिम्रो संस्कारलाई ।’ दीक्षाले अर्पणा र छोरी दृष्टिलाई बधाई दिइन् ।
‘यो गुण त हजुरबाट आएको मेम’ म हजुरको पसलमा जानु, हजुरलाई भेट्नु, काम पाउनु, सकारात्मक सुझाव पाउनु, छोरी पेटमा आउनु, रुख रोप्ने उपाय हजुरले सिकाउनु, अनि नानीको पर्यावरणपट्टिको मोह बढ्नु, यो तपाईँको अनुदान हो । यसैले म तपाईँलाई एउटा योग्य आमा र असल शिक्षिका समान मान्छु मेम ।
‘अर्पणा तिमीले मलाई अलिक बेसी उपाधि र अलङ्कारले छोपेनौ र ? दीक्षाले व्यङ्ग्य कसिन् ।’
आजकल मेम कता हुनुहुन्छ ? पसल पनि बन्द देख्छु, अर्पणाले कुरा मोडी ।
‘आमा अलिक बिसन्चो भएर घर र अस्पताल गरिरहेछु । बल्ल हिजो आमालाई अस्पतालबाट लिएर आएँ, अब घरमै राखेर हेरचाह दबाई–पानी गर्दैछु, भनेजस्तो दोकानमा बस्ने स्टाफ पनि पाएकी छैन, दीक्षाले भनिन् ।
ला हो र मेम ? म हजुरआमालाई भेट्न आउँछु है ।
‘भयो नहिँड तिमी । भर्खरै अपरेसन गरेर अस्पतालबाट आएकी छौ ।
भोलिपल्ट यस्तै बाह्र बजेको हुनपर्छ घरको बेल बज्यो । दीक्षाले ढोका खोल्दा पो देखिन्, अर्पणा हातमा गह्रुङ्गो झोला लिएर उभिएकी, साथमा उनका श्रीमान र फूलजस्तै धपक्क बलेकी छोरी ।
‘नानी अजिलाई हिना गर,’ अर्पणाले छोरीलाई अह्राइन् । नानी आएर दीक्षाअघि नतमस्तक शिर झुकाइन्, दीक्षाका आँखाबाट बलिन्द्र धारा झरे, छोरीलाई मायाँको अँगालोमा कसेर भित्र पसिन्, अर्पणा र उनका श्रीमान पछिपछि आए ।
दीक्षाले लगाएको फूलबारी देखेर नानीको खुशीको सीमा रहेन, आमा कति धेरै फूल रहेछ । बाबा हेर्नुहोस् त…. अस्ती मैले यस्तै फूल सरलाई लगिदिएको थिएँ नि, कति खुशी पो हुनुभयो त । अब म यतै अजिकोमै बस्छु …भन्दै उफ्रन थालिन् छोरी ।
अर्पणा र दीक्षाको धेरैदिनपछि भेट भएको, गफमा तल्लिन थिए । एकाएक अर्पणाको शिरबाट दुपट्टा झर्याे, दीक्षाका आँखा परे नाङ्गो शिर । मनमनै सम्झिन, यो भन्दा ठूलो हिम्मत के हुन सक्ला र ?
आफू यो अवस्थामा पुगेर पनि अरूलाई हिम्मत दिन आएकी छ यो केटी । मनमनै अर्पणाका निम्ति दीक्षाले भगवानलाई प्रार्थना गरिन् ।
आमासँग धेरैबेर बसेर अर्पणा र उनका श्रीमान फर्किन लाग्दा छोरी दृष्टिले दीक्षाको फूलबारीबाट चारवटा फूलका विरुवा उखेलेर हातमा बोकिसकेकी थिइन् । नानीको पर्यावरण र प्रकृतिप्रतिको प्रेम देखेर दीक्षा सम्मोहित भइन् अनि मनमनै भनिन्… ईश्वरले सबैलाई यस्तै नानीहरू दिउन् ।


गीताश्री शर्मा
गान्तोक, सिक्किम