• २०८१ चैत १२ बुधबार

दुखाउँछन् तिनैले

पार्वती भट्ट

पार्वती भट्ट

सक्छस् ! अलिकति अप्ठेरो अलिकति हैरानी दे
ए ! समय दे मलाई, मात्र चोटहरूको निसानी दे
म अनिदा सपना बोकेर अनिदै रातमा छु अचेल
मलाई आँसुको बिस्तारा अनि दुःखको सिरानी दे !

म तिम्रै यादमा हराउँछु खुबैसँग
यी यादहरू मन पराउँछु खुबैसँग
बरू तिमी नै पो कतै बिर्सियौला
भनी भित्रभित्रै डराउँछु खुबैसँग ।

मन दुखाउँछन् तिनैले
तन दुखाउँछन् तिनैले
जो मुटुमै विराजमान हुन्छन्
धड्कन दुखाउँछन् तिनैले ।

पहाडजस्तै तन, पत्थरजस्तै मन भै दिए
शिशिरमा पनि पिपिरा पलाउने वन भै दिए
किन छचल्किँदो हो डिलबाट नुनिलो पानी
आँखाको गहिराइमै पोखरी भै दिए, जतन भै दिए !

मन हो मन ! न फाटेको देखिन्छ, न सिउन सकिन्छ
के अर्थ यी आँसुको न प्यास मेटिन्छ, न पिउन सकिन्छ
बेकारमा अरूबाट खुसीको अपेक्षा राखिन्छ नि जब
न त सन्तोषसँग रहन सकिन्छ, न जिउन सकिन्छ।


(भट्ट चर्चित साहित्यकार हुन् ।)
[email protected]