• २०८३ आश्विन १०, शनिबार

गीताका आँखामा विज्ञानको चस्मा

उद्धव देवकोटा

उद्धव देवकोटा

महापुरुषहरूले दिएको छन्दोबद्ध ज्ञान नै गीता हो भनेर नेपाली बृहत् शब्दकोशले परिभाषित गरेको छ । यसमा रामगीता, शिवगीता, श्रीमद्भागवतगीता आदि पर्दछन् । तथापि, गीता भन्नेबित्तिकै श्रीमद्भागवतगीता नै बुझ्छौँ । यो ज्ञान महाभारत युद्धका समयमा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशको समुच्चय हो। यो महाभारत महाकाव्यको भीष्मपर्वअन्तर्गत पर्दछ । यसमा कुल १८ अध्याय र ७०० श्लोकहरू रहेका छन् ।

श्रीमद्भागवतगीताभित्र कर्मयोग (कर्तव्य मार्ग), भक्तियोग (भक्ति मार्ग) र ज्ञानयोग (ज्ञान मार्ग) जस्ता अवधारणाहरूको व्याख्या गरिएको छ । या भनौँ, गीतामा योग, आत्माको स्थायित्व र कर्मको प्रभुत्वका बारेमा विस्तृत चर्चा गरिएको छ । हिन्दु वैदिक सनातन सम्प्रदायले गीतालाई प्रमुख धार्मिक तथा दार्शनिक ग्रन्थका रूपमा स्वीकारेको छ । गीताले हिन्दू दर्शन, साहित्य र नैतिकतामा गहिरो प्रभाव पारेको छ र विश्वभरका दार्शनिक तथा साहित्यिक कृतिहरूमा पनि यसको उच्च प्रभाव देखिन्छ ।

यस लेखमा गीताको कुनै एक श्लोक, त्यसको भावार्थ र आधुनिक भौतिक विज्ञानसँग यसको सम्बन्धका बारेमा चर्चा गरिनेछ। अझ अर्को अर्थमा भन्दा, गीता र विज्ञानको प्रासंगिक अन्तरसम्बन्धका बारेमा विश्लेषण गरिनेछ।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः।

अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे॥
(अध्याय २, श्लोक २०)
श्रीमद्भागवतगीताको द्वितीय अध्यायको श्लोक २० मा आत्माको अमरत्वका बारेमा वर्णन गर्दै आत्मा न त जन्मन्छ, न त यो मर्छ, यो नित्य र सनातन छ भन्ने कुरा बताइएको छ । शरीरमा आत्माको प्रवेश नै जीवन र शरीरबाट आत्मा अलग हुनु नै मृत्यु हो । बरु आत्माले एउटा शरीर त्यागेर अर्को शरीरमा प्रवेश गर्छ भनिएको छ । यो श्लोकले मृत्युको भयलाई निर्मूल पार्न खोज्दछ। जुन कुरा कहिल्यै जन्मिएको छैन, त्यो कहिल्यै मर्न पनि सक्दैन। शरीर मर्दा पनि आत्मा मर्दैन । यो सांख्य दर्शनको आत्माको अनश्वरताको सिद्धान्तमा आधारित छ । यो श्लोकलाई सामान्य दृष्टि र अर्थमा हेर्ने हो भने अर्जुनलाई युद्धमा आफ्ना आफन्तहरूको मृत्युको शोकबाट मुक्त गराउन प्रयोग गरिएको छ। तर यस श्लोकले गम्भीर दर्शन बोकेर उभिएको छ ।

यसैगरी, भौतिक विज्ञानका पाना पल्टाउने हो भने, “ऊर्जा न त सिर्जना गर्न सकिन्छ, न त नाश गर्न नै सकिन्छ, बरु यसलाई एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न सकिन्छ” भन्ने नियम भेट्दछौँ । भौतिक विज्ञानको यस प्रसिद्ध नियमलाई ऊर्जा संरक्षणको नियम (Law of Conservation of Energy) भनिन्छ। नदीको पानीमा भएको ऊर्जा रूपान्तरण हुँदै बिजुलीको चिमसँग आइपुग्दा प्रकाशमा, रेडियोमा आइपुग्दा ध्वनिमा र पंखामा आइपुग्दा यान्त्रिक शक्तिमा परिवर्तन हुन्छ। त्यसरी नै आत्मा पनि फरक–फरक जीवमा प्रवेश पाएपछि त्यही प्रकृतिको स्वरूपमा परिवर्तित हुँदै जान्छ।

आधुनिक भौतिकशास्त्रले पनि पदार्थलाई पूर्ण रूपमा “नष्ट” गर्न नसकिने तथ्यलाई स्वीकार गर्दछ। आइन्स्टाइनको प्रसिद्ध सूत्र E = mc² ले पदार्थ ऊर्जामा रूपान्तरण हुन्छ भन्ने देखाउँछ। पदार्थ पूर्ण रूपले लोप हुँदैन, बरु ऊर्जामा बदलिन्छ। आणविक विखण्डन (nuclear fission) वा संलयन (nuclear fission) जस्ता प्रक्रियामा पनि पदार्थको कुनै अंश हराउँदैन, यसको स्वरूप मात्र बदलिन्छ।

यी नियमहरू हेर्दा ठ्याक्कै श्रीमद्भागवतगीताको माथि उल्लेखित श्लोकसँग मिल्न जान्छ। के यो संयोग मात्र हो तरु यो समानान्तर कथनले श्रीमद्भागवतगीतामा उल्लेखित उक्त श्लोक रूपक, उपमा वा अलङ्कारका रूपमा प्रयोग गरिएको भान हुन्छ। यस श्लोकमा प्रयोग गरिएको आत्माले ऊर्जालाई संकेत गरेको देखिन्छ। भौतिकशास्त्री एवम् लेखक फ्रिटजोफ काप्राले पनि आफ्नो चर्चित पुस्तक द ताओ अफ फिजिक्स मा आधुनिक विज्ञान र पूर्वीय दर्शनबीचको गहिरो समानतालाई प्रस्तुत गरेका छन् ।

गीताका आँखामा विज्ञानका चस्मा लगाएर हेर्ने हो भने यी अन्तरवस्तुहरू वास्तवमा दुई फरक प्रकृति र प्रवृत्तिद्वारा बोलिएका आश्चर्यबोधहरू हुन सक्छन्। प्रागैतिहासिक कालखण्ड वा योभन्दा अघिको वैदिक कालखण्डमा सीमित स्रोतका बाबजुद भएको अनुसन्धान उल्लेखनीय र मननयोग्य भएको देखिन्छ। कतै–कतै समयको बहावसँगै वेद र गीता जस्ता हाम्रा दर्शनको मूल वैज्ञानिक गुणलाई बङ्ग्याएर मात्र भावभावको आलाप र कर्मकाण्डीय पाण्डित्य गर्ने साधन मात्र बनाउँदा यसको सुगन्ध हराएको पो हो किरु हामी कतै नाभिको सुगन्ध चाल नपाएर वन–वन भड्किएको कस्तुरी पो बन्दै छौँ कि ?

यसलाई एकातिर ऋषिमुनिहरूले ध्यान र अन्तर्दृष्टिबाट प्राप्त आत्मा, सत्–असत् र समयको अनश्वरताको वैज्ञानिक तथ्यको ज्ञानलाई बिम्ब, रूपकका रूपमा पुस्तकाकार गरिदिए, तर त्यही कुरोको चुरो समाएर अर्कातर्फ वैज्ञानिकहरूले प्रयोग र गणितबाट ऊर्जा–संरक्षण, पदार्थ र ऊर्जाको अविनाशिता तथा सापेक्षताको सिद्धान्त पत्ता लगाए ।

अतः गीता र विज्ञान दुवैको निष्कर्षमा एउटै साझा सूत्र दोहोरिन्छ, त्यो के भने- देखिने रूप क्षणिक हो, तर त्यसको मर्ममा रहेको सार वा नियम स्थायी हो। सायद वैज्ञानिक विचारकै कारणले श्रीमद्भागवतगीता आजका दिनसम्म पनि केवल धार्मिक ग्रन्थका रूपमा मात्र नभई, जिज्ञासु मनका लागि दर्शन र विज्ञान दुवैलाई जोड्ने एउटा सेतुका रूपमा समेत सान्दर्भिक रहिआएको छ। तसर्थ, गीताका आँखामा विज्ञानको चस्मा लगाएर हेर्ने बानी बसाल्नु नितान्त आवश्यक देखिन्छ।


तिलोत्तमा-१, रूपन्देही