• २०८१ असोज २९ मङ्गलबार

जार

सुन्दर मानन्धर

सुन्दर मानन्धर

सायद, कोरोना- प्रकृतिमाथिको मानवीय दमनको उपज हो । कोरोना-समग्र मानवजातिको अहङ्कारको परिणाम हो । कोरोना- विज्ञान र प्रविधिको सूक्ष्म अणु हो जसले यो सिङ्गो मानवसभ्यतालाई बर्बर युगमा धकेलिरहेको छ ।
मनुवाहरूघर नामको पिञ्जडाभित्र थुनिएर बाँचेको पचपन्नौँ दिन हो- आज ।

०००
बाटुलेचौरमा अनेक किंवदन्तीहरू भेटिन्छन् । पुराना बूढापाकाहरूसँग भेट हुँदा उनीहरू भन्छन्- यो ठाउँ कुलमण्डन शाहको शीतकालीन राजधानी थियो । यो स्थान सुन्तलाका लागि निकै चर्चित थियो । त्यसो त जनकविकेशरी धर्मराज थापा र झलकमान गन्धर्वहरूले कोरेका लोकभाकाहरू सदाबहार गुन्जिरहेकै छन् । कुलमण्डन शाहका पालादेखि अद्यापि हरितालिका तीजको रौनक यहाँ सुरक्षित छँदैछ ।
यस्तैमा एकदिन बाटुलेचौरकै रामबहादुर बाँनियाजीसँग भेट भयो । सोधेँ- ‘कहाँ पुगेर आउनुभयो सर ?’
‘जारकाटे ढुङ्गातिर पुगेर आएको ?’
‘कहाँ हो सर यो जारकाटे ढुङ्गा ?’
‘जुम्लीडाँडामुनिको सडकमा हो नि !’ बाँनियाजीले मलाई स्पष्ट पार्न खोज्नुभयो ।
म त झनै दोधारमा परेँ । दुवै स्थानका नामहरू मैले कहिल्यै सुनेकै रहेनछु । मैले सोधेँ- ‘अनि यो जुम्लीडाँडा भनेको कहाँ पर्छ नि सर ?’
बाँनियाजीले अचम्म मानेझैँ गरी मलाई भन्नुभयो- ‘यो बाटुलेचौर निकै पुरानो ऐतिहासिक स्थान हो । पोखरा नहुँदै बाटुलेचौर थियो । त्यसैले यहाँ धेरै प्राचीन रहस्यहरू अतीतका छातीभित्र सुरक्षित छन् । पोखरा त हिजोको हो तर यो बाटुलेचौर निकै पहिलेको हो ।’
यसरी बाँनियाजीले बाटुलेचौरक्षेत्रको ऐतिहासिकताका बारेमा पो वर्णन गर्न थाल्नुभयो । उहाँले भन्नुभयो- ‘ल हिँड्नोस्, जुम्लीडाँडा र जारकाटे ढुङ्गा म अहिल्यै देखाउँछु । सक्नुहुन्छ ? कथा लेख्नोस् न !’
‘कथा लेख्नोस् !’
‘जारकाटे ढुङ्गा !’
कथा- ‘जार’

०००
जेठ महिनाको ऊष्णताले भरिएको रापसँगै जुम्लीडाँडाको तल कालीखोलाको किनारमा अवस्थित खेतमा तारा आलीकान्ला गर्न व्यस्त थिई । हिजैमात्र बाटुलेचौरका नेवारहरूले सिठी नखः चाड मनाएका थिए । त्यहाँका नेवारहरूले विभिन्न परिकारका खानेकुराहरू तयार गरेका थिए । ऊ आफ्नी मितिनी मीनुकी आमाकहाँ भोज खान पुगेकी थिई ।
त्यो तातो घामको ऊष्णतासँगै तारा मितिनीकहाँ खाएका, गफ गरेका पलहरू सम्झँदै खेतमा काम गरिरहेकी थिई ।
‘यो गर्मी पनि के सारो हो !’ ताराले निधारको पसिना दाहिने हातको चोर औँलाले पुछी । खोलाको छेउमा प्रशस्त जलुकाहरू थिए । त्यसैको अलि ठूलो पात टिपी र खोलाको पानी उजिल्याएर आफ्नो प्यास मेटी ।
एकैछिन नजिकै रहेको खन्यूको रुखमुनि बसी ।
हरहराएको आँत शान्त भयो- यसो गर्दा ।
कालीखोलापारिको भिरालो चौरमा गाईबस्तु हेर्न आएका सानासाना गोठाला केटाकेटीहरू देखिन्थे । गाईबस्तुहरू चरिरहेका थिए । ती केटाकेटीहरू भने चिलाउनेको फेदमा खेलिरहेका थिए । वारिपट्टिको खेतमा तारा एक्लै थिई ।
घाम बिस्तारै पश्चिमको कास्कीकोटको डाडाँ काटेर ओह्रालो लाग्नथाल्यो । जुम्लीडाँडाको छाँया बिस्तारै कालीखोला तरेर पारिपारि हुँदै भलाममाथिको डाडाँमा रहेको हरिहरगुफा मन्दिरसम्मै पुग्यो ।
गोधूलिको वेला भयो । गोठाले केटाकेटीहरू गाईबस्तुलाई अगाडि लगाएर घरतिर हिँड्नथाले ।
ताराले त्यस दिनको मेलो बिसाई । ती गोठाले केटाकेटीहरूको पछिपछि आफ्नो थाकेको शरीरलाई जुम्लीडाँडाको उकालातिर चढाई ।
ताराको हँसिया र कोदालो भुत्ते भएका थिए, त्यो अर्जाप्न आरनमा पुगी । आरनमा काम गर्दैगरेको म्याउँचेले भन्यो- ‘भोलि बिहान आउनू कजिनी ।’

०००
भोलिपल्ट बिहानै घरको कामधन्दा सकी ताराले । हँसिया र कोदालो हिजै आरनमा छाडेकी थिई, त्यो लिन पुगी ।
हँसिया र कोदालोमा शान मात्र लगाएर राखेको रहेछ, पाइन हालेकै रहेनछ म्याउँचेले, उसले भन्यो- ‘एक्कैछिन है कजिनी, म पाइन हाल्छु ।’
खलाँतीले फुकेको आगोमा हँसिया र कोदालो राख्यो म्याउँचेले, उसले अलिकति गोल पनि थप्यो । हेर्दाहेर्दै गोल पूरै आगो भयो । पारोभन्दा केही माथिसम्मै हँसिया पनि आगोजस्तै देखियो, कोदालोको पातो पनि आगोमय भयो ।
म्याउँचेले सनासोको सहयोगले हँसिया निकाल्यो, सिल्टेको पुरानो दिउरोमा पानी थियो । बलेको कोइलाजस्तै बनेको हँसियाको धारमा सानो धारा बनाएर काठको डाँडीमा दिउरोको पानी खन्यायो ।
हँसिया र कोदालोको धारमा पाइन हालेको हल्का नीलो प्रस्ट देखी ताराले । हँसियाको धार जाँच्न नङ खुर्की र भनी- ‘अहो ! हँसियामा त निकै धार चढेछ ।’ खुसी भई ।
हँसिया र कोदालो हातैमा झुुन्ड्याएर ऊ घरतिर लागी । खाना खाई । भर्खरै अर्जापेको हँसिया र कोदालो डोकोमा राखी । दिउँसोको खाजा भनेर मकै भुटेकी थिई, पोको पारी र त्यो पनि डोकोमा हाली । सानो गौवामा मोही हातैले झुन्ड्याई । स्याखु ओढेर जुम्लीडाँडाबाट बिस्तारै तल ओलिई ।सिमसिमे पानी परिरहेकै थियो ।
ऊ खेतमा पुग्दा पूर्णेका लोग्नेस्वास्नी आलीकान्ला गर्न व्यस्त थिए ।
खेतमा काम गर्न थाली तारा स्याखु ओढेरै । आफ्नो खेतको पुछारदेखि धर्मे साहुको खेत सुरु हुन्थ्यो । त्यो खेत पूर्णेले कमाउने भएको रहेछ त्यो सालदेखि ।
ताराले सोधी- ‘यो खेत कसरी कमाउँदै छौ त पूर्णे दाइ ?’
‘त्रिखण्डी हो कजिनी, बीउचाहिँ साहुले दिन्छन् ।’ पूर्णेले लगाइराखेको मैलो टोपी निकाल्यो र पसिना पुछ्दै भन्यो ।
पूर्णेकी स्वास्नी भने काम गरिरहेकी थिई, केही बोलिन ।
साँझ परेपछि पूर्णे, उसकी स्वास्नी ठाइँली र तारातीनैजना घाँसको भारी बोकेर जुम्लीडाँडातिर उक्ले । डाँडाबाट हल्का ओह्रालो झरेपछि नजिकै रहेको ठूलो पीपलको चौतारोमा भारी बिसाए ।

०००
पूर्णे र ताराको घर सय गजजतिको आसपासमा थियो । ताराको घरमा वृद्ध सासू- ससुुराका,दुई छोरा र एक छोरी गरी तीनजना सन्तानहरू थिए । उसको लोग्ने नेपालको अड्डामा जागिरे थियो, छुट्टीमा कहिलेकाहीँ नेपालबाट घर आउँथ्यो । उनीहरू चार भाइ थिए । सबै छुट्टभिन्न भएर आआफ्नो अंशबन्डा गरिसकेका थिए । आमाबाबु भने कान्छा छोरा- बुहारीसँग बसेका थिए ।
असारको मसान्तसम्म खेतमा धानको रोपाइँ सकियो त्यसवर्षको । त्यसपछि बारीमा कोदो रोप्ने काम सुरु भयो । क्रमशः चाडबाडहरू सुरु हुँदैआए । त्यो वर्ष निकै चाँडै रहेछन् चाडहरू । साउनको पहिलो साताबाटै गथांमुगः चःह्रे र गुँलापर्व सुरु भयो ।
भदौको सुरुमै तीज आयो । बाटुलेचौरको मैदानमा दस गाउँतिरका महिलाहरू जम्मा भए । ठाउँठाउँबाट आएका ती महिलाहरूले आआफ्ना मनभित्रका बह दुःख र पीडाका गीतहरू कहन थाले-
हे भगवान्  ! यो छोरीलाई किन पो जन्मायौ ?
रुँदै- रुँदै आमा तिमीले पराईघर अन्मायौ ।…
अर्कातिर त्यहाँका नेवारहरूले लाखे नाच नचाए । धेरैजसो मानिसहरू लाखे हेर्नकै निम्ति मैदान आउँथे । प्रायः पुरुषहरू लाखेतिर देखिन्थे भने महिलाहरूचाहिँमहिलाहरूकै नाचगानतिर झुम्मिरहेका देखिन्थे ।
त्यो दिन तारा बिहानै उठी । सेती गङ्गामा नुहाउन गई । तीन सय पैसट्ठीवटादतिवन टोकी । पानी पनि नपिईकनै दिनभर व्रत बसी ।
अनि ऊ पनि मैदान पुगी र मानिसहरूको भीडभित्र समाहित भई ।
मैदानमा अवस्थित समीको ठूलो रुखवरिपरि मानिसहरूको भीड जम्यो । कोही महिलाहरू मादल बजाएर तीजका गीतहरू गाइरहेका थिए, कोही ताली पिटेर गीत गाउनेलाई साथ दिइरहेका थिए । कतिपय भावुक देखिन्थे । कोही भने लाखेको तालसँगै रमाइरहेका थिए ।
पूर्णे पनि आफ्नी स्वास्नीलाई लिएर अपराह्नतिर मैदान पुग्यो । तिनीहरू दुवैजना एकातिर नारीहरूको नाचगान र अर्कातिर लाखे नाच हेरेर मख्ख परे । उसकी स्वास्नी भने नारीहरूकै भीडमा गीत सुनिरही, नाच हेरिरही ।

०००
अस्ति मात्र तीजको रमझममा भुलेको सिङ्गो बस्तीलाई भदौ महिनाको पहिलो सोमबार साँझ कटुवालले घोक सुनायो- ‘हे साहेब हो, भोलि मङ्गलबार हरेलो हो, सबैले हरेलो गर्नुहोला । कसैले उर्दी सुनिनँ भन्न पाइने छैन ।’
त्यो रात मुसलधारे पानी पर्यो । बिहानपख झिसमिसेमा पानी पर्न केही बिसाएजस्तो भयो । एकछिनपछि फेरि दर्कन थाल्यो ।
हरेलोका लागि आवश्यक सामग्री तयार गरिदिई ठाइँलीले । पूर्णेले हातमा आगोसल्किएको गुइँठोलियो र जाबीमा पूजाका सामग्रीहरू राख्यो, त्यसपछि ऊ स्याखु ओढेर बिहानै हरेलो गर्न हिँड्यो ।
जुम्लीडाँडाबाट बिस्तारै ओरालो झर्दैगर्दा तल कालीखोेला भने रातै भएर बगिरहेको देख्यो उसले । पारि अवस्थित बाजीको वनमाथिको हरिहरगुफालाई भने पातलो कुहिरोको पर्दाले ढाकेको थियो ।
खेतमा जाने कुलोको बाँध बगाएछ रातीको वर्षाले, पूर्णे झस्कियो । बाँध बनाउन तत्कालै सम्भव थिएन । उर्लेर आएको कालीखोलाले सानासाना रुखहरू जरैदेखि बगाएर ल्याएको थियो । साङ्ले रहको कुइनेटोमा कति रुखहरू घुमिरहेका देखिन्थे ।
पूर्णे मुहानको गरामा पुग्यो । उसले खेतको आलीमा हरेलो गर्न थाल्यो- उसले सबैभन्दा पहिले मुहानको गरामा निबुवा निचोर्यो । गुइँठालाई एकपटक मजाले फुक्यो; त्यसमा घिउ राख्यो, तितेपाती चढायो,…
अब उसले बिस्तारै फलाक्न थाल्यो-
चराको चुच्चो भाँचियोस्,
मुसाको दाँत भाँच्चियोस्,
यो खेतको धानबालीको रक्षे गर हे परमेश्वरी !

कालीखोलाको एकोहोरो सुसाई र पूजामा मग्न पूर्णे एक्कासि पछाडिबाट आएको कसैको आवाजले नराम्रोसँग झस्कियो । पानी परिरहेको हुँदा उसले स्याखु ओढेकै थियो । पछाडिबाटै उसले सुन्यो- ‘पूर्णे दाइ, मेरो खेतमा पनि हरेलो गरिदेऊ है ?’ सुनिसकेपछि पूर्णे फरक्क फक्र्याे ।
उसले देख्यो- एउटा हातमा गुइँठो र अर्काे हातमा पूजाका सामानहरू लिएर तारा उभिइरहेकी थिई ।
पूर्णेले भन्यो- ‘हवस् कजिनी, म धूपधयेर गरिदिऊँला !’
हरेलो सकेपछि तारा घरतिर फकिई । पूर्णे खेतकोछेउमै रहेको पाखामा सोत्तर काट्न थाल्यो । उसले तीन अङ्गालोजति लामोलामो तितेपाती काट्यो, एकोहोरो पारेर खरको बन्धनले बाँध्यो । भारी कसिसकेपछि नाम्लो हाल्यो र बोकेर बिस्तारै ठाडो उकालो लाग्यो ।
सिमसिमे पानी परिरहेकै थियो । भदौरे झरी थामिएको थिएन ।
पूर्णे घरमा पुग्यो । स्वास्नी पनि सिप्लीकुनाबाट घाँस काटेर आइसकेकी थिई । घरबुनाको फरिया निचोर्दै भनी- ‘आज दुई दिन भइसक्यो, लगातार झरी परेकोपरेकै छ, रोकिने कुनै छाँट छैन । भएका दुईजोर कपडाहरू फेर्दाफेर्दै सकिसके ।’
स्वास्नीको कुरा सुनेपछि पूर्णेले पनि आफ्नो चिसो भोटो र कछाड अँगेनाको छेउमा बसेर सेक्दै दुःख पोख्यो- ‘के गर्छेस् त ठाइँली, हामी गरिब अभागीको पुर्पुरोमा यस्तै लेखेका रहेछन् भगवान्ले । उनले जति दिन्छन्, त्यति नै हात थाप्नुपर्छ । त्यहाँभन्दा बढी त के पाइँदो रहेछ र !’
भदौरे झरीले भिजेको शरीरलाई दुवैले अगेनोको आगोमा सेकाए ।
भोलिपल्ट दुवै लोग्नेस्वास्नी धान गोडेर अवेला घरमा आए । ‘धत् ! अगेनोमा आगो निभिसकेछ । कस्तो अलच्छिना लागेको  ?’ ठाइँली बरबराई ।
‘म भकारो सोहोर्दै गर्छु, तिमी काजीकहाँ आगो लिन जाऊ है !’ ठाइँलीले लोग्नेलाई अह्राई । पूर्णे स्याखु ओढेर ताराको घरमा आगो माग्न गयो । ताराका ससुरा बाहिर पिँढीमा बसेर हुक्कामा तमाखु भरेर ट्वार्रट्वार्र गर्दै धूँवा मुखबाट निकाल्दै आकाशतिर फुकिरहेका थिए ।
ताराले एउटा अगुल्टो दिईपूर्णेलाई । पूर्णेले आफ्नो घरको अगेनामा अलिकति खर, मसिना झिँजाहरू राखेर फुक्न थाल्यो । आगो मजासँग दन्कियो ।
ठाइँलीले गबुवाको दूधलाई कुँडेमा खन्याई । पूर्णेले भदौरे मकै छोडाउन थाल्यो । स्वास्नीचाहिँ पुरानो हाँडीमा मकै भुट्न थाली, बिहान मात्र मथेको मोहीसँग दुवै लोग्नेस्वास्नीले मकै खान थाले ।

०००
शरद् ऋतुको आगमन भयो । शारदी शोभाले वरिपरिका डाँडाकाँडा, भीरपाखा, पखेरा र वनजङ्गलहरूका साथै नदी, खोला र खहरेहरूमा छुट्टै प्राकृतिक रङ पोतियो ।
‘हेर् ठाइँली, मेरी आमा भन्नुहुन्थ्यो- म त दसैँको पूर्णेको दिन जन्मेको रे ! त्यसैले मेरो नाम पूर्णे राखेको रे पण्डितले ।’
त्यो रातको दोस्रो पहरसम्म पूर्णे निदाउन सकेन । उसले पिँढीको ओछ्यानबाटै जूनलाई बिस्तारैबिस्तारैचियायो । जून झन्झन् आफ्नो नजिक अझ नजिक आएजस्तो लाग्यो उसलाई । उसले आफैँलाई जून पायो । जूनको आभाभित्र ताराहरू आकाशमै विलीन भए ।
जून हेर्दैगरेको पूर्णे एकाएक उत्तेजित भयो र जूनका ज्योत्स्नाहरूसँग मनमनै आफ्ना भावनाहरू साट्न थाल्यो-
मितज्यू, तिमी कति भाग्यमानी; म कति अभागी । तिमी आकाशमा- म धर्तीमा… ।

०००
कार्तिक महिनाको आधाआधीतिर खेतमा धान काटेर सकियो । पूर्णेले एउटा ठूलो गरालाई ‘खलो’ बनायो । दुवै लोग्नेस्वास्नी भएर धानको कुन्यु लगाए ।
दाइँ हाल्ने दिन उसले खेतधनीलाई बोलायो । खेतमा झटुवा धान जम्माजम्मी अठार मुरी र सात पाथी आयो । झन्डै एक मुरी मडुवा धान झर्यो । चालीस भारी परालको थुप्रो लगाइयो ।
खेत त्रिखण्डीमा कमाएको हुनाले तीन भाग लगाइयो । पूर्णेले छ मुरी झटुवा र दस पाथी मडुवा धान पायो । खेतधनीले बीउबापत् सात पाथी धान दियो पूर्णेलाई । साहुले अलिक माया गरेरै पूर्णेलाई पन्ध्र भारी पराल पनि दियो ।
मङ्सिरको सिरेटो सुरु भयो । शिशिरका हुस्सु र कुहिरोहरू पोखरावरिपरि फाट्टफुट्ट देखिन्थे । नीलो आकाशमा देखिने बादलका टुक्राहरू कालीलेकसँगै पौँठेजोरी खेलेझैँ लाग्दथे ।
बाटुलेचौर र यसको आसपासका क्षेत्रहरूमा भुइँ नै छुने गरी लटरम्म फलेका सुन्तलाका दानाहरूबिस्तारैबिस्तारै पहेँला देखिनथाले । यहाँको सुन्तला किन्न टाढाटाढाका मानिसहरू आउनथाले । पहेँलपुर सुन्तलासँगै सिङ्गो बाटुलेचौर बस्ती नै हाँस्यो ।
पूर्णेको साहुको घरमा पनि प्रशस्त सुन्तलाका बोटहरू थिए । ऊ साहुको घरवरिपरि रहेको सुन्तलाको बोटमा चढेर सुन्तला टिप्ने काममा खटियो । ऊ यामानका सुन्तलाका रुखहरूमा चढ्थ्यो र कोक्रोमा टिप्दै भथ्र्याे । पाकेका र चराले खाएका कत्ति दाना सुन्तलाहरू भुइँभरि छरिएका देखिन्थे ।
जाडो बढ्यो एकाएक । माघेझरीले सबैलाई सकस पार्यो । उत्तरतिरको अग्लो कालीलेकको डाँडाको तलैसम्म सेताम्य हिउँ पर्यो । रुखका हाँगाहाँगामा हिउँका थुप्राहरू देखिए । अर्मलाको गाउँ, ढिकीडाँडा र घार्मीसम्मै फाप्रेका डङ्गुरहरू सेताम्य देखिए ।

०००
यस्तैमा एकदिन गाउँभरि हल्ला फैलियो- तारा दुई जीउकी भई रे !
नेपाल खाल्डोमा सरकारको सिँदुर पहिरेका ताराका लोग्ने घर नआएको झन्डै एक वर्ष भइसकेको थियो ।
‘लोग्नेविना तारा दुई जिउकी !’ सबैले आश्चर्य प्रकट गरे ।
मैदानको चौतारोमा मुखियासहित गाउँका जान्नेमान्नेहरू जम्मा भए । त्यहाँ गाउँलेहरूको पनि बाक्लो उपस्थित थियो ।
मुखियाले तारालाई केर्न थाले । तर तारा केही बोलिन । एकोहोरो आँसु खसाई मात्र ।
त्यहाँ भेला भएका सबैको अनुहारमा ताराप्रति तीब्र रोष देखिन्थ्यो । सबैले कानेखुसी गर्नथाले । सबैलाई लाग्यो– कोसँग होला ताराको लसपस ?
मुखिया फेरि बोले- ‘भन् तारा, तेरो पेटमा भएको नासो कसको हो ?’
मुखियाको कुरामा सबैले होमा हो मिलाए । तारा अझै केही बोलिन । चौतारोको एकापट्टि एक्लै पछ्यौरीले मुख छोपेर बसेकी तारा आफ्ना विवश आँसुका थोपाहरूसँग मनमनै भन्दै थिई- ‘कसरी भन्नु मैले ? अहँ, मर्नु परोस् तर भन्दिनँ ।’
केही महिलाहरूको हुलमा भने गाइँगुइँ सुनियो– ‘यसको पेटमा भएको नासो त पूर्णे कमारोको हो रे ! यो नकच्चरी त्यही कमारोसँग सल्केकी रे ! आगो माग्ने निहुँ पारेर त्यो कमारो ताराकहाँ जान्थ्यो रे !’
‘त्यही भएर त त्यो कमारो आज यहाँ देखिँदैन नि ।’ अर्की महिलाले सही थपी । पूर्णेकी स्वास्नी पनि त्यहाँ थिइनँ ।
त्यहीबीच गाउँका नामी हरेकृष्ण पण्डितले श्लोक कथे-
स्त्री चरित्रं पुरुषस्य भाग्यम्,
देवो न जानति कुतो मनुष्यम् ।
त्यहाँ भएका सबैको आँखा पूर्णेको प्रतीक्षामा अडिरह्यो । एकजना महिलाले भनी- ‘त्यो बाँधा भोट (थाकखोला) गएको छ भोटेनुन लिन ।’
मुखियाले सबैलाई शान्त पारे । उनले भने- ‘तारा केही बोलेकी छैन । यसले जसरी पनि भन्नैपर्छ, यसको मुखबाट बकाउनै पर्छ; कुराको फैसला आजै हुनैपर्छ; अन्यथा रात रहे अग्राख पलाउँछ ।’
‘यो तारा नबोले पनि हामीलाई थाहा छ- यो कोसँग सल्किई भनेर । यसले भने भन्छ, नभने हामी भनिदिन्छौँ ।’ ताराको जेठाजु पर्ने एकजना अधबैँसे पुरुष कड्किँदै बोल्यो र तारालाई गाली गरिरह्यो ।
यत्तिकैमा ताराका ससुरा बोल्यो- ‘जीवनमा यस्तो दिन पनि देख्नुपर्ला भनेर मैले कहिल्यै सोचेको थिइनँ । यसले आफ्नो नाक त काटीकाटी, सारा परिवारको इज्जत खरानी बनाई । यसको नाठो अरू कोही होइन, सबैले चिनेजानेकै त्यही हली- बाँधा पूर्णे हो ।’
त्यहाँ एकछिन सन्नाटा छायो । अघि भर्खरसम्मका उत्सुक अनुहारहरूमा एकाएक कम्पन भयो । सबैको मनभित्रका जिज्ञासाका प्रश्नचिह्नहरू मेटिए ।
तर ताराकी मितिनी नेवार्नी भने एकाएक अचम्म मानी र भनी- ‘यस्तो पनि हुन्छ ? यो हुनै सक्दैन ।’
सबैले पूर्णेलाई दोषी माने । तारालाई घृणित आँखाले हेरे ।
फेरि बोले मुखिया । उनले तारालाई लक्षित गर्दै अलि कडा रूपमा आफ्ना कुराहरू राखे- ‘भन् तारा, पूर्णे र तेरो लसपस भएकै हो त ? तँ चुपचाप बसे पनि सबैले थाहा पाइहालेका छन् । तेरो कुरा के हो ?’
पछ्यौरीले मुख छोपेकी ताराले अलिकति त्यसको सप्को हटाई । भुइँतिर हेरी र बिस्तारै बोली- ‘पञ्चहरू यही भन्छन् भने मेरो कुरा पनि त्यही हो ।’
मुखियाले देब्रे हातले कम्मरमा समाए र दाहिने हात हल्लाउँदै आफ्नो निर्णय सुनाए- ‘आजको पन्ध्र दिनमा यसको छिनोफानो हुनेछ । तारा आजबाट पूर्णेको भई । त्यसैले यसलाई आज जसरी पनि पूर्णेको घरमा हुलिदिनुपर्छ ।’
मुखियासहित गाउँहरूको एक हुल पूर्णेको घरमा पुग्यो । सबैले तारालाई तथानाम गाली गर्दै ढोकाभित्र हुलिदिए ।
पूर्णेकी स्वास्नी भने घरसँगै जोडिएको गोठबाट यी सारा दृश्यहरू हेरिरहेकी थिई । गाउँलेहरूले सौता घरमा ल्याएर हुलिदिँदा पनि ऊ केही बोलिन ।
एकछिनपछि सबै गाउँलेहरू गए । आँगन खाली भयो । पछ्यौरीमा एउटा सानो पोको बोकेर ताराकी मितिनी आइपुगी । पूर्णेकी स्वास्नीसँग खासखुस गरी । भित्र पसी, एकैछिनमा निस्केर गई ।

०००
तेस्रो दिन झमक्कै साँझ परेपछि पूर्णे भोटबाट नुन बोकेर आयो । आँगनबाटै बोलायो- ‘ठाइँली । ए, ठाइँली !’
घरभित्रबाट कुनै आवाज आएन । दैलो खुल्लै थियो । भित्र अगेनामा बलेको आगोको हल्का उज्यालो देखिन्थ्यो । अलि चर्काे स्वरमा बोलायो पूर्णेले । त्यतिवेलासम्म पूर्णेले पिँढीमा भारी बिसाइसकेको थियो ।
‘कहाँ गइछे यो ?’ पूर्णे दैलोभित्र पस्यो । अगेनाको छेउमा एउटी अपरिचित स्वास्नीमान्छे देखेर ऊ झस्कियो ।
‘को हो ?’ यत्तिकैमा ठाइँली अँगालोमा दाउरा बोकेर भित्र पसी ।
‘कजिनी, तपाई किन हाम्रो घरमा ?’
ठाइँलीले तीन दिनअघिको सारा घटनाहरू सुनाई ।
तारा केही बोलिन । चुपचाप पछ्यौरीले मुख छोपेर बसिरही ।
पूर्णेले शिरमा लगाइरहेको टोपी दाहिने हातले झिक्यो, पसिना ओभाएकै थिएन, पुछ्यो र उत्तेजित हुँदै भन्यो- ‘हेर् ठाइँली, मैले केही बिराम गरेको छैन । मेरो कसुर केही छैन । म तेरो शिरमा हात राखेर कसम खान्छु- मैले केही गल्ती गरेको छैन ।’
‘मलाई पनि थाहा छ- तिमीले गल्ती गरेका छैन । तिमी सेती गङ्गाजत्तिकै पवित्र छौ ।’ पूर्णेकी स्वास्नीले उसलाई ढाडस दिँदै भनी ।
‘खाएको विष पो लाग्छ कजिनी, नखाएको विष मलाई कसरी लागेको ? यो हजुरले के गर्नुभएको ? मजस्तो लाटोसोझो मान्छेलाई यसरी फसाउन हुन्छ ? म घरमा नभएको मौकामा मलाई यसरी बन्धकी बनाउन पाइन्छ ?’ ताराप्रति अलिकति आक्रोशित हुँदै पूर्णेले आफ्नो विचार पोख्यो । पूर्णेको कुुरा सुनिसकेपछि तारा चुप रहन सकिन । उसले भनी- ‘यसमा तिमी पनि दोषी छैन, म पनि दोषी छैन; दोषी नै नभए पनि हामीले सजाय पाएका छौँ । तिमी त्यतिवेलापटकपटक मेरोमा आगो माग्न आउनु नै तिम्रो दोष हो पूर्णे । यसको फैसला मुखियाले गरे पनि उनीभन्दा माथि भगवान् छन्, कुनै दिन तिनै भगवान्ले अर्काे फैसला गर्नेछन् ।’ अगेनामा बलिरहेको आगोको ज्वालालाई एकोहोरो हेर्दै गरेकी ताराले बडो भावुक भएर भनी ।
लामो खुइयाँ छोड्दै ताराले पुकारा गरी- ‘रक्षे गर हे परमेश्वरी ! हे हरिहर बाबा ! हे विन्ध्यवासिनी माते !’

घरघरमा पूर्णे र ताराको चर्चा चल्यो । विशेषगरी महिलाहरू पधेँरोमा पानी भर्न जाँदा अझ बढी यसको चर्चा हुन्थ्यो । कसैले भन्थे- ‘यो तारा फुँडी हो । त्यस्तो कमारासँग पल्केकी रहिछे, अब बल्ल खान्छे ।’
कोही भन्थे- ‘तारालाई फसाइएको हो रे ! पूर्णे आगो माग्न जाँदा जबर्जस्ती दैलोभित्र धकेलेर बाहिरबाट ताल्चा लगाएको रे !’
पूर्णे र ताराका बारेमा एक कान दुई कान मैदान हुँदै चारैतिर हल्ला फैलिसकेको थियो ।

०००
पन्ध्र दिनपछि मैदानमा पञ्च भलाद्मीहरू जम्मा भए ।
त्यहाँ पूर्णेको पनि उपस्थित थियो, तारा र ठाइँली भने घरमै थिए । वरिपरि चार गाउँका मान्छेहरू भेला भएका थिए । सबैको अनुहारमा एक प्रकारको उत्सुकता थियो- अब के हुन्छ ?
ताराकी भूतपूर्व भइसकेको लोग्ने पनि नेपाल खाल्डोबाट आइसकेको रहेछ । उसलाई आफ्ना बाबुले झिकाएको रहेछ । ऊ अलि बढी नै आक्रोशित देखिन्थ्यो । किनभने उसलाई लागेको थियो– यो सब पूर्णेको कर्तुत हो । यसले सजाय पाउनैपर्छ । मैले यसलाई काट्नैपर्छ ।
उपस्थित सबैका सामु मुखियाले भने- ‘लौ अब गङ्गाराम साधु भयो, पूर्णे जार भयो । गङ्गारामले जारलाई काट्ने कि गङ्गारामको ताङमुनि छिरेर उसको थुक जारले चाट्ने ? यो निर्णय पूर्णेको हो । भन् पूर्णे के गर्छस् ?’
मैलो भोटो र कछाड लगाएको, टोपीको ठाउँठाउँमा प्वाल परेर कपाल बाहिर निस्किएको, घाँटीमा जन्तर भिरेको, चिम्सो अनुहार, हल्का छुस्स कतैकतै मात्र दाह्री आएको, मलिन अनुहारका साथ पूर्णेले सबैका सामु हात जोड्दै भन्यो- ‘मैले के गल्ती गरेको छु, म आफैँलाई थाहा छैन । आफैँले थाहा नपाउने गल्ती गरेर म आज सजाय भोग्दैछु । म निर्दाेष छु भने पनि तपार्इंहरू मेरो कुरा पत्याउनुहुन्न, मलाई छोड्नुहुन्न, किनभने म निर्दाेष हुनुको प्रमाण म स्वयं हुँ । यस समाजले मजस्ता निर्दाेषहरूलाई दण्ड–सजाय गराएर रमिता हेर्न चाहेको छ; म जस्तो बाँधालाई मारेर, काटेर आनन्द लिन चाहेको छ । म गङ्गे काजीको ताङमुनि छिरेर थुक चाट्न तयार छैन; म बरु काटिन तयार छु… ।’
बोलिरहेको पूर्णेले आफ्ना कुराहरू सक्न नपाउँदै गङगाराम गर्जियो- ‘धेरै ठूलो कुरा नगर् पूर्णे । ‘जो चोर उसको ठूलो सोर’ नगर । ‘हावा नचलीकन पात हल्लिदैन’ बुझिस् । यदि तँ काटिन तयार छस् भने म पनि तँ जारलाई काट्न तयार छु ।’
‘पूर्णे तेरो कुरा केही छ ? भन् !’ मुखियाले पूर्णेलाई सोधे ।
‘मुखिया बा मैले गल्ती गरेको छैन । म चाहे जीवित हुँला या मरूँला यसको सजाय गङ्गेकाजीले भोग्नेछन् । म काटिइहालेँ भने पनि मलाई कुनै खेद छैन । मजस्तो निर्दाेष मान्छेलाई जुन तरिकाबाट फसाइएको छ, मेरो आँसुले सरापिरहेको छ- यिनका परिवारका सन्तान- दरसन्तानले कहिल्यै सुख नपाऊन्; यिनको वंश विनाश भएर जाऊन्; यदि यिनले मलाई भेटिहाले भने एकैपटकमा च्वाट्टै काटेर मारून् । हे हरिहर महादेव ! हे विन्ध्यवासिनी माते ! मेरो रक्षे गर्नू । म निर्दाेषलाई बचाउनू ।’ यति भन्दैगर्दा पूर्णेले टाउकोमा लगाइराखेको मैलो टोपी झिक्यो र आँखाका कापकापबाट रसाइरहेको आँसुका दानाहरू पुछ्यो ।
पूर्णेको विवश अनुहार र आँसुका दानाहरूदेखेर कति मानिसहरूले सहानुभूति देखाए भने कतिले त पूर्णेलाई ‘काट्नैपर्छ’  भनेर गङ्गारामलाई झनै उक्साए ।
सामाजिक न्यायमा हारेका पूर्णेको त्यहाँ कोही आफन्तहरू थिएनन्, बाँधाको को नै पो हुन्थ्यो र ? बाबुआमा उहिल्यै परलोक भइसकेका थिए । भएका दाजुभाइहरू पनि त्यहाँ आएनन् ।
त्यहाँ भेला भएका मानिसहरू विभिन्न खालका थिए । कोही पूर्णेलाई एकदमै नजिकबाट चिनेका उसका लगौटीयारहरू थिए, कोही साधुका आफन्तहरू थिए, कोही रमिता हेर्न आएका हुल्लडबाजहरू थिए, कोही जारलाई छ्याकछ्याक काटेको हेर्ने रहर लागेकाहरू थिए, कोही जार र साधुको दौडको होडबाजीमा आफू पनि पछिपछि कुदेर पुरुषार्थ देखाउने छाँटले आएका थिए;  सबैको एउटै उद्देश्य थियो- साधु र जार ।
मुखियाले आफ्नै खुट्टाले दस कदम नापे र सिन्कोले रेखा खिचे- दुवैतिर । दस कदम अगाडि जार उभियो– निःशस्त्र । दस कदमपछाडि साधु उभियो- सशस्त्र । साधुको हातमा मझौला खालको सिरुपाते खुकुरी टलल्ल टल्किरहेको थियो ।
त्यो दिन प्रकृति पनि त्यति खुसी थिएन । माघे झरीले सबैलाई सकस पारिरहेको थियो । केही दिनअघि परेको हिउँ र फाप्रेका डङ्गुरहरू अझ थपिँदैथिए । उत्तरतिर कालीलेक हिउँको सेताम्य फेटा गुथेर गजधुम्म परेर हेरिरहेको थियो । पश्चिमतिरको कास्कीकोटको डाँडाले घामलाई आफूतिर खिचिरहेको थियो । माछापुछ्रे र सोलीघोप्टे हिमालहरू सेताम्य देखिन्थे । जाडो उस्तै थियो । माघको ठिहिरोले शरिरलाई लुगलुग कपाउँथ्यो ।
मुखियाले तीनबाट उल्टो गन्न थाले-  तीऽऽऽन, दुऽऽऽई, एऽऽऽक…
न्वारानदेखिको बल लगाएर कुद्यो पूर्णे । पछिपछि साधु कुद्दैगयो । हेर्दाहेर्दै पूर्णे निकै अगाडि देखियो । सीधा बाटोपछि घुम्ती बाटामा दुवैजना हराए । सक्नेहरू पनि जार र साधुको पछिपछि कुद्दैगए, कुद्नेहरूको लाम देखियो । पाँच मिनटजति कुदेपछि पूर्णेले पछाडि फर्केर हेर्यो, साधु त पचास हातजति पछि खुकुरी टल्काउँदै उसैलाई खेद्दै दौडिरहेको थियो ।
जुम्लीडाँडामुनिको हल्का ओरालोमा कुदिरह्यो पूर्णे । त्यहीँनेर बाटाको छेउमा एउटा लमतन्न परेको ठूलो ढुङ्गा थियो । पूर्णे ढुङ्गाको माथिपट्टिबाट कुद्दै थियो; खुट्टालाई एक्कासि केहीचीजले अल्झाएजस्तो लाग्यो उसलाई; ऊ त्यहीँ भुइँमा लड्यो र उसको टाउको ढुङ्गामा ठोक्किन पुग्यो । पूर्णेले एकजना मान्छेले हातमा डोरी बोकेर नजिकै रहेको अर्काे ढुङ्गाको कापमा लुकेको देख्यो । पूर्णे उठेर दौडन खोज्दा साधुले उसको ढाडमा खुकुरी छप्कायो । पूर्णेको शरीरबाट रगत बग्न थाल्यो । घाइते पूर्णे करायो- ‘छल भयो छल; मलाई लडाएर काट्न पाइन्न ।’
‘तँ जारलाई नकाटी छाड्छु म ! केको छल ? कसले गर्यो तँलाई छल ?’ साधु गङ्गारामले पूर्णेको दाहिने खुट्टामा खुकुरीको अर्काे प्रहार गर्यो । त्यतिन्जेलसम्म पछिपछि कुदेकाहरू पनि त्यहाँ आइपुगिसकेका थिए ।
साधुले पूर्णेलाई घिसारेर ढुङ्गामा लग्यो र मनपरि छप्काउन थाल्यो । पूर्णेको शरीरबाट ह्वालह्वाल्ती रगत बग्नथाल्यो । उसको रगतले त्यहाँको माटो भिज्यो, ढुङ्गामा पनि ठाउँठाउँमा रगतका छिर्काहरू देखिए । त्यो दृश्य हेर्नेहरू कतिले आँखा छोपे; कति डराएर चिहिराए; कति प्रहारहरू त ढुङ्गामा लागेर चोइटै उछिट्टिए ।
रगतपप्छे भएको शरीर बोकेर ढुङ्गामा छटपटाइरहेको पूर्णे निकै बल गरेर बोल्यो- ‘हेर् गङ्गाराम, मैले तेरी स्वास्नीलाई छोएको पनि छैन । तर तैँले मलाई आरोप लगाइस्; म मर्ने भएँ; छल गरेर मलाई मार्ने भइस् । तँ पापी होस्; तँ अधम होस्; तेरो सत्यनास होस् ।’ यति बोल्दैगर्दा पूर्णेले मुखबाट ह्वालह्वाल्ती रगत छाड्यो; एकदमै क्रोधित नजरले गङ्गारामलाई हेर्यो; खुट्टा तनक्क तन्कायो तर उसका एक जोडी आँखाहरू भने ट्वाल्ल खुल्लै थिए ।
पूर्णेले सास फेर्न छोडेपछि गङ्गारामको रिस बल्ल शान्त भयो ।

०००
भोलिपल्ट हल्ला सुनियो- ताराले पूर्णेको घर छाडी रे ! तर तारा कहाँ गई ? कसैलाई पत्तो भएन । अर्कातिर पूर्णेको लासलाई राति नै गाउँका मान्छेहरूले सेतीमा लगेर फ्याँके रे !
०००
बिस्तारैबिस्तारै पूर्णे काटिएको र त्यस ढुङ्गालाई सबैले भन्न थाले- जारकाटे ढुङ्गा ।

(जारकाटे ढुङ्गाको अहिले निसानसम्म पनि छैन । यद्यपि यससम्बन्धी प्रशस्त जनश्रुतिहरूभेटिन्छन् । रामबहादुर बाँनियाजीले कथाको मुख्य स्रोत जुटाइदिनुभएको छ । चित्रकुमारी थापा क्षत्री (९४) र हिक्मतबहादुर थापा क्षत्री(९२) ले यस क्षेत्रका प्रशस्त ऐतिहासिक तथ्यहरूका बारेमा जानकारी दिनुभएको छ । हर्कबहादुर जिसी र कृष्ण थापा क्षत्री (डाँडाथोक) को सहयोगविना यो कथा कहाँ पूरा हुन्थ्यो र !
दीपक आचार्य जसले यो कथालाई अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ । उहाँहरूसबैमा हार्दिक आभार ।)


(पेसाले प्राध्यापक मानन्धर विगत दुई दशकदेखि लेखन विधामा सक्रिय स्रष्टा हुन् ।
[email protected]