लघुकथा–हिन्दी

काठमाडौँ ।
पत्रकार वसन्तप्रताप सिंहको फोटोपुस्तक ’साइपाल हिमाल’ नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधारण सभामा बिहीबार काठमाडौंमा लोर्कापण गरिएको छ ।
फोटोपुस्तकमा साइपाल हिमाल, आसपासको जनजीवन, संस्कृति, चाडपर्व, रंगीचंगी जंगली फूलहरु, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटीहरु, हिमताल, हिमनदी, भूदृश्य लगायत विषयहरु तस्बिरमा समेटिएका छन् । उनले यो फोटोपुस्तक तयार गर्ने क्रममा पछिल्लो १५ वर्षमा साइपाललाई २२ पटक फन्को मारेको बताए । फोटोपुस्तक अंग्रेजी भाषामा प्रकाशित छ । तस्बिरसँगैका साइपाल बेसक्याम्प र उरै पास पुग्ने ‘म्याप’ र ‘आइटिनेरी’हरु समेत समावेश छन् ।
डेढ दशकयता पत्रकारितामा सक्रिय सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् । ’मैले साइपाल र समग्र सुदुरपश्चिमको पर्यटन सम्भावना, चुनौती र अवसरहरुका बारे थुप्रै समाचार र आलेखहरु लेखे, अरुलाई बुझाउन तस्बिरको माध्यम बलियो हुन्छ भन्ने लागेपछि यो फोटोबुक तयार गरे,’ उनले भने, ’सुदूरपश्चिमका हिमालकोबारे सरकार र सरोकारवालालाई जानकारी दिएर यो क्षेत्र पनि पर्वतीय पर्यटनको ‘हब’ हुन सक्छ भन्ने उजागर प्रयास हो ।’
नेपाल पर्वतारोहण संघ र बझाङको साइपाल गाउँपालिकाको सहयोगमा ललितपुरको सानेपास्थित ’म्याप हाउस’ले फोटोपुस्तकको प्रकाशन गरेको छ ।