• २०८३ भाद्र २४, बुधबार

लक्ष्मीकिशोर सुवेदीको ‘शिक्षक आन्दोलनको इतिहास’ सार्वजनिक

काठमाडौं ।

नेपालको शिक्षक आन्दोलनमाथि केन्द्रित भएर लेखिएको किताब ‘शिक्षक आन्दोलनको इतिहास’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । यस कृतिका सर्जक लक्ष्मीकिशोर सुवेदी हुन् । सुवेदी केही समयअघि नेपाल शिक्षक महासंघका अध्यक्ष थिए । सुवेदी सेवानिवृत्त शिक्षक हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा कृतिकारकी आमा अम्बिका सुवेदी, केशवप्रसाद भट्टराई, सोमनाथ गिरी, खगराज बराल लगायतले पुस्तक सार्वजनिक गरे ।

लेखक सुवेदीले पञ्चायतकालका शिक्षक संघ र संगठन, २०३६ सालमा भएको शिक्षक आन्दोलन, उपलब्धि, २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछिका अनेक शिक्षक संघ संगठन लगायतका सन्दर्भमा विविध तथा खोजपूर्ण सामग्री पाठकका लागि पस्केका छन् । पुस्तकमा शिक्षक आन्दोलन र विभिन्न आन्दोलनमा सरकारसँग भएका सहमतिका दस्ताबेज लगायतका सामग्री पनि राखिएका छन् । लेखकले विभिन्न समयमा भएका पेसागत तथा राजनीतिक आन्दोलन तथा यस्तै प्रकृतिका घटनामा सहादत प्राप्त शिक्षकहरूका विषयमा पनि खोजी गर्दैै सामग्री प्रस्तुत गरेका छन् । पुस्तकमा लेखिएअनुसार २२६ जना शिक्षक सहिद भएका छन् ।

कार्यक्रममा किताबमाथि टिप्पणी गर्दै नेपाल शिक्षक संघका पूर्वअध्यक्ष भट्टराईले पुस्तकमा नेपालका शिक्षक संघ तथा संगठन र शिक्षकको पेसागत आन्दोलनका विषयमा प्राथमिक स्रोतसामग्री प्रस्तुत गरिएको बताए । उनले निजामती कर्मचारीको तुलनामा सेवाअवधिको सुविधादेखि पेन्सनसम्ममा विभेद रहेको पनि बताए । कार्यक्रममा नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक जानुका नेपालले किताबबारे बोलिन् । कार्यक्रममा शिक्षक संघका अध्यक्ष गिरि, निजी विद्यालय नेशनल प्याब्सनका सचिव मनोजकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनकी उपाध्यक्ष अम्बिका चापागाईँ, विश्लेषक अरुणकुमार सुवेदीले आफ्ना धारणा राखे । किता ‘शिखा बुक्स’ले बजारमा ल्याएको हो ।