• २०८१ माघ ९ बुधबार

किसन प्रधानको “दृष्य-परिदृष्य” कृति सार्वाजनिक एवम् रचना वाचन सम्पन्न

मिरिक र नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा कवि एवम् समालोचक किसन प्रधानकृत तेह्रौ कृति “दृष्य–परिदृष्य” को लोकार्पण भएको हो । बयोवृद्ध साहित्यकार एसके राईको अध्यक्षता, वरिष्ठ साहित्यकार मदन ओझाको प्रमुख आतिथ्यर र सासुप मिरिकका अध्यक्ष साहित्यकार राजबहादुर राईको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा पीएल जोशी, अमर दुङ्माली र डा. शुकराज दीयाली पनि अतिथिका रूपमा उपस्थित थिए ।

मञ्चासिन अतिथिहरूमा खदार्पणपश्चात् सरस्वतीको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्ज्वलन गरी मञ्चासिन पदाधिकारीहरूबाटै कार्यक्रमको उद्घाटन गरिएको थियो । यसै क्रममा अजम प्रधान, अर्जुन प्रधान, कृष्ण पी ठटाल,भूपाल सुब्बा, जुक्तिमान राई, अनुप भित्रीकोटी र सञ्जित तामाङले कविता वाचन गरेका थिए भने दीप प्रधान र महेश ओझाले कथा, सृजना सुब्बाले अङ्ग्रेजी कविता, शर्मिला प्रधानले गजल र सन्तराज मगरातीले गीत प्रस्तुत गरेका थिए ।

विशिष्ट अतिथि आरबी राई, प्रमुख अतिथि मदन ओझा र डा। शुकराज दीयालीले लोकार्पित कृति दृष्य-परिदृष्यमाथि गहन समालोचना प्रस्तुत गरेका थिए । त्यसैगरी मञ्चासिन सबै अतिथिको बाहुलीबाट कृति दृष्य-परिदृष्यको लोकार्पण गरिएको थियो र अन्त्यमा कृतिकार समालोचक किसन प्रधानले आफ्ना भनाइ राखेपश्चात् अध्यक्षबाट कार्यक्रमको विधिवत समापन भएको थियो । नागरी फार्मको आयोजना, मिलन राईको स्वागत मन्तव्य र शिक्षक एसबी राईको सहजीकरण रहेको कथाकार दीप प्रधानले जानकारी दिए ।