• २०८१ माघ १० बिहीबार

मणि खवास स्मृति पुरस्कार वितरण, सम्मान एवं लोकार्पण कार्यक्रम सम्पन्न

दार्जिलिङ ।

भारतको दार्जिलिङ जिल्लाको कदमतलास्थित मिरिक नगरपालिका निवासी नारी हस्ताक्षर आख्यानकार राधा रसाईली ‘तेस्रो मणि खवास स्मृति पुरस्कार २०२४’ द्वारा पुरस्कृत भएकी छन् । उक्त कार्यक्रममा मणिका सुब्बा खवासकृत पुस्तक (समयका कनिका र रङ), देवीका सुब्बा खवासकृत ‘लालाबाला’ (बाल कवितासङ्ग्रह ) र लोकगायक ईन्द्र थपलिया (व्यक्तित्व र कृतित्व) गरी तीनवटा कृति पनि लोकार्पण गरिएको थियो ।

साहित्यकार लोकनाथ चापागाईँको अध्यक्षता र डा.मोहन पी दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रमा युवराज काफ्ले, पीबी गुरुङ, सुदर्शन अम्बटे, विष्णु ठकुरी, मणिकुमार शर्मा, डीबी खवास, गणेशकुमार प्रधान र राम शाह, डा.सुकराज दियाली, हास्यव्यङ्ग्यकार एवम् नाटककार कृष्ण प्रधान, मञ्जुला सुब्बा, देवीका मंग्राती आदि स्रष्टाहरूको विशिष्ट आतिथ्य रहेको थियो । दिवङ्गत स्रष्टा मणि खवासको तस्बिरमा माल्यार्पण गरेपश्चात श्रद्धाञ्जलीस्वरूप करिब २ मिनट मौनधारण गरी दीप प्रज्ज्वलनसहित कार्यक्रमको उद्घाटन गरिएको थियो ।

साहित्यकाद्वय युवराज काफ्ले र डा.सुकराज दियालीले लोकार्पित कृति ‘समयका कनिका र रङ’ र ‘लालाबाला’ बाल कवितासङ्ग्रहमाथि क्रमशः गहन विश्लेषण गरेका थिए । कार्यक्रममा समाज सेवक केपी शर्मा, साहित्यकारहरू सुष्मा मोक्तान, मात्रिका गजमेर, डा. आरपी गुरुङ, भाषा साहित्य सेवकको रूपमा प्रदीप रसाइली, पुस्तक प्रकाशित गरेर सेवा गरेवापत् खेमराज सापकोटा, उत्कृष्ट आवरण चित्रकारको रूपमा सुरज मोक्तान र समाजसेवी विपी शर्मालाई मणि खवास स्मृति सम्मान २०२४ ले सम्मान गरिएको थियो । सम्मानित हुने स्रष्टाहरूको तर्फबाट प्रदीप रसाइलीले आफूहरू सम्मानित भएकोमा गर्वबोध गर्दै थप जिम्मेवारी प्राप्त भएको बताए । त्यसो त कार्यक्रममा पर्विता गुरुङले कविता वाचन पनि गरेकी थिइन् ।