तिम्रो नाम लिँदा
यौवनले फक्रिएको फुलझैँ
फुल्छ गर्वले छाती
चुलिन्छ नेपाली साहित्यको उचाई
सगरभन्दा माथि
जसरी अनन्त छ अन्तरिक्ष
त्यो भन्दापनि अनन्त छ
तिम्रो कृत्यको महिमागान
सूर्याेदयको दशर्नमा
प्रभातकालिन चराको चिरबिरसँगै
गुुञ्जिने गायत्री मन्त्रझै
जनमनको ओठमा छन्
अजर अमर तिम्रा रचनाका श्लोकहरू
सुगन्धझै सुवासित छ
पुष्पझै पल्लवित छ
तिम्रा पसिनाले सिञ्चित
साहित्य बगैँचा
तिम्रा लागि
वेदमन्त्रझै पवित्र बन्यो
घाँसीको प्रेरणा
ओहोरो दोहोर गरिरहेका छन
तिमीले बनाएको भाषाको सेतुमा
युगौ देखि युगसम्मका
हृदय देखि हृदयसम्म
जनमनका भावना
भाषा शिष्ट र विशिष्ट भयो
तिम्रो कलमबाट जन्मिएपछि
साहित्य कालजयी बन्यो
तिमीले मौलिकता भरेपछि
हर रचनाले रूप पाए
हर कलाले अनुहार सजाए
हर शब्द सजीवभए
हर भाव नजिकभए
तिम्रो दृष्टिबाट सृष्टि भएपछि
माउले बचेराको आहार भनेर
बोकी ल्याएको चारो बने
तिम्रा रचना हाम्रा लागि
त्यसैले तिमी
ऋग्वेदझै आदिहौ
हाम्रा माझमा
ऋतु झै वसन्तहो
साहित्यको बागमा
भानु
तिमी सधैंभरिलाई यसरी नै पुज्य हुनेछौ
हामी सधैंभरि स्नेह चढाइ रहनेछौँ
हावाको स्पर्श पनि नपुगेको
हृदयको बारीमा फुलेको
शब्दरूपी श्रद्धाका फूल
केवल तिम्रालागि
हामी निहुराउँने छौँ
कहिँकतै कहिले पनि नझुकेको शिर
तिम्रो सम्मानका लागि ।
सुषमा (अंशु)
[email protected]