• २०८१ माघ ५ शनिवार

डार्बिन र गुहेश्वरी

एस. आर. ढकाल

एस. आर. ढकाल

हाँसौँ है त !
भरखरै प्राप्त समाचार अनुसार बाँदर र डार्विनको पहिलो भेट गुहेश्वरीमा भएको कुरा पत्ता लागेको छ । डार्बिनसँग विकाशवादलाइ मूर्तरूपमा परिणत गर्न यूट्यूब च्यानलको स्रोत अनुसार वनकालीको श्लेष्मान्तक वनमा बाँदरको ठुलो हुल जम्मा भयो । कोही पूर्व तिरको झाडीबाट आएका थिए कोही पश्चिमको जंगलबाट लावा लश्कर सहित आएका थिए ।

बाँंदरको आफ्नो आफ्नो गुट हुन्छ प्रत्येक गुटको एउटा सरदार हुन्छ । गुटबीच आपसी द्वन्द ठुलो हुन्छ तरपनि बाह्य गुटको जित हुने वातावरण देखियो भने ज्यानबाजी लगाएर आफ्नो पक्षमा युद्ध गरेर घुसपेठियालाई भगाउँछ ।

एक पटक ठुलो बुलाहाले जंगलमा सबै बाँदरहरूलाई बोलाएर बाँदर एकताको प्रस्ताव राख्यो प्राय सबै बाँदरहरू सहमत भए । बाँदरको चलन के छ भने सहमतिमा नमिल्नेलाई समुहबाट खेदेर एक्लै बनाइन्छ । त्यो बेला पनि कोहीकोही एक्लिएर छुट्टिए तिनीहरूको आपसमा पानी बाराबारनै हुन्छ । जंगलमा त्यो एक्लै बस्छ त्यसलाई एक्ले बाँदर भनिन्छ ।

त्यो महान भेला पछी तिनीहरूको शक्ति बढ्यो जंगलमा रूखहरूको सत्यनास गरे मसिना मुना टुसाहरू भाँचेर खाएर आधा जंगलनै सखाप पारे । ढेडु-बाँदर, चिम्पान्जीहरू छक्क परेर हेरिरहे । जंगलमा कुनै ठाउँ बाँकी नराखी भत्काउनु भत्काए ।

बुलाहाहरू पनि एक आपसमा मिलेर बस्न थाले कहिले काहीँ सुन्दरीहरू संगको प्रेम वार्तालापको बखेडामा सानो तिनो ठ्यास ठुँस्स बाहेक ठुला झगडाहरू समाप्त हुँदै गए ।

शक्ति यति बडेर गयो कि तिनीहरूको विरूद्धमा चराचुरूंगी हरूले गाउने गीतहरू बन्द गर्नु पर्यो । जुरेली मजुरहरूले गाउन नाच्न लुक्नु पर्ने भयो ।

कविता लेख्ने सुगाहरू थुनिए ।

एकछत्र राज जंगलमा बाँदरहरूको चल्यो भेटेको बाँडि चुँडी खाए ।सुन्दरीहरू पनि मिलेर बस्न थाले । जंगलमा अरू जनावर सहित पंछीहरू सबैको आवाज बन्द भयो । रूखको टुप्पा, हाँगा, डाँठ, भुँइ, जराहरूमा उनीहरूनै दुबो र सुनाखरी सरी फैलिए । रूखका मुनाहरू समाप्त बनाईदिए । बिचरा खङ्ग्रङ्ग भएर सुके जस्तो छ रूख अहिले ।

अब उनीहरूमा निकै ज्ञान पलाएको आभासले डार्विनको सिद्धान्तमा मानवपूर्खा रहेको प्रमाणित भयो ।
अब जंगल जंगल पात हाँगा हाँगा कति कुद्ने भनेर एउटा ठुलो घर बनाउने जाडोमा पनि न्यानो पारेर बस्ने गर्मीमा शितल बनाएर बस्ने घामपानी छल्ने भन्ने सल्लाह भयो । मान्छेहरूले पनि हाम्रै पुर्खा हुन भनेर डाडाभाटा, टिनको छाना, तिरपाल सहयोग गरे । सहयोगमा जम्मा भएको सामग्री कतिले च्याते कतिले गर्लफ्रेण्ड लाई उपहार पनि लगिदिए जे भएपनि घर बनाएर चाबी जिम्मा लगाई दिए ।

यसरी निकै विहानीहरू, निकै रातहरू कटेर गए । उनिहरू बीचको अन्तर द्वन्द समाप्त भएर जंगलनै कब्जा गरेको देखेर सबै जंगली जनावरहरूमा त्रास पनि बढ्यो । जे होस् त्यो जंगलमा तेत्रा बाँदरहरू भेला भएर आफ्ना सुन्दरी, सुन्दरीका बैनीहरू, गर्लफ्रेण्डहरूलाई भण्डार, चुला चौकाको चाबी बाँडे ।

अब खिचडी पकाएर खाने बेला भयो खिचड़ी खुब मजाले पाक्यो । कोही पुन्यु चाट्न थालें, कोही हत्केलामा तातो खिचड़ी थाप्न थाले, हत्केला पोल्यो भुँइमा फ्याँक्न मिलेन तातै मुखतिर हाले पेटमा त पुग्यो तर जिब्रो घाँटी सबै पिल्साएर पुग्यो । सबैलाई भाग पुगेन । रिसाउन थाले, कराउन थाले, बाझाबाझ गरेर भाँडो तानातान गर्न थाले । रूखमा बसेर तमासा हेरिरहेको निकम्मा जम्बुवानले भाँडो लिएर मजाले हाँगामा बसेर तातो खिचड़ी सबै लपालप पार्यो ।

खिचडीको भाँडै हराएकोमा उनीहरू बिचमा कसले लुकायो भन्नेमा ठुलै द्वन्द्ध शुरू भयो । कोठामा रहेको बडेमानको ऐना भुँईमा खसेर हजारौं टुक्रामा विभाजित भयो । एक एक ओटा टुक्राहरू उठाएर बाँदरले ऐनामा आफूलाई हेरे । म त यस्तो पो रहेछु भन्दै त्यही ऐनाका टुक्राहरूमा आफूलाई हेर्दै हुलहरू विभाजित भएर तितर बितर भए । अहिले पशुपति गुहेश्वरी स्वयम्भु तिर मंदिरमा चढाउन बोकेको प्रसादको थालीमा खिचडी छ कि भन्दै खोसेर भाग्न थालेका छन् । अवरोध देखिएमा आक्रमक शैलीमा झम्टन्छन ।
डार्विनको विकाशवाद यिनले फेल गराइ दिए । मंदिरमा फूलपाती बोकेर जाँंदा होस गर्नु ।


एस.आर. ढकाल चर्चित कवि तथा साहित्यकार हुन् । (अमेरिका)
[email protected]