• २०८१ माघ ११ शुक्रबार

कविता

बिमला ढुंगाना निरौला

बिमला ढुंगाना निरौला

झुल्के घाम साक्षी राखेर
शंखनाद संगै माटो समाएर
तन र मन दुबै सुम्पिंदै
धर्तीआमाको छातीमा हात राखी
खाएर कसम
गरेर पवित्र प्रतिज्ञा तिमीले
हे देश भक्त फुक ! चांडो फुक !
फुक परिवर्तनको बिगुल फुक !

अँध्यारो कालो रात छिचोल्दै
मिर्मिरेको किरण झैँ
चेतनाका पुञ्ज लिएर
लम्काउ अव दर्बिलो,
उत्कृष्ठ र सहासी कदम !

पार्टी, क्षेत्र, जाती र
रंगभेदभन्दा माथी उठेर
समानताको चस्मा लगाई
निस्वार्थी, प्राञ्जल
र जनभावमा परिस्कृत
ती दिव्य विचारहरू
मनको आँगनमा बिस्कुन फिँजाएर
बिछ्याएर निस्वार्थको मान्द्रो !

फराकिलो चेतना,
दर्शनीयकला
र विवेचकनीति
समेट्नलाई शुभकापलहरू
हेरेर निमुखाको निर्दोष नयनबाट
उठेर झुपडीको बस्तीबाट
बनेर आसहायको दर्पण
बटुलेर हृदय भरी
जनमोहका चाङहरू ।

त्यागेर यी कुरौटे खेतीहरू
उब्जाएर विश्वास, हुर्काएर सद्भाव
निर्मुल पारी वैमनस्य, फ्याँकेर द्विविधाहरू
चिथोरेर शक्ती, शान र दम्भको उर्वरालाई
निर्मूल हुन देऊ स्वार्थ र अहम्
निचोर मनको कालो अनि टक्टक्याऊ र
कन्चनपार आफ्नै देह
हो, अबफर्क ! देवर्षी आचरणमा
दुर दृष्टि र द्विजत्व छवि लिएर !
विश्वास र भरोशाले
सङ्कल्पेर स्वयंलाई
पढ जन मनकालिपिहरू
छाम यी कौतुहल हृदय
असंख्य असन्तुष्टमनहरू
तिनै पदचाप संगै
सुनौलो बिहानी

त्यो दिव्य र दिग्विजयी पलको
प्रतिक्षारत छौं ! प्रतिक्षारत छौं !!


(भर्जिनिया, युएसए निवासी निरौला चर्चित कवि तथा साहित्यकार हुन्)
[email protected]