• २०७९ चैत १५ बुधबार

भागीरथीले सराप्नु नपरोस्

अम्बिका अर्याल

अम्बिका अर्याल

किन धरापमा पर्छ सधैँ नारी अस्तित्व ?
किन मारिन्छन् भागीरथी र निर्मलाहरू ?
किन बहन्छन् अश्रुधारा निर्दाेषी नयनबाट ?
किन जुट्दैनन् तथ्य अपराधीका ?
किन काटिन्नन् उन्मत्तका मातहरू ?
किन डराउनुपर्ने बाटो हिँड्न पनि छोरीले ?
किन बन्दैनन् कानुनी कठघरा बलात्कारी नासिने ?
किन सोच्दैनौ गद्दी बाहिरका कठिन जिन्दगी ?
कति खेल्छौ छिमेकी हँसाउने खेल घरभित्रै ?
के हेर्छाै ब्वाँसाले लुछिसके दिदीबहिनी ?
किन देख्दैनौ घरभित्रै नाचेका राक्षस ?
किन लाग्दैन घैँटामा घाम तिम्रा ?
उसै त उपमा छ सतीले सरापेको देशको
अब निर्मलादिका सरापले पुग्छौ कहाँ ?
दुष्ट राक्षसका कर्तुत बढिरहे यसरी
अब के जन्मेलान् नयाँ छोरीहरू ?
कसरी बाँच्लान् जन्मेका छोरीहरू ?
के चैन होला बाबुआमाको हृदयमा ?
कतै आफ्नै छोरा बन्ला कि अपराधी ?
कतै आफ्नै छोरी नरहली कि जीवित ?
कहिलेसम्म भगवान् भरोसामा बाँच्ने हामी ?
विष्णुका अवतार मानेर आफैँ
भक्तका भीडमा पूजा थाप्दै हिँड्ने हो !
किन देख्दैनौ भक्तका मनभित्रका गहिरा त्रास ?
किन बुझ्दैनौ आफ्नै जननीका पीडा ?
अब खोकेर हैन
बलात्कारीका उन्मत्त अङ्गमा ठोकेर
जीवन बदला मागिरहेका
पीडितलाई न्याय दिन नसक्दा तिमीहरूले
साँच्चै, फर्किएर जन्मभूमिप्रति
निर्मलाले झैँ क्रोधाग्निमा
भागीरथीले समेत सराप्नु नपरोस् ।


(अर्याल चर्चित साहित्यकार हुन् ।)
[email protected]