• २०८३ भाद्र २६, शुक्रबार

कालो बिहान

युवराज भण्डारी

युवराज भण्डारी

उता हिमालको काख चिरियो,
यता उर्लियो भोटेकोशी ।

कुन पीडाको भेल उर्लियो त्यहाँ ?
कुन मौन चीत्कार बोकेर
ल्हेन्दे खोलाले ल्यायो
विनाशको त्यो खबर ?

प्रकृतिको ताण्डवसामु
क्षणभर रोकिएझैँ भयो समय,
स्तब्ध भए
रसुवाका डाँडाहरू ।

म यसलाई
एउटा समाचार मात्र ठान्दिनँ ।
हराएका प्रत्येक नामभित्र
एउटा अधुरो कथा देख्छु ।

टिमुरेको हावामा
एउटी आमाको विलाप सुन्छु,
स्याफ्रुबेँसीका बाटाहरूमा
आफन्त खोजिरहेका आँखा देख्छु ।

ती केवल सङ्ख्या होइनन्
ती कसैका प्रार्थना हुन्,
कसैका अधुरा सपना हुन्,
कसैको घर फर्किने प्रतीक्षा हुन् ।

भोटेकोशी !
तिमी केवल उर्लिएको पानी होइनौ,
तिम्रो धमिलो छालभित्र
कैयौँ आँगनका अन्तिम पुकार छन् ।

यी पहाडहरू पनि
आज ढुङ्गा र माटो मात्र होइनन्,
आफ्नै घाउ बोकेर
चुपचाप रोइरहेका छन् ।

कोही गोसाइँकुण्डको बाटोमा थिए,
कोही पसिनाको मूल्य खोज्दै थिए,
कोही साँझ घर फर्केर
आफ्नाहरूको मुस्कान भेट्ने आशामा थिए ।

तर त्यो कालो बिहानले
कति उज्याला सपना बगायो,
कति साहसी पाइला
बीच बाटोमै सम्झना बने ।

अझै पनि सुरुङभित्र
कैयौँ हात जीवन खोजिरहेका छन्,
भग्न बाटाहरूमा
सहयोगका पाइला उठिरहेछन् ।

तर अँध्यारोभित्र पनि
एउटा दीप बाँकी छ
बाढीले निभाउन नसकेको
मानवताको त्यो ज्योति ।

भोटेकोशी !
तिम्रो बहावले धेरै कुरा बगायो,
तर बगाउन सकेन
मान्छेको धैर्य,
करुणाको शक्ति,
र छातीभित्र बलिरहेको
आशाको उज्यालो ।


युवराज भण्डारी