• २०८१ चैत ६ बिहीबार

किन पिताश्री ?

धनराज गिरी

धनराज गिरी

प्रोफेसर प्रजापति नीरजोपाध्यायका दुई सुपुत्रीहरू, रमा र वागीश, जुम्ल्याहा ।  ब्याचलर, सेकेन्ड इयर, बैकुण्ठनगरको ‘जय नेपाल’ ‘लालसलाम’ बहुदुखी क्याम्पसमा पढ्दै । दुई नै उत्तिकै चारु, तर अचम्म, रमाको पछि लाग्ने भमराहरू अति, कति कति, बिचरी वागीश जिल्ल, कोही पनि छैन । भ्यालेन्टाइन डे आयो,शून्य भमर । शाश्वत धाम जाने रहर उनलाई पनि थियो । युग्मको महत्व नबुझेकी होइन । कक्षामा प्रोफेसर प्रीतम प्यारेले प्रेमिल शेर भन्दा उनको मनमा पनि ‘कुछ कुछ होता है’ भएकै हो । पुरुष स्पर्शको रोमान्चकता मनले अनुभूत गर्न खोजेकै हो । तर, तर,उनी त कुण्ठाको सिकार पो । पिताजी ब्रह्माका मितवा प्रजापतिले यो कुरा अलि अलि लख काटे, किन उदास छे वागीश, अर्थात् मेरी भारती, शारदा, सरस्वती, वागीश्वरी ! किन ?

किन पिताश्री ? किन ? उल्टो प्रश्न पो छोरीकै।, किन पिताश्री, धर्मेन्द्र, जीतेन्द्र, राजेश खन्ना, अमीताभ बच्चन, देव आनन्द, सबै रमा उर्फ लक्ष्मीको पछि लागेका ? के म विरूपाक्ष छु । ? के म सित पुरुष नामको भमरलाई आकर्षण गर्ने लावण्य छैन ? हजुरको सृष्टिमा यो भेदभाव किन पिताश्री ? रुन पो थाली वागीश । निकै चित्त दुखेछ । छोरी, तिमी कोहेनूर, तिमी सात सूर, तिमी अलग तारा, सरस्वतीलाई प्राप्त गर्न सजिलो छैन । चानचुने साधनाले सरस्वती प्राप्त हुन्न । तपस्या गर्नुपर्छ भुवनहरि सिग्देलले जस्तो, प्रोफेसर इमाननारायण गिरिजालोपाध्यायले जस्तो, सस्तो छैन मेरी छोरी । तिमी दुर्लभ, लक्ष्मीको पछि दुनियाँ दौडिन्छ, लक्ष्मीको रूप नै त्यस्तै छ, यो प्रारब्ध हो, विधिको विधान हो,दुनियाँको, यो वैश्य युगको लीला हो । आफ्नो अस्तित्व बुझ। तिमी, तिमी हौ । तिमी ‘रफी’ हौ । कुरा अभिधामा नबुझ्नू । लक्ष्मीको आफ्नै दुनियाँ छ, तिम्रो आफ्नै । मेधावीको गन्तव्य हौ तिमी । सालाखालाहरू तिम्रो नजीक आउने हिम्मत गर्दैनन् । तिमी झारपातहरूको निम्ति यो धरतीमा आएकी होइनौ । मैले यसो भनेर लक्ष्मीको मूल्य गिराउन खोजेको होइन नि । बैकुण्ठ जिन्दावाद भन्न कैलाश मुर्दावाद भन्नुपर्दैन । तिमीहरू पनि दुई नैन हौ मेरा बैनीलाई स्नेह गर, लक्ष्मी तिम्री बैनी, अलि चन्चल छे, मानवता र विवेक सिकाउने काम तिम्रो । लक्ष्मीलाई लीकमा ल्याउने सरस्वतीले हो, बादशाहलाई योगीले तह लगाएजस्तै, वानरलाई नरनाथ फित्कौली सम्राटले तह लगाएजस्तै ! धन्यवाद पिताश्री ! वागीशको अनुहार उज्यालो भयो ।