साराँश हो जिवन पुस्ता- दर- पुस्तादेखिको
मानवमनका अपरिमित ब्ल्याकहोलदेखि उद्वेलित गुफासम्मको
उज्याला प्रहरदेखि अँध्यारा तमसुकसम्मको
पलहरू जो
असिनाजस्तै झर्दाझर्दै पग्लिएर विलुप्त भए,
रसाएर पहरादेखि बीचगोरेटोमै बग्दाबग्दै गतिहीन भए
पीरहरू जो-
मनका पिरामिडहरूमा ‘मम्मी’ बनी,
युगदेखि शताब्दी र
शताब्दीदेखि हर सभ्यतासम्म पुनर्जीवित रहे
के सभ्यताहरूको आकाशगङ्गा मूर्छित रहन्छ यसरीनै ?
के डर लाग्दा छैनन् कत्ति पनि मृत्युपूर्वका उत्सवहरू ?
युगयुगका ती विषाक्त विचारहरू जो खपिनस्कनु ;
तथा भयङ्कर थिए-
तर कस्तो विश्वास ? अश्वमेध यज्ञदेखि पुरूषमेधसम्म
मानिस यथार्थमा के मानिस भएकै थिएन ?
तर कस्तो प्रथा ? दासत्वपूर्ण स्वीकृतिमा
अस्वीकृत समूहको अर्थहीन जीवन !
र पनि यौवनको मधुमासमा
सूर्योदयसँगै कोरिने साँध के सूर्यास्तसँगै मेटिएको थिएन ?
ओहो ! किन भत्किँदैनन् आडम्बरयुक्त स्वभावका चारखाल अड्डाहरू ?
किन ढल्दैनन् गल्र्याम्म चित्तदुखाइका अन्तर्मुखी मिनारहरू ?
निमेषभरका लागि
निमेषभरका लागि
निमेषभरका लागि !
कस्तो अर्थ माटोको ?
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’
कस्तो अर्थपूर्ण मरण ?
युद्धभूमिमा ‘वीरगति’
र अग्निदेवको पवित्रतामा ‘सतित्व दहन’ ।
तर; आज पनि त उस्तै छन्
तिम्रा भाइरसयुक्त डसाइका पर्वहरू
मनभरि पसाएका मेरा डामैडामका यामहरू
र त जब्बरजस्ती खोस्न मन लाग्छ
तिम्रा ती महायुगीन सुःखद क्षणहरू
क्षणहरू
क्षणहरू !
उब्जिन्छन् कि समयमको गर्भबाट प्रतिरोधात्मक शेषनागहरू
वा जन्मिन्छन् फेरि गान्धी- लुथरका प्रभावशाली परिवेशहरू ?
हे मेरो ब्रह्म ! हे मेरो सत्व !
अनन्त प्रतिस्पर्धा न हो शूक्रकीटहरूको
जहाँ असङ्ख्य सम्भावनाहरूको मृत्यु हुन्छ
त्यहीँ असङ्ख्य सम्भावनाहरूको फेरि जन्म हुन्छ
ओहो ! कस्तो अद्भुत नियम प्रकृतिको ?
खुसी नै खुसीका रङ्गीन कथा पनि छन्
नफक्रिँदै ओइलिएका रङ्गहीन व्यथा पनि छन्
कस्तो बाध्यता,
समयको हर अंशका चरचरबाट पलाएका छलकपटहरू
र समय प्रतिकूल उर्दीले दिएका वेदनाका छटपटीहरू
हर युग र हर सभ्यता हो- जीवनको सारांश
वा हो रूपान्तरण तमसो मा ज्योतिर्गमय
ज्योतिर्गमय
ज्योतिर्गमय।
सारांश हो जीवन पुस्ता- दर- पुस्तादेखिको
मानवमनका अपरिमित ब्ल्याकहोलदेखि उद्वेलित गुफासम्मको
अँध्यारा तमसुकदेखि उज्याला प्रहरसम्मको ।
(अर्थशास्त्रका प्राध्यापक डा. शर्मा पोखरा विश्वविद्यालका पूर्व रजिस्ट्रार हुन् र विगत चार दशकअघिदेखि साहित्यसिर्जनामा सक्रिय छन् ।)
[email protected]