• २०८१ पौष २९ सोमबार

मुक्तक

मञ्जुराज गिरी

मञ्जुराज गिरी


हिम्मत गर्नुस् कमसेकम आँट गर्ने गर्नुस्
गोडमेल गर्नुस् सपना छाँटकाँट गर्ने गर्नुस्
आश्वासन मात्रै त हो यो सरकारले साट्ने
सुखदुःख आपसमा साटासाट गर्ने गर्नुस्


थिए नानाथरी थिए खुरापाती याद आइरहन्छ
भतभत पोल्छ अचेल छाती याद आइरहन्छ
दुःख लागेन दुश्मनहरूले बरू दुश्मनी निभाए
आफन्तै बन्या थे विश्वासघाती याद आइरहन्छ


आफू चढ्दै उकाला झर्दै ओराला काम गर्छिन्
घामले डढेर कालै भएपनि छाला काम गर्छिन्
छाक टार्न उज्ज्वल भविष्य बनाउन सन्तानको
आमाले पिठ्युँमै बोकेर लालाबाला काम गर्छिन्


जसरी भएपनि आखिर यो जीवन चल्दो रहेछ
सम्हाल्न सके आफूले आफ्नो मन चल्दो रहेछ
थोरै खुसि भेट्दा आफू सन्तोष हुन सिकेपछी
नभएपनि अरूको साथ समर्थन चल्दो रहेछ


गलत बिचार गलत कामले परेको छाप पखालेर
हिड्नुस् कु- बिचारले टेकेका पदचाप पखालेर
रत्नाकरबाट वाल्मीकि पक्का बन्नेछ यो दुनियाँ
आफू बुद्ध बनिदिनुस् आफ्नो सारा पाप पखालेर


(दैलेख निवासी मञ्जुराज गिरी युवाकवि हुन् ।)
[email protected]