• २०८२ बैशाख ५ शुक्रबार

हृदयको कोलाजमा बज्ने धुन

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

इङ्ल्यान्डका प्रसिद्ध वैज्ञानिक तथा साहित्यकार एल्डस लियोनार्ड हक्सको विचारमा- ‘दर्शनविना जीवन बिताउन असम्भव नै हुन्छ । जीवन र संसारका बारेमा आफ्नो धारणा बनाएर मानिस अघि बढिरहन्छन् । चिन्तन नै नभएका व्यक्तिको जीवनमा पनि यो लागु हुन्छ ।’
जीवनबारे पूर्ण ज्ञान नहुँदानहुँदै पनि जीवनलाई मीठो गीत ठानेर हृदयको कोलाजमा छाम्नदै छु आफूलाई । थाहा छैन जीवन कतिकति कौतुहलताबीच अघिबढेको छ । एउटा रहस्य उद्घाटित भैसक्दा अर्को रहस्य जन्मँने यो जीवनको दुखाइ हो कि जीवन- दर्शनको लयमा बग्ने खुसीको तरङ्ग हो । यसलाई बुझेर सिलसिलावद्ध मिलाउन सके आहा !
जीवनमा कुनै न कुनै रूपले जोडघटाउको हिसाब गर्ने अवस्था पनि आउँदो रहेछ कहिलेकहीँ । कुरा नबुझेर पनि जीवनप्रति अनेक धारणा बनाउन हामी उद्वेलित भइरहन्छौँ । चेतनाको तहबाट चिन्तन गरे मानवजीवन सार्थक छ भन्ने सोच्छु र सोचिरहेकी हुन्छु भित्रभित्रै एकतमासले । अनि अर्को कुरा हामीले पढेको पाठभन्दा हाम्रो जीवनले अनुभव गरेका पाठ यथार्थमा ज्ञानका साक्षी हुनसक्छन् । यो एउटा प्रज्ञाबोधले देखाएको जीवन- दर्शन होला सायद ।
जीवन प्राप्तिसँगै अभावको विकराल लयमा बगिरहेछु र भोगिरहेछु । अभावमा पनि प्राप्तिको आशामा हरेक मान्छे अघिबढेझैँ म पनि अघिबढ्दै छु । आफूले भोगेका, भेटेका यावत शृङ्खला सही अर्थमा जीवन- दर्शन हुन् जस्तो लाग्नु कुनै विरोधाभास हुन्छ त ?
ममाथि एउटा आकाश छ, अनेकरूप देखाएर फराकिलो भैरहेछ, आफ्नै अस्तित्वसँग रङिने कलाकृतिमा उदार हुनसक्ने । धर्ती छ एउटै, आफैँले टेकेर स्पर्श गरेको सुन्दर सर्ग आफ्नै अस्तित्वको पिरामिड । म चैँ किन एक्लै भए भनेर छटपटिरहेछु । आफू उभिएको धर्ती र आफूले देखेको आकाशको भूगोलभन्दा पर अर्को भूगोलको मानचित्र अन्दाज लाउन नसके पनि के फरक पर्छ र ? आकाश र धर्तीबीचमा भएका प्रकृतिका अनेकन सङ्ग्रहहरू पनि कतिकति एक्लोएक्लो छन् । अनि प्रकृतिको सङ्ग्रहमा भएका अतयवहरूको सौन्दर्य हेरेर पनि नटुङ्गने रै’छ । कहिलेकाहीँ त सोच्छु, आकाशलाई पनि स्पर्श गर्नसक्नु नि, तर सकिँदैन अनि छोएर पनि के नै पो होला भनेर अरूलाई नभनी आफैँ चित्त बुझाउँछु । यसले भरिनु र खालि हुनुको अर्थमा जीवनको लय कहिलेकाहीँ बित्थामा छरपस्ट पार्छु र उदासीन क्षणको सम्झनामा हराउँछु पनि । तर, आफ्नो जीवनलाई सुन्दर र सार्थक बनाउन उज्यालोको खोजमा लाग्नु पनि जीवन- दर्शन हो भन्ने कुरामा तरङ्गित हुँदै हृदयरत बगिरहन्छु । आफ्नो प्रज्ञाबोधको आकाश छामेर जीवन भेटिए कति गज्जब हुन्थ्यो यस सृष्टिको लय ।
ममा एउटा जिज्ञासा उत्पन्न हुन्छ कुनैकुनै वेला । त्यो हो, हामी जन्मँदै तय भएको आयु नै आफ्नो जीवन जिउने दर्शन हो भन्ने हामीले स्वीकार गर्दैआएका छौँ कि छैनौँ । यो एउटा चिन्तन त छँदैछ । तर सम्भावना हुनैनसक्ने बाल्यकालको लोभ हामी सबैमा हुनु जीवनको कस्तो तिर्सना हो । कुनै व्यक्तिको आयु जतिसुकै किन नहोस्, दिन आएपछि सकिनैपर्ने यो संसारको नियम बदल्न कसले सक्यो र सक्छ ! सम्भावना छ त ? हत्तेरिका म पनि कस्तो बहकिएर मृत्युको लयमा निर्घात डुब्न लागेँछु उफ ! तर मृत्युजतिको सत्य दर्शन यस संसारमा अरू केही छैन भन्ने पनि त भुल्नु भएन नि ? जति, जे गर्ने हो मान्छेले बाँच्दै गर्ने हो । सत्कार्य गर्नेहरूलाई सबैले प्रिय मान्छन् र मनमा राख्छन्, कुकर्म गर्नेलाई मरेपछि पनि धिक्कार्छन् ।
बिहान, दिउँसो, साँझ र रातको रङले आकाशलाई सौन्दर्य दिएझैँ प्रज्ञाबोधी मान्छेबाट उचाइ विचरण गर्नु कतिकति अर्थपूर्ण हुन्छ । यदि त्यसो नभए त विद्वान् र मूर्खबीचको दूरी आकलन गर्न सकिँदैनथ्यो होला नि ! अनि विद्वान्  को भावना विस्थापित भयो भने अक्षरको सौन्दर्यमा कसरी विश्वास गर्ने ! जीवनमा यो विश्वास भएन भने निरर्थक हुन्छ र त्यसको परिणाम धरापमा पर्छ ।
हामीलाई अर्धज्ञानका पीडक मानिस पनि त्यति मन पर्दैन । तर, समयसँगै ज्ञान भएर थोरै बोल्नेभन्दा ज्ञान नभएर धेरै बोल्नेको वर्चश्व छ । आफू कति अग्लिन सक्छु भन्ने होक्का नभई सतह नै छाडेर धुरीमा चढ्नेहरू एक दिन त पछारिन्छन् । यस्तो महत्त्वकाङ्क्षी प्रवृत्तिबाट मानिसको जीवन सङ्कटमा पारेर भए नि उचाइको भ्रमले हाम्रो इगो बढिरहेको छ । तर, हामी सबै पानीमाथिको ओभानो हुन खोज्छौँ । यो मानिसको दम्भ हो या मूर्खताको जड हो बुझ्न सकिनँ । तर यस्ता कर्म गर्नु साँचो अर्थमा एउटा जर्जर पीडा हो भन्ने थाहा भएर पनि कहिलेकाहीँ मबाट त्यस्तै भइदिन्छ त के गरौँ !
जे होस् मलाई उज्यालो मन पर्छ र उज्यालोको खोजीमा नै नित्य मन हृदयको कोलाजमा राखेर दौडाइरहन्छु । दौडिनु भनेको पनि त मनसँग नै रै’छ नि ! लेखनमा पनि उज्यालो चिन्तनको अनुमोदन गर्नु मष्तिष् भन्दा मन र हृदय नै शक्तिशाली हुने । यो विचलन त हैन कतै भनेर कहिलेकाहीँ एकाएक तर्सन्छु । उज्यालोमा रमाएझैँ अँध्यारोको पनि हेक्का राख्ने बानीले बचेकी छु सायद । त्यसैले समयको सत्यतामा यी एकअर्काका पूरक हुन् भन्ने लाग्छ । अनि आफ्नो सामथ्र्यभित्र आफैँलाई खोज्दै जीवनको सुन्दर लयमा बज्दै रमाउने प्रयत्नमा म नित्य जुटिरहन्छु । यसो गर्नु मेरो जीवन- दर्शनको अर्थ हो कि के हो कृपया भन्दिनू न !
‘यदि तिमी उड्न सक्दैनौ भने कुद, कुद्न पनि नसक्ने भए हिँड, अनि हिँड्न पनि नसक्ने भए सोच, जे गरे पनि तिमी आफूलाई अगाडि बढाऊ’ अफ्रिकी- अमेरिकी नागरिक अहिंसावादी सङ्घर्षका प्रमुख नेता थेमार्टिन लुथर किङ जुनियरले भनेजस्तै पहाडको टाकुरा छुन नसके पनि मलाई गुनासो छैन् । मेरो चेतनाको तह जति छ, त्यसमा म अवश्य पुग्छु नै । अनि अरूको कुरा म भन्दिनँ भन्दा पनि अक्षरमा असरल्ल छरिएर मलाई नै आक्रान्त गर्छ किन होला ! मानिसहरू हर क्षण भागदौडमा लागेका छन् । यसमा म पनि नमुछिएकी त कहाँ छु र ? तर अरूको विज्ञता नबुझी विरोध र समर्थन गरेर विनासित्तै उचाल्नु र पछार्नु भरसक म गर्दिनँ । समय जे- जस्तो गतिमा चल्छ, चल्न दिनु नै बुद्धिमानी हो भन्ने ठानेर अघि बढिरहन्छु चुपचाप । यो मानवताहीन समयमा हामी सबैको जीवन मूल्यहीन भइरहेको छ । मूल्य र अवमूल्यनको कुरा सोच्दा विश्वप्रसिद्ध दार्शनिक सात्र्रको संसार नै निरर्थक छ भन्ने विचार एकाएक आगाडि आउँछ । तर यसमा गहिरिन चाहन्नँ र भाग्छु ।
ठूलाको कुरामा विश्वास गर्नमा हाम्रो चेतना सलबलाएर कुरै नबुझी स्वीकार्छौं । तर सानालाई मान्छे नगन्ने चिन्तन हामीमा छ । यो अशोभनिय, निन्दनीय र अनर्थको सोचबीच जीवनले रहस्यका कति र कस्ता शृङ्खलाहरू पार गरिरहेछ । हर क्षण रहस्य बनेर आउने जीवन भोगाइ उफ ! सुगम सपनालाई विपनाको रूप दिनसके जीवन बाँच्नुको पृथकतासँग सहमत भएर निर्वाध भावुक बनिरहेछु ।
अक्षरको बाटो खोज्नु हो र त्यसमा नै हिँड्नसक्नु हो भने यात्राको आयाम निकै सुन्दर, पृथक र स्वतन्त्र हुन्छ भन्ने मान्यता छ । यहीअनुसार समय जे- जसरी बग्छ समयलाई बग्न दिएर नै इतिहास रच्न सकिन्छ । समयले हातमा दिएको अवसरका खोली नबुझ्नेहरू पछुताउछन् । अवसर नहुँदा थाक्नु र त्यसलाई नै आफ्नो भाग्य सम्झनु हो भने जीवन नकारात्मक हुन्छ । कसैले उपेक्षा गरेर निरीह बनाउन खोजे भने आफूमा भरोसा राखेर झन् बलियो हुनु बुद्धिमानी हो । ‘जोसँग भरोसा हुन्छ, ऊ हार्दा पनि कसैले हरेको हुँदैन’ भन्ने अज्ञातको उक्तिलाई मनन गरेर समयसँग हर क्षण प्रेम गर्दै अघिबढ्दै रमाउँछु । जीवन हुनुको सौन्दर्यमा यही ठीक हैन र ? यो संसार विचरण गर्ने सुन्दर र शाश्वत शक्ति भनेकै आँखा हो । तर आँखाले देखेजति सबै कुरा पनि त सत्य र सुन्दर नहुनसक्छन् नि त ! अनि नियतबाट पनि आँखामा खोट हुने कुरा हामीलाई थाहा छैन र ? हाम्रा पुर्खाले कुनै नराम्रो वस्तुको प्रशंसा गर्दा आँखा फुटेको रहेछ भन्थे । तर, आँखाको स्निग्धतालाई उपहास गरेर उडाउने पनि उतिकै सक्रिय भएका पनि त हुन्छन् । यस अवस्थामा हामी पनि त्यही मानसिकतामा हुन्छौँ ।
जीवनको रूपरेखा अनेक प्रकारले कोरिन्छ । एउटा अचम्म यो चराचर जगत्मा सबैको आफ्नो नियम छ र नियम बदल्न हम्मेसी सक्दैनन् । तर मान्छे त वाफ रे वाफ ! परिस्थितिअनुसार जसरी पनि नियम बदल्न र जतिसुकै अप्ठ्यारो पनि तर्न सक्नेरै’छ । बाँच्नु मात्र पर्छ केके भोग्छ, केके देख्छ यो जीवनले भनेर साध्य छैन् । सुखमा पनि जोडदार चैन गर्ने दुःखमा पनि यात्रा नरोकिई अघि बढिरहने मान्छेको जीवनको कुरा क्या खतरा । अनि मानिसको जीवन परिस्थितिअनुसार परिवर्तन हुँदैजाने र समयसँगै बानी पर्दैजाने एउटा अचम्मको प्राणी मानिस । अझ यति मात्र हो र ! समयले मान्छेलाई कस्तो क्षमतावान र निकम्मा बनाए पनि बाँच्ने जिजीविषा बुझीनसक्नु । समयको चित्रमा आफ्नै दम्भ प्रदर्शन गर्नसक्ने जीवनकाया । हृदयको कोलाजमा बज्ने धुनमा न पुनर्गठन हुन्छ न कुनै गुनासो हुन्छ । नत्र त समय गुनासोमा नै बित्ला र पछुताउनुपर्ने अवस्था आउला । यस हृदयको गुनासो र गठबन्धनमा विगत र आगतलाई सम्झेर पनि जीवन जटिलतासँग जुद्धै आएको छ ।
खुसीतिर नलागी मान्छेहरू विध्वंशमा लागेर निर्घात विष सेवन गरिरहेछन् । अझ यस वेला त यो संसारले नै विध्वंशको जर्जर भोग्दैछ । कतै प्रकृति नै प्रलय हुने त होइन भन्ने डर पनि छ । यो युगकै त्रासदीपूर्ण समयमा पनि अरूलाई खुसी बनाउने सबैको सुन्दर भावना किन भएन् हरे  ! जीवनको अर्थ बुझ्ने र बुझाउने आधार थुप्रै भएर पनि मनपरि छ मान्छेको प्रवृत्ति । जीवनको भरोसा टुक्रिएर हृदयविदारक बनेको वेला पनि कहिले जातलाई लिएर, कहिले चेतनालाई लिएर, कहिले समृद्धिलाई लिएर, कहिले अभावलाई लिएर, कहिले प्राप्तिलाई लिएर, कहिले वैचारिक धरातललाई लिएर हामी युद्ध गरिरहेछौँ । प्रकृतिप्रतिकूल भएको छ, आफूआफूमा अलग्गिएर थुनिनुको विध्वंश संसारले नै भोगिरहेछ । यी विध्वंशरत युद्धहरूको समाधन कहिले हुन्छ भन्ने निश्चित त छैन तर हामी लडिरहेछौँ । यो पनि जीवनचक्र नै होला जसलाई दर्शनको एउटा तह भने हुन्छ होला ।
कतिकति राम्रा मान्छे भौतिकरूपमा हुन्नन् तर सम्झनामा कति प्रिय भएर रहेका हुन्छन् । भोलि हामी पनि कसैका प्रिय भएर सम्झनामा हुन्छौँ त होला नि ! जीवन भन्नु बाँचुञ्जेल मात्र भए नि सम्झना युगौँसम्म आउने रै’छ । आफूलाई मनपरेका कति मान्छेहरू मरे अनि उनीहरूलाई प्रिय मानेर कसैको सम्झनामा रहेको छु भन्ने कुरा थाहा हुन्छ कि हुन्न होला !
आफ्ना प्रियजनलाई छाड्नुपर्दाको वेदना समयले बिस्तारै बिर्साउँछ र जीवनको लय अघि बढिरहेको हुन्छ । जीवन बचाइको जिजीविषा हुनेहरूका मनका अनेकौँ चोटका अदृश्य शृङ्खलाहरू हुन्छन् । समयसँग पीडाजन्य घाउलाई सुमसुम्याएर जीवनखोजको सुन्दर अवधारणा अघिसारेर रमाउने प्रयास गरौँ ! यसो गर्न सकिएन भने त अझ अनगिन्ती चोटहरू जीवनमा थपिँदैजान्छन् र आफूसँग रहेका प्रियजनको मनमा चिन्ता थपिँदैजान्छ भन्ने सकेसम्म बुद्धत्व ज्ञान भरौँ । यही आयामका साथ प्रियजनसँग प्रेमिल रङमा बाँच्न पाएसम्म रमाउँदै जीवनलाई उत्सवको उत्कर्ष मानौँ । जीवन मिथ्या होइन हृदयको कोलाजमा बज्ने धुनको हो । यसलाई झन् सुन्दर बनाउने चेष्टा गरेर खुसी बटुलौँ । हरेक सम्बन्धमा सद्भाव बढाऊँ । यो जीवन यही जुनीमा स्वर्णिम होस् भन्ने अर्चना गरौँ । आखिरमा मृत्यु त हुनै छ एक दिन । मृत्यु जति सत्य अरू छैन भन्ने कुरामा निश्चल रहेर फेरि पनि हृदयको कोलाजमा बज्ने मीठो धुन जीवनको लय नबिगारी गुन्जाइरहूँ, बस गुन्जाइरहूँ !


(उप्रेती स्थापित साहित्यकार तथा साहित्यिक पत्रकार हुन् । उनका हालसम्म करिब तीन दर्जन ग्रन्थहरू प्रकाशित छन् ।)
[email protected]