• २०८१ मंसिर २९ शनिवार

मनको मेटामोरफसिस

राधिका कल्पित

राधिका कल्पित

निद्राबाट ब्यूँझिदा
आफूभन्दा अलि बढी अर्को भएर ब्यूँझेछु
र सायद महसुस गर्ने यो मन पनि थिएन आफ्नै
आँखा नखोलीकनै महसुस गर्छु
सुकोमल अनुभूतिहरू
मानौँ इन्द्रलोकमा उर्वशी
फूलैफूलको बिछ्यौनामा
भर्खर ब्यूँझिएकी छन्
आफ्नोभन्दा पराई बढी लाग्ने यो मन
भागिदिन्छ कतिखेर फुत्त निस्केर आफैँबाट
धागो चुँढिएको चङ्गाको पछिपछि
कुदिरहेका बालकका पैतालाजस्तै ।

जब चपल यो मनलाई पछ्याउँदै निस्कन्छु
प्रभाति सूर्यलाई आलिङ्गन गर्न
अहो ! कस्तो स्वर्गीय स्पर्श
कस्तो सुगन्धित पवन
मानौँ फूलहरू नुहाएर भर्खरै यही बाटो हुँदै
फर्केका हुन्
जब स्नान गर्न थापिन्छु जलधारामा
यस्तो लाग्छ
यी पानीका बुँदहरू नभई
कुनै जादुगर्नीले खन्याइरहिछन्
अमृत घडाबाट सञ्जीवनी रस
अनि कुनै दैविक वरदानले
मुक्त भइरहेछु कुनै पूर्वजन्मको श्रापबाट ।

सपना र विपनाको यो दोसाँधमा
बजिइरहने यो दुर्बोध यो ध्वनिले
तानिरहेछ एउटा अद्भुत अदृश्य रहस्यतिर
बासुदेवको बाँसुरीको मनमोहक सङ्गीतले लठ्ठिएर
कुदिरहेका गोपिनीहरूजस्तै
कुदिरहेछु यो राग पछ्याउँदै
जसरी कुदेथे ह्यामेलिन सहरका कलिला नानीहरू
कुन्नि कस्तो रहस्यमय आकर्षणले तानिएर
एउटा जादुमयी धुनका पछिपछि
आमाका न्याना काखहरू छोडी
अनिश्चितताको चिसा गुफाहरूतिर ।


(कल्पित विगत तीन दशकदेखि सिर्जनाक्षेत्रमा सक्रिय छिन् ।)
[email protected]