केही लेख्न खोज्छु म
शब्द जुर्दैन
शब्द भेट्छु
अर्थ बुझ्दिनँ
कहिले परिवेशमा हुन्छु
सन्दर्भ आउँदैन
धेरैजसो मन र कलमको
तारतम्य मिल्दैन
कहिले लाग्यो
फागुको कविता लेखूँ
सातै रङलाई कागजमा पोखूँ
सम्झेँ
बन्द बाकसकाश्रीमानहरू
र पखालिएका सिउँदोहरू
कलम त्यही रोकियो
आँसु रोक्न सकिनँ
मैले केही लेख्नै सकिनँ
तीज पनि आयो
रङ्गीन तीजमा केही लेखूँ लाग्यो
माइती र चेलीका भाका पोखूँझैँ लाग्यो
कलम नसमाउँदै
फुल्न नपाई कुल्चिएका
निर्दोष निर्मलाहरूको आवाज सुनेँ
आफ्नै बाबुले बेचेका
शर्मिलाहरूको धिक्कार सुनेँ
अरू पनि चित्कार सुन्न सकिनँ
मैले केही लेख्नै सकिनँ
दसैँं आयो
त्यो पनि नलेखेरै गयो
परदेशी छोरालाई पर्खने आमाहरू सम्झेँ
चाँडै फर्कन्छु भन्दै आश्वासन दिने
विवश छोराहरू सम्झेँ
बर्सेनि फर्कन्छु भन्दै कसम खाने
अभावमा विदेशिएका
लाचार श्रीमानहरू सम्झेँ
सम्झँदासम्झँदै भक्कानो थाम्न सकिनँ
मैले केही लेख्नै सकिनँ
लक्ष्मीपूजा आयो
सोचेँ केही लेखूँ
महाङ्कालका भर्याङ्गमा भेटेको गरिबीले
पटकपटक झस्क्यायो
दुधेबालक भुइँमा राखी
काखमा तेर्सिएको कट्यौराले जिस्क्यायो
शब्दहरू सबै शून्य भए
अर्थहरू सबै तुहिएर गए
विवशतालाई केही भन्न सकिनँ
मैले केही लेख्नै सकिनँ
तिहारको के कुरा गरौँ
आँगनको सयपत्रीले गुनासो गर्यो
नओइलाउने मखमलीले दुखेसो पोख्यो
कलम यहीँ थाती राखेँ
शब्द यहीँ साँचिराखेँ
सयपत्री टिप्न सकिनँ
मैले केही लेख्नै सकिनँ
सरस्वतीपूजा आयो
सरस्वती देखेँ भनीलेख्छु भनेँ
काँधमा झोला राखी तुइन चढेर
स्कुल जाने बच्चा देखेँ
घर फर्कंदा थाकेका हात
झिनो डोरीको तालमेल के होला ?
मन दुखेको सुन्न सकिनँ
मैले केही लेख्नै सकिनँ
(विन्टरभिल, नर्थ क्यारोलिना,अमेरिका)
[email protected]