कोरोना कति गर्दछ्स् भुवनमा यो मृत्युको ताण्डव
हाहाकार भयो समस्त जनमा छाडेर जा है अब
तेरा कारणले अचानक कठै ! संसार विक्षिप्त छ
सारा जीवन व्याधिका कहरले सङ्कष्टले त्रस्त छ ।।१।।
मान्छेको घरभित्र बास तँ भने निर्धक्क डुल्छ्स् किन ?
धर्तीमा हतियार घातक भइस् लागिस् नि ज्यानै लिन
हाम्रो हालत जीर्ण शुष्क बनिगो पीडा असाध्यै भयो
बाँच्ने यो अधिकारको हननको कस्तो कडा स्वार्थ हो ।।२।।
पारिस् ठप्प विकासका जगतका उद्योगधन्दाहरू
खप्नै कष्ट भयो वृथा कहर यो चाहिन्न पीडा अरू
हाम्रा रोदनमा तथा विरहमा रम्दै तँ हाँस्छस् कति
तेरो ताण्डवले समाज डरले भोग्दै छ यो दुर्गति ।।३।।
मर्दा लाससँगै मलाम दिइनस् बाँच्दा भयौँ एकल
साह्रै तुच्छ चरित्रले मनुज यी बन्दै गए दुर्बल
साना बालक वृद्धमा युवकमा धेरै भयो यातना
जा जा जा अब जा भुलेर सब जा सम्पूर्णको कामना ।।४।।
होलान् मानवका कतै प्रकृतिमा गल्ती अनेकौं यहाँ
मान्छे नै नरहे सकिन्छ भवको अस्तित्व ब्रह्माण्डमा
बिन्ती मान् चुपचाप जा सलल जा बग्दै कतै दूर जा
पूजा गर्नु छ सृष्टिको सकलले फर्केर कैले न आ ।।५।।
(पौडेल विगत एक दशकभन्दा अघिदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]