समाचार

यदि भेट भैहालेमा हाम्रो केके पो हुनसक्ला ?
म तिमीलाई एकहोरो हेरिरहन सक्छु
तिमी मलाई एकफेर पनि नहेरि दिन सक्छौ
म खुसि लुकाएर आँसु झार्न सक्छु
तिमी हासो लुकाएर भावुक बनिदिन सक्छौ ।
तिमी आफ्नो नजर यताउती बङ्गाउन सक्छौ
म तिमीले बङ्गाएको नजर तिरै आफूलाई सोझ्झाउन सक्छु
नजर एकआपसमा ठोक्किदा,
हाम्रा पाइतालाहरु रोकिएलान कि नरोकिएलान ?
तिमी मलाई सम्झिए जस्तै गरि बिर्सिदिन सक्छौ
म तिमीलाई बिर्सिए जस्तै गरि सम्झिदिन सक्छु
एकअर्कासँग अन्जान बनिरहँदा,
हामीले फेरिरहेको सासले हामीलाई सम्झिएला कि बिर्सिएला ?
म कुन सम्बोधनले बोलाउँला तिमिलाई ?
तिमी के साइनो लगाएर सोध्लिउ मेरो हालखबर?
हाम्रा आवाजहरु गलामै अड्किएको बेला,
धड्कनहरुले एकअर्कासँग
साउती मात्रै मार्लान कि जोडजोडले कराउलान पनि ?
म कति चोटि आउँदै नआएको खोकी ख्वाङ ख्वाङ गर्दै खोकुला
तिमी कति चोटि नजिकैको मेडिकल या कफ्सी, डिरडि, कोल्ड सम्झिएयौली ?
तिमी तिम्रो ओठ चुमिरहेको कपाललाई कति चोटि झर्को मान्दै पन्छाउलिउ ?
म कति चोटि जोडजोडले आफ्नो सास तन्काएर जागँरको साथ फु फु गरुला ?
म सोचिरहेछु !
अचानक अचम्मैसँग हामी भेटिएमा
के के पो गरौंला ?
तिमी मेरो ओठमा आफ्नो गाजलको रङ खोजिरहँदा,
म तिम्रो परेलामा मेरो चुम्बनको डोब खोजीरहन सक्छु
म तिम्रो रेशमी कपालमा मेरो छुट्टि गएका औंलाको स्पर्शहरु खोजिरहँदा,
मेरो औंलाको कापहरुमा, अड्किगएका आफ्ना कपालको रौंहरु खोज्न सक्छौ
भेट हुनु अगाडिको कुरा भेटेर सुनाउँदा, भेट पछि पनि याद रहन्छ,भन्छन्
तिम्रो यादको नक्शा दिलको गोजिमा राखेर कहाँ कहाँ भौतारिए,ँ
म बताउँला कि नबताउँला तिमीलाई
अतितको गोठालो बनेर
सम्झनाको उराठलाग्दा फाँटहरुमा
तिम्रा यादहरु चराउँदै हिँडेको कुरा,
म भनुला की नभुनुला तिम्लाई ?
हामीले कुनै समय थकाइ मारेको चौतारो,
मेरो यात्राको लठ्ठी बनेको छ,
म भन्न सकुला कि नसुकला तिम्लाई ?
आँसुको नदी सुकाएर मुस्कानको बगरमा पल्टिँदै,
हामी केके गफ गरौंला ?
देख्न बाँकी कुनकुन दृश्य देखौँला ?
सुन्न बाँकी कुनकुन आवाज सुनौला ?
बाँच्न बाँकी कुनकुन सपना बाचौला ?
म सोचिरहेछु
यदि भेट भैहालेमा हामी, दुई किनारको
केके पो गरौंला ?
राजु झल्लुप्रसाद, धादिङ