English Poem
काठमाडौँ ।
पत्रकार तथा साहित्यकार श्याम रिमालको कवितासङ्ग्रह ‘चमेरो ः कोरोना कविता’ शुक्रबार सार्वजनिक भएको छ । तिन वर्षअघि कोरोना महामारीका समयलाई समेटेर उहाँले दस्तावेजका रूपमा कविता सङ्ग्रह प्रकाशन गर्नुभएको हो । सङ्ग्रहमा कोरानो भाइरस महामारीसँग सम्बन्धित २९ कविता सङ्गृहीत छन् । यसअघि रिमालका ‘एउटा काँढा बिझ्दा’ (गीतसङ्ग्रह) तथा ‘त्रिशूलीको किनाराबाट’, ‘बारपाक’(कम्प काव्य) र ‘नदी बग्दैन’ कवितासङ्ग्रह प्रकाशित छन् ।
क्रान्तिकारी राजनीतिज्ञ तथा साहित्यकार गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्तीका अवसरमा उहाँको विमोचित कवितासङ्ग्रहमाथि समीक्षा गर्दै कवि तथा समालोचक दीपेन्द्र अधिकारीले रिमालका कविता कुनै छन्द, विम्ब र प्रतीकमा नबाँधिएर सामान्य जनजीवनमा आउने भावनाको सरल सिर्जना भएको तथा पढ्दा र बुझ्दा रमाइला लाग्ने बताउनुभयो ।
‘शृङ्खला’ साप्ताहिक मासिक पत्रिकाले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो चरणमा इलामे जेठो, कृष्णमोहन जोशी, कृष्ण बाउसे, दिव्य गिरी, धर्तीचन्द्र यात्री, तीर्थ भट्टराई, राममणि सिटौला, अमर आकाश, प्रमोद स्नेही, गोपालकुमार मैनाली, लालबहादुर भुजेल, जगत् वाशिष्ठ, टेकेन्द्र थापालगायतले आआफ्ना कविता र कवि तथा पत्रकार श्यामराज पाठकले विमोचित कृतिका दुई कविता (‘चमेरो’ र ‘सभ्यताको मृत्यु’) वाचन गर्नुभयो ।
‘शृङ्खला’ साप्ताहिक मासिक पत्रिकाका प्रकाशक एवं संस्थापक सम्पादक प्रवीण जोशी, पत्रिकाका सहयोगी सम्पादक शिव श्रेष्ठ, रिमाल समाजका महासचिव रवि रिमाल र काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपका पुस्तकालय व्यवस्थापक लीलाप्रसाद भट्टराईले राजनीतिज्ञ एवं साहित्यकार रिमालको क्रान्तिकारी व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
